संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
मुक्ति गौतम
म आँप हुँ।
मलाई कसैले चुस्यो। गुलियो खायो। कोयो मिल्काई दियो। माटोमा उम्रिएको थिएँ। माटैमा पुरिएँ।
'आस्था' अजम्बरी थियो 'अहम' पनि मरेन। अहम नमरी आस्था टुसाउँदैन। माटामा पुरिएपछि अहम बिलायो अनि आस्था नयाँ कलेवर लिएर फेरि टुसायो। अन्तश्चेतनामा सुप्त बीज बनेर बसेको चेतना तीन दिनपछि बौरी उठ्यो।
म कलिलो आकार बनेर हुर्किंदै थिएँ, एकदिन अचानक ठूलो भेल आएर फेरि मलाई माटैमा पुरी दियो। भेलसँग लाप्पा खेल्दै फेरि टाउको उठाएँ। कमलो ज्यान लिएर फेरि हुर्किन थालें, बढदै गएँ। फेरि अर्कोदिन एकहुल बाख्रा आएर मेरो मुन्टै खाईदिए। तर मैले हिम्मत पनि हारिन, हरेस पनि खाईंन।
फेरि पलाएँ, छिप्पिंदै गएँ। घामको ताप, झरीको चाप र हावाको मार खप्दै निकै अग्लिएँ। म जति-जति आकाश छुन चाहन्थें, उति-उति पत्तालतिर जरा पनि गाडदै जान्थें।
यसरी स-साना हाँगा फिंजाउँदै म बर्षीको भएँ। दिन, हप्ता, महिना गन्दै म सातवर्षको पुगें। यी सातवर्षका वसन्त ऋतहरूले मेरा गुण, अंग र इन्द्रीयहरूमा निखार भरिदिए। प्रजनन अंगहरू सक्रिय बनाईदिए।
अहिले म शारीरिक र मानसिक दुबै अवस्थामा सबल र परिपक्व बनेको छु। मान्छेहरू, पशुहरू आएर शीतल ताप्न थाले, चराचुरुङ्गीहरू मेरा शीतल डालीमा बसेर चिरिबिरि-चिरिबिरि गर्दै लुकामारी खेल्न थाले। स-साना गुँड बनाएर घरजम गर्न थाले। म रमाउन सम्म रमाएँ। म कति रमाएँ ? कुनै सीमा थिएन। भावविभोर भएर सिर्जनाका गीतहरू गाउन थालें।
यसरी सिर्जनाका गीत गाउँदा-गाउँदै, परमान्दको अनुभूति गर्दा-गर्दै चालै नपाइ फूल्न थालेंछु। म ढकमक्क फूलेको देखेर होला लोभी भँवराहरू, उदार मौरीहरू, मायालु कठेउरीहरू घुनुनु-घुनुनुको सारंगी बजाउँदै मेरा फूलहरूलाई चुम्मा खान थाले। मस्ती-मस्तीमा मडारिन थाले। फूलको अमृतरस चुस्न थाले।
एकदिन एकहुल महिला र दुईजना लाठे आए। देउकार्य र पितृकार्यमा पत्ता चढाउने, समिधा बनाउने भन्दै महिलाहरू पत्ता टिप्न थाले, लाठेहरू हाँगा छास्न थाले। यसरी आफ्नो अंग काट्न थालेपछि त खप्नै नसक्ने गरि दुख्न थाल्यो। भत्भति पोल्न पनि थाल्यो। धर्मको नाममा मान्छेले यस्तो जघन्य अपराध गर्ला भन्ने ठानेकै थिएन।
संसारको सबैभन्दा ज्ञानी हुँ भन्ने मान्छेको यस्तो अप्राकृतिक हरकत देखेर मन मरेर आयो। मान्छे प्रतिको मोहभंग भयो। के गर्नु विवश थिएँ। प्रतिकार गर्ने सामर्थ्य थिएन। तर एउटा मनमा दुख लागेपनि अर्को मनले सोचें--'यो मेरो भक्तिको अन्त:हीन यात्रा थियोे। अमरावतीको अमृतकलस पाउने उग्र तपस्या थियो। शायद विधिद्वारा निर्धारित मेरो परीक्षा थियो।
यदि मेरो लोककल्याणकारी भक्तियात्रा साकार हुन्छ भने अन्तर-कुन्तरमा रहेका मेरा अहंकारका अवशेषहरू यज्ञकुण्डमा समिधा बनेर आहुति हुनेछन्। पत्ताहरू भक्तिको भावसुगन्ध बोकेर देवचरणमा अर्पित हुनेछन्। स्रस्टाको अमर सिंहासनमा स्वर्णकलस बनेर सजिने छन्। योभन्दा ठूलो सौभाग्य मेरा लेखा अरु के हुन सक्ला ? यसैले हाँसी-हाँसी खुकुरीको धारिलो प्रहार सहन गरें।
यसैगरी कहिलेकाहीं हावाहुरी आएर भररर फूलेका यी फूलहरू भुइँमा झारी दिन थाल्यो। सारै डराएँ। नारान ! कतै गुलियो आँप बनेर पाक्ने र अरुहरूलाई खुवाउने मेरो इच्छा पो माटामा मिल्ला कि ? आशंकाले पिरोलिन थालें। तर हावाहुरी थामियो, फूलहरू धेरै नष्ट भएनन्।
समय आफ्नै गतिमा बगिरहेको थियो। हेर्दा-हेर्दै ती फूलहरू मस्किन थाले। फूलका ठाउँमा आँपहरू देखिन थाले, चिचिला आकार लिएका आँप बढन थाले। दिन हप्ता बित्दै गयो। समयका रंगसँगै हाँगाभरि झुन्डिएका चिचिला आँपहरू कट्मिरिन थाले, अमिलिन थाले। यसरी उमेर सँगसँगै स्वादका भाकाहरू फेरिन थाले।
अब बिस्तारै-बिस्तारै माथि आकाशबाट घामले आफ्ना सुनौला रंगहरु पठाउन थाले। यसरी नै घाम अस्ताएपछि जूनले पनि राति-राति जूनेलिमा सुटुक्क-सुटुक्क सोमरस भरीदिन थाले। म पहेंलपुर भएँ- घाम जस्तै। म रसभरी भएँ- जून जस्तै। सन्यासीको गैरिक परिधान जस्तो पीताम्बरी रंगमा रंगिएँ। महका चाकाभन्दा गुलियो र समुद्र-मन्थनबाट निकालिएको अमृतभन्दा स्वादिलो भएर पाकें। यसरी शुन्यताबाट पूर्णतासम्मको मेरो भक्तियात्राको पूर्णाहुति भयो।
कोयाभित्र सुरक्षित बसेको सुप्त चेतनाबाट प्रारम्भ भएको मेरो जीवन यात्रा अनगिन्ती पाकेका आँपमा रुपान्तरण भएर जीवन्त भयो। मेरो मोक्ष भयो, जगतको हित भयो। अब यी तैयारी आँपहरू चराचर जगतलाई पस्किदिने हतारो थियो। म्याद पुगेर भुईंमा झरेका आँपहरू चौपाया प्राणीहरू आएर खान थाले। चराचुरुङ्गीहरू डालीडालीमा बसेर ठुंग्न थाले।
सुकुम्बासी सरह जीवन बिताएका जंगलका भोका बाँदरहरू रुखमा चडेर धीतमरुञ्जेल उफ्री-उफ्री खान थाले। जीवनभर माटोका मालिक बनेका स्वार्थी मान्छेहरू डोको र थुन्से टम्म भरेर 'मेरो आँप' भन्दै सुकुम्बासी टोलमा लगेर बिक्री गर्न थाले। मान्छेका उरण्ठेउला बच्चाहरू झट्टी हानी-हानी आँप झारेर कोपर्न थाले।
जति-जति मान्छे लगायतका प्राणीहरू आँप खाँदै जान्थे, उति-उति मलाई आफ्नो जीवन धन्य भएको अनुभूति हुन्थ्यो। आफैंमा आत्मसन्तुष्टि पाउँथे। जीवन सफल भएको ठान्थें।
सृष्टिको संकल्प 'एकोहम बहुश्याम....' को अर्थ पाउँथे। एक थिएँ, धेरै भएँ। अब यी अनगिन्ती पाकेका आम्ररस चुसिने छन्। कोयाहरू फेरि माटामा फ्याँकिने छन्। जताततै उम्रने छन्। फेरि फूल्नेछन्, फल्ने छन्। धरणी टम्म भरेर पाक्ने छन्। यसरी हाम्रो अन्त:हीन यात्रा युगयुगसम्म चली रहनेछ।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया