स्ववियु निर्वाचन: महिला प्राध्यापक राख्नेदेखि अक्स्फोर्डसँग भर्चुअल मिटिङ गर्ने प्रतिवद्धता

स्वतन्त्र विद्यार्थी युनियनको चुनावले गर्दा अहिले देशभरका क्याम्पसहरुमा विद्यार्थीहरुलाई चुनाव लागेको छ।

चुनाव जित्नका लागि विद्यार्थीहरुले विभिन्न संगठनसँग गठबन्धन गर्नेदेखि विभिन्न आकर्षक घोषणापत्र समेत बनाइरहेका छन्।

रोल्पाको सदरमुकाम लिबाङस्थित जलजला बहुमुखी क्याम्पसमा पनि विद्यार्थीहरुले विभिन्न संगठनसँग गठबन्धन गर्दै विद्यार्थीहरुलाई आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन्। विद्यार्थीहरुलाई आकर्षित गर्न उम्मेदवारहरुले आकर्षक घोषणापत्र समेत तयार गरेका छन्।

क्याम्पसको स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल छैठौंको तीन दलीय संयुक्त विद्यार्थी संगठनको दिपक विष्ट नेतृत्वको प्यानलले संकल्पपत्र जारी गर्दै शैक्षिक भ्रष्टाचारको अन्त्य गर्दै देशभित्रका उत्कृष्ट क्याम्पसहरुसँग भगिनी सम्बन्ध स्थापना गर्नेदेखि विश्वका उत्कृष्ट विश्व विद्यालयहरु अक्स्फोर्ड, क्याम्बृज र जवाहारलाल नेहरु विश्वविद्यालयसँग भर्चुअल सम्बाद तथा अन्तर्क्रिया गर्नेसम्मको प्रतिवद्धता जारी गरेका छन्।

यस्तै उनीहरुहरुले क्याम्पसमा हालसम्म महिला प्राध्यापक नभएको भन्दै महिला प्राध्यापक तथा कर्मचारीहरुको नियुक्तिका लागि पहल गर्ने पनि घोषणा पत्रमा उल्लेख गरेका छन्।

स्ववियु निर्वाचनका लागि रोल्पामा काँग्रेस निकट नेपाल विद्यार्थी संघ र एमालेनिकट अनेरास्ववियुबीच तालमेल हुँदा माओवादी र विप्लवनिकटका अखिल क्रान्तिकारी विद्यार्थी संगठनबीच गठबन्धन भएको छ।

लिबाङस्थित जलजला क्याम्पसमा नेविसंघ र माओवादी निकट अखिल क्रान्तिकारीबीच प्रतिस्पर्धा हुँदा नवनेपालमा अनेरास्ववियु र विप्लव निकटको अखिल क्रान्तिकारीबीच चुनावी प्रतिस्पर्धा हुँदैछ।

जलजला क्याम्पसमा नेविसंघका दिपक विष्टको नेतृत्वमा अनेरास्ववियु र अखिल छैटौंका विद्यार्थीहरुको प्यानल बनेको छ भने अखिल क्रान्तिकारीका उमेश पुनको नेतृत्वमा अर्काे अखिल क्रान्तिकारी विद्यार्थी संगठनको प्यानल चुनावी प्रतिस्पर्धामा छन्।

यस्तै नवनेपाल क्याम्पस जुँगारमा अनेरास्ववियुका एकराज डाँगी नेतृवको प्यानल र विप्लवनिकटको अखिल क्रान्तिकारीका खुमराज थापा नेतृत्वको प्यानल चुनावी मैदानमा छन्। दुबै प्यानलले आफूहरुले जित्ने दावी गरिरहँदा परिणाम कसकाे पक्षमा आउँछ त्यो भने चुनावी नतिजा देखाउने छ।

प्रकाशित मिति: : 2023-03-17 14:19:00

प्रतिकृया दिनुहोस्