सगरमाथाकाे रुट निर्माणकाे लागि आइस्फल डाक्टरको टोली आधार शिविर प्रस्थान

सगरमाथा आरोहणको रुट निर्माणको लागि आइस्फल डाक्टरको टोली आधार शिविरतर्फ प्रस्थान गरेको छ। खुम्बु आइस्फल रुट निर्माणको लागि टाेली शिविरतर्फ प्रस्थान गरेकाे सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसि) नाम्चेले जानकारी दिएकाे छ।

वसन्त ऋतु अर्थात् सगरमाथा आरोहणको मौसम नजिकिँदै गर्दा आइस्फल डाक्टरहरूको टोली नाम्चे बजारबाट एभरेष्ट आधार शिविरतर्फ प्रस्थान गरेको हो।

टोलीले सन २०२३ को वसन्त आरोहण सिजनमा सगरमाथा, ल्होत्से र माउन्ट नुप्तसे आरोहण गर्ने आरोहीहरूका लागि खुम्बु आइस्फल रुट तय गरी मर्मत/सम्भारसमेत गर्नेछ।

‘रुट निर्माण गर्नुअघि हाम्रा आइस्फल डाक्टरहरूले मार्च २ देखि मार्च ६ सम्म एभरेष्ट बेस क्याम्पमा खुम्बु क्लाइम्बिङ सेन्टरका प्रशिक्षकहरूबाट स्थलगत प्रशिक्षणमा भाग लिनेछन्,’ एसपिसिका एक अधिकारीले भने।

टोलीमा छिरिङ तेन्जिङ शेर्पा (आधार शिविरका प्रबन्धक), आठ आइस्फल डाक्टरहरूमा आङ सार्की शेर्पा, छेवाङ नुरु शेर्पा, दावा जाङ्बु शेर्पा, दावा नुरु शेर्पा, मिङ्मा तेम्बा शेर्पा, पेम्बा छिरिङ शेर्पा, सोनम छिरिङ शेर्पा, तेन्जेर्पा रहेका छन्।

त्यस्तै टोलीमा दुई भान्सा कर्मचारी (नवाङ थातेन शेर्पा र वाङ्दी गेल्बु शेर्पा) र एक फोहोर व्यवस्थापन कर्मचारी (सञ्जीव तामाङ) पनि सहभागी छन्।

आइस्फल डाक्टरको टोलीले वेसक्याम्पबाट क्याम्प– २ सम्म रूट तय गर्ने, निर्माण गर्ने र मर्मत सम्भार गरी रुट खुलाउनेछ। क्याम्प– २ बाट सगरमाथासम्मको रुट भने नेपाली पर्वतीय गाइडहरूले खुलाउने गर्छन्। टोलीले सगरमाथा आरोहणको रूट खुलाउनेदेखि डोरी टाँग्ने (रोप फिक्सिङ) कार्य गर्नेछ।

विश्वको ८ हजार माथिका १४ वटा हिमालमध्ये ८ वटा हिमाल नेपालमा पर्छ, जसमध्ये विश्वको सर्वोच्च शिखर सगरमाथा हिमाल (८८४८.८६) मिटर पर्दछ। विश्वभरबाट वर्षेनी सयौं आरोहीहरु नेपाल आउँछन्। हिमाल आरोहणबाट नेपाल सरकारले वर्षेनी करोडौं विदेशी मुद्रा आम्दानी गर्छ।

सन १९५३ मे २९ मा न्युजिल्याण्डका सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रथम सफल आरोहण गरेका थिए।

त्यसयता अहिलेसम्म हिमालयन डाटाबेसकाअनुसार नेपाल र तिब्बत पक्षबाट सगरमाथाको आरोहण १० हजार ६५७ पटक भइसकेको छन भने ३११ जनाले ज्यान गुमाएका छन्।

सगरमाथा प्रदूषण नियन्त्रण समिति

सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसि) सन् १९९१ मा खुम्बुका स्थानीय शेर्पा जनताले स्थापना गरेको समुदायमा आधारित गैरसरकारी संस्था हो। यो सगरमाथा राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्र बन्ने खुम्बु क्षेत्रमा फोहोर व्यवस्थापन गर्न काम गर्ने प्रमुख संस्था हो।

एसपिसिसिले उचित फोहोर व्यवस्थापन पूर्वाधारको विकास, र फोहोर छुट्याउने प्रणालीको स्थापना, सामुदायिक सहभागिता सुदृढ गर्ने, सार्वजनिक शिक्षाको प्रसारजस्ता दिगो फोहोर व्यवस्थापन दृष्टिकोणहरू एकीकृत गरी खुम्बुलाई सफा राख्न निरन्तर काम गरिरहेको छ।

सन १९९७ देखि एसपिसिसि र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खुम्बु आइस्फल हुँदै आरोहण मार्ग तय गर्न सम्झौता गरेको छ।

एसपिसिले पर्वतारोहण अनुमतिहरू जाँच गर्ने, अवैध आरोहणको अनुगमन गर्ने र खुम्बु क्षेत्रका हिमाल र सगरमाथालगायतका चुचुराहरूको आधार शिविरहरूमा फोहोर व्यवस्थापन रणनीतिहरू लागू गर्ने काम पनि गर्दछ।

प्रकाशित मिति: : 2023-02-28 20:33:00

प्रतिकृया दिनुहोस्