मधेसी एकता समाजको दुबईमा होली धमाका (फोटो फिचर)

होलीको पुर्वसन्ध्यामा मधेसी एकता समाज युएईले दुबईमा हाेली विशेष कार्यक्रम आयोजना गरेको छ।

दुबईको बुर्जमानस्थित 'होटल होलीडे ईन' मा आईतबार सम्पन्न हाेली विशेष कार्यक्रम 'हाेलीधमाका - २०२३' मा सुपरिचित राजनीतिक विश्लेषक सिकेलाल, टिकटक स्टार प्रिती पासवान, कलाकारहरु देवेन्द्र सोनि, शिवानी भगत, देव अहिराराव समेत सहभागी भएका थिए।

युएईमा क्रियाशिल दर्जन बढी संघसंस्थाका प्रतिनिधि तथा कामको शिलशिलामा विभिन्न राज्यमा बसोबास गर्दै आएका नेपालीहरु सहभागी उक्त कार्यक्रम नेपाल र भारतबाट आएका कलाकारहरुले नेपाली, भोजपुरी, मैथिली र हिन्दी भाषाका गितहरु प्रस्तुत गरेर दर्शकलाई नचाएका थिए। कार्यक्रममा टिकटक स्टार प्रिती पासवानले आकर्षक नृत्यहरु प्रस्तुत गरेकी थिईन भने नेपाली बोयज समुहले आकर्षक 'ब्रेक डान्स' प्रस्तुत गरेका थिए।

नेपाल र युएई दुवै देशको राष्ट्रिय गानका साथ आरम्भ भएको कार्यक्रममा राजनीतिक विश्लेषक सिकेलालको प्रमुख आतिथ्य रहेको थियो भने आयोजक मधेसी एकता समाज युएईका संस्थापक सदस्य डाक्टर रविन्द्र यादव, पुर्व अध्यक्ष मुकेश झा, संस्थाकी नेपाल संयोजक डाक्टर बोबी यादवसहित युएईमा क्रियाशिल नेपाली संघसंस्थाका प्रमुखहरुको आतिथ्य रहेको थियो।

कार्यक्रममा बोल्दै राजनीतिक विश्लेषक सिकेलालले प्रवासमा देखिएको नेपालीहरुको एकता र सहकार्यको प्रसंसा गरेका थिए। उनले विदेशी भुमिमा नेपाली चाडबाडहरुको उपलक्ष्यमा कार्यक्रमहरु आयोजना गरिएकोप्रती खुसी व्यक्त गरेका थिए।

कार्यक्रमको अन्त्यमा नेपाल र भारतबाट आएका अतिथि कलाकारहरु , युएईमा क्रियाशिल नेपाली कलाकारहरु र विभिन्न माध्यमबाट संस्थालाई सहयोग गर्ने व्यक्तिहरुलाई सम्मानपत्रबाट सम्मान गरिएको थियो भने संस्थाका अध्यक्ष कृष्ण ठाकुरले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए।

प्रकाशित मिति: : 2023-03-02 11:35:00

प्रतिकृया दिनुहोस्