राष्ट्रपतिका लागि भएको चलखेल नेताहरुले बुझ्नुपर्छ: एमाले उपाध्यक्ष शाक्य (अन्तर्वार्ता)

यही फागुन २८ गते राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिँदैछ। भण्डारीको कार्यालय सकिनु चार दिनअघि फागुन २५ गते नयाँ राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ।

राष्ट्रपति निर्वाचनका लागि आजको ४ दिनपछि उम्मेदवार मनोनयन दर्ता हुँदैछ। तर दलहरुले कसलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भन्ने विषय टुंगो लगाउन सकेका छैनन्। सत्तारुढ दलहरुबीचमा राष्ट्रपतिका विषयमा तीव्र विवाद छ। सत्तारुढ दल एमालेले सरकार गठनका समयमा भएको सहमतिअनुसार आफ्नै दलले राष्ट्रपति पाउने दाबी गरिहेको छ।

तर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमति भन्दै एमालेबाट उठाइने राष्ट्रपतिलाई स्विकार्न तयार देखिएका छैनन्। जसकाे स्वरुप काँग्रेसले राष्ट्रपतिमा दाबी गर्दै आएको मात्र छैन, सत्ता समीकरण फेरबदलको कसरत गरेको छ।

राष्ट्रपतिको उम्मेदवारी मनोनय दर्ताको समयमा ४ दिन मात्रै बाँकी हुँदा सत्तारुढ दलहरुले किन राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन सकेका छैनन्? एमाले राष्ट्रिय सहमति हुने गरी राष्ट्रपतिको उम्मेदवार बनाउन तयार भएको हो? लगायत विषयमा बिएल नेपाली सेवाका लागि टोपेन्द्र रोका मगरले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसँग कुराकानी गरेका छन्।

प्रस्तुत छ, नेकपा एमाले उपाध्यक्ष शाक्यसँग गरिएको कुराकानीको सम्पादीत अंशः

राष्ट्रपतिका विषयमा राष्ट्रिय सहमति खोज्न एमाले तयार भइसकेको हो?

एमालेले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने भन्ने पक्षमा छैन।

तपाईंकै पार्टीका अध्यक्षले अन्य पार्टीका नेतालाई राष्ट्रपति बन्न अफर गरिसक्नु भएको छ। त्यो के हो? पार्टीमा छलफल भएको छैन?

पार्टीमा छलफल भएको छैन। तर अन्य नेताहरुलाई राष्ट्रपति बन्नका लागि अफर गरेको सुन्नमा छ। अहिले माधवकुमार नेपालाई पनि राष्ट्रपति बन्नका लागि आग्रह गरियो भन्ने बाहिर हल्ला छ। तर मलाई लागेको सरकार गठनका समयमा भएको सहमति तोडिनु हुन्न भन्ने हो।

एक पटक सहमति भएको छ। यसमा नै अब टेक्ने आधार बनिसकेको छ। नयाँ समीकरण बनेको छ। जे भएपनि अब जनतामा नयाँ उत्साह थपिएको छ। यसमै टेकेर राष्ट्रपति उम्मेदवार बनाउनुपर्छ। राष्ट्रको गरिमा बढाउने, राष्ट्रपतिलाई संरक्षकत्वको रुपबाट लिने, संविधानलाई कार्यान्वयन गराउने, गणतन्त्रको राष्ट्रपति सबै दललाई समयोजन गर्ने त्यो खालको राष्ट्रपति बनाउनुपर्छ।

राष्ट्रपतिका विषयमा विवाद किन ?

राष्ट्रपति महत्वपूर्ण विषय हो। यस समयमा अनेकौँ चलखेल भएका कारण यस्तो भएको हो भन्ने मलाई लाग्छ। बाहिरबाट, भित्रबाट अनेकौँ चलखेल भइरहेको थाहा नै छ। यही समयमा काँग्रेसले राष्ट्रपति हाम्रो भागमा भन्न थालेको छ। र, काँग्रेसले हाम्रो भागमा राष्ट्रपति भन्न थाल्यो भने थप बिग्रन्छ।

बाहिरबाट चलखेल भइरहेको समयमा भित्रबाट पनि चलखेल भयो भने यसले राम्रो सन्देश दिँदैन। राष्ट्रपतिमा जो कोही व्यक्ति होस् तर राम्रो व्यक्ति होस्। क्षमता भएको व्यक्ति हुनपर्छ। एमालेबाट सिफारिस भएको व्यक्ति राष्ट्रपति हुनुपर्छ र सहज वातावरण हुन्छ।

आज राष्ट्रपति मात्र चुन्ने काम जस्तो देखिएको छ। तर यो मात्र काम होइन नि! यसपछि गर्नुपर्ने धेरै काम छ। त्यसमा पनि नयाँ ढंगबाट गर्नुपर्ने छ, मिल्नु नै पर्ने छ।

एमालेले सिफारिस गरेको व्यक्ति राष्ट्रपति हुनुपर्छ भन्नु त भयो तर माओवादी केन्द्रले मानिरहेको छैन। कसरी अगाडि बढुनुहुन्छ?

माओवादी केन्द्रले अहिले जे गरिरहनुभएको छ, राम्रो गरिरहनुभएको छैन। म उहाँहरुलाई यस्तो नगर्नुहोस् भन्छु। निर्वाचनलगत्तै प्रचण्ड (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’) कमरेड अप्ठ्यारो परेको समयमा दुबै टाढा–टाढा हुनुभएका प्रचण्ड र ओली (एमाले अध्यक्ष केपी शर्मा ओली) मिलेर एक सहमति गरेर गठन गरिएको सरकार छ।

त्यसबेलाको सहमतिले आज राम्रै भएको छ। यदि त्यस समयमा सहमति नभएको भए अन्योल हुन्थ्यो। विवाद हुन्थ्यो। देश अप्ठ्यारोतिर जान्थ्यो। सरकार गठनका समयमा नयाँ समीकरण बन्यो। विश्वास बढ्यो र आजसम्म अगाडि बढिरहेको छ। राम्रै भइरहेको छ। अब यसलाई भत्काउने गरी कसैले पनि चलखेल गर्नु राम्रो हुँदैन।

तपाईं पार्टीको उपाध्यक्ष हुनुहुन्छ। माओवादीले एमालेले उठाएको राष्ट्रपतिलाई नमान्ने अडान लिइरहेको छ र राष्ट्रिय सहमति भनिरहेको छ। अब एमालेले के गर्छ?

अहिले पार्टीमा छलफल भइरहेको छैन। हामी सबै अहिले बाहिर–बाहिर रहेका छौँ। अब के गर्ने भन्ने विषयमा अध्यक्ष कमरेडले बोलाउनु होला। समझदारी गरेर एमाले अगाडि बढ्छ। एमाले अलि बढी जिम्मेवार रहेकाले पनि यसमा अलि विचार गरेर एमाले अगाडि बढ्नुपर्छ।

राष्ट्रपतिका विषयमा तपाईंको सुझाव के छ?

कम्तिमा पनि राष्ट्रपतिको गरिमामा आँच नआउने गरी गरिमालाई बचाइराख्ने, सबै दलहरुलाई समेट्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ। आन्दोलनमा यी सबै दलहरुले सहकार्य गरेका हुन् तर राष्ट्रपतिका विषयमा मिल्न नसक्नु भनेको त यो जस्तो नराम्रो अरु के हो र?

अहिले जे भइरहेको छ राम्रो भइरहेको छैन। त्यसकारणले नेकपा एमालेले एउटा संस्थाको हिसावले कुनै व्यक्तिलाई अगाडि सारिसकेपछि प्रधानमन्त्रीले पनि मान्नुपर्छ। किनभने उहाँलाई प्रधानमन्त्रीमा एमालेले ल तपाइले सरकारे नेतृत्व गर्नुस् भनेर अगाडि सारेकै छ हो नि। त्यसकारणले अहिलेको समीकरणलाई थप बलियो बनाउनका लागि प्रधानमन्त्रीले भूमिका खेल्नुपर्छ।

अहिले बाहिरबाट चलखेल भइरहेको छ। यसका विषयमा पनि नेताहरुले बुझ्नुपर्यो। अनेकौँ व्यक्तिहरु बाहिरबाट आइरहेका छन्। नेताहरुलाई भेटिरहेका छन्। साना–साना कुरामा विवाद लिइरहनु हुँदैन।

एमालेबाट राष्ट्रपतिमा तपाइलगायतको नाम चर्चामा छ। राष्ट्रपतिको उम्मेदवार बन्न तयार हुनुहुन्छ?

म राष्ट्रपतिमा को हुने? भन्ने विषयमा म व्यक्ति–व्यक्तिमा जान चाहादैन। यस विषयमा पार्टीले एउटा निर्णय गर्छ। निष्कर्षमा पुगिन्छ। म हुनै पर्छ, ऊ हुनुपर्छ भन्ने पक्षमा छैन। पार्टीको प्रक्रिया हुन्छ। त्यसअनुसार राम्रो व्यक्ति राष्ट्रपति बन्नुपर्छ।

प्रकाशित मिति: : 2023-02-22 14:55:00

प्रतिकृया दिनुहोस्