प्रदेश १ मा ‘सरप्राइज’ रुपमा नामकरण आउँदै

नामकरणको विषयमा आलोचना खेप्दै आएको १ नम्बर प्रदेशले ‘सरप्राइज’ रूपमा नामकरणको प्रक्रिया सुरु गर्ने भएको छ। राजनीति दलको आम सहमतिमा नामकरणको विषय प्रदेशसभामा आजै प्रवेश गराउने तयारी छ।

केही समयदेखिको निरन्तर दलहरुका नेताहरुबीच भएको गोप्य छलफलपछि आज संसदमा नामाकरणको विषय प्रवेश गराउने तयारी गरिएको छ। बिहान १० बजे सर्वदलीय छलफलपछि प्रदेशसभामा प्रक्रियाका लागि नामले प्रवेश पाउने छ।

छलफल र बैठकमा सहभागी नेताहरूले जो-जो छलफल बसेको हो सूचना नचुहाउने सहमति भएकोले विषयलाई गोप्य राखिएको नेकपा (माओवादी)का एक नेताले बताए। पत्रकारले थाहा पाउँछन् भनेर नेताहरूले छलफलसमेत गोप्य राखेका थिए भने थाहा पाएका पत्रकारलाई समेत बाहिर नल्याएर सहजीकरणका लागि अनुरोध गरेका थिए। माओवादीका एक नेताकाअनुसार कुनै नाटकीय परिवर्तन नभए बुधबार राति ८ बजेसम्म भए पनि नाम टुंगिने छ।

नेकपा (माओवादी)ले पहिचानसहितको नाममा जोड दिए पनि यदि अरु नाममा दुई तिहाइ पुग्ने भएमा त्यसैमा सहमति गरेर अघि बढ्ने निर्णय गरेको छ।

मंगलबार माओवादीका प्रदेश अध्यक्ष , केन्द्रीय सदस्य साथै संसदीय दलको नेताको इन्द्रबहादुर आङ्बोको उपस्तिथिमा बैठक बसेर नामकरणमा बाधक नबन्ने नीति पास गरेको छ।

माओवादीले कोसी नाममा समेत सहमति जनाउने रणनीति लिएको छ। एमालेले भने मंगलबार निर्देशानात्मक संसदीय दलको बैठक गरेको थियो। धेरै हल्ला नगरी एमालेले बैठक गरेको हो।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पार्टीका प्रदेश अध्यक्ष, इन्चार्ज र केन्द्रीय अध्यक्षको समन्वय छलफल बढाएका थिए। एमाले स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री कार्कीले यस अघि नै प्रदेशको नाम कोसी हुनुपर्ने लबिङ गर्दै आएका थिए।

नाटकीय परिवर्तन नभए प्रदेशको नाम कोसी हुने सम्भावना बलियो छ। प्रदेश १ मा सबै सांसद आदिवासी जनजाति भएका नेकपा समाजवादी पार्टीले पहिचान सहितको नाम प्रदेशसभामा दर्ता गराउने तयारी गरेको स्राेत बतायो।

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दलहरुबीच नामकरणको विषयमा छलफल भएको स्वीकार गर्दै यदि सभामा नामको प्रस्ताव आएमा आफूहरु सकारात्मक रहेको प्रतिक्रिया दिए।

यसअघिको प्रदेशसभामा पनि नामकरणको विषय पेचिलो बनेपछि थाँती रहेको थियो। चुनावको मुखमा नामकरण टुंग्याउँदा दलहरुले आफ्नो भोटमा असर पर्छ भन्दै त्यसबेला नामकरणको विषयलाई प्रदेशसभामा प्रवेश गराएका थिएनन्। प्रदेशको राजधानी र नामकरण एकैपटक टुंग्याउने तत्कालीन मुख्यमन्त्री शेरधन राईको प्रयास पनि सफल भएको थिएन्। अहिले दलहरु प्रदेशसभाको सुरुमै नाम टुंग्याउँदा सजिलो हुने महसुस गरेपछि यसमा सहमत भएका हुन्।

कसले कसरी नाम प्रदेशसभामा लैजाने भन्ने सहमति लगभग टुंगो लागे पनि सर्वदलीय छलफल पछि मध्यान्ह बस्ने बैठकमा प्रक्रिया पूरा गरेर नाम प्रवेश गराइने बताइएको छ।

प्रकाशित मिति: : 2023-03-01 09:21:00

प्रतिकृया दिनुहोस्