‘कोशी’ नाममा माओवादीको दोहोरो चरित्र: नामकरणको पक्षमा मतदान, आन्दोलनमा ऐक्यबद्धता

File Photo
File Photo

नेकपा माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पटक-पटक भन्ने गरेका छन्, ‘जनतालाई नै पहिचान नचाहिएर पहिचान पक्षधरलाई चुनावमा भोट दिएनन् भने हामीले किन पहिचानको कुरा उठाउनु?’

उनले यो कुरा प्रदेश नामकरणको दिन प्रदेशसभाको बैठकमा पनि दोहोर्याए। अघिल्लो कार्यकालमा नाम राख्न नसकेको भन्दै प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसदहरुले आलोचना भोग्नु परेको बताउँदै उनले आफ्नो पार्टीको अडान पहिचानको आधारमा नाम राख्नुपर्ने भएपनि अहिलेको ताजा जनादेशको अङ्क गणित त्यसको पक्षमा नभएको बताए।

आङ्बोले मात्र होइन, कोशी प्रदेशसभा सदस्य तथा नेकपा माओवादी केन्द्र प्रदेश सचिव गणेश उप्रेतीले पनि जनताले नै पहिचानको पक्ष छाडेकाले आफूहरु आफ्नो अडान छाडेर कोशी नाम राख्न सहमत भएको बताए थिए।

गत फाल्गुन १७ गते प्रदेशसभाको दुई तिहाइभन्दा बढी मतले प्रदेशको नाम कोशी पारित भयो। कोशीको पक्षमा नेकपा एमालेसहित नेपाली कांग्रेस, नेकपा माओवादी र राप्रपाले मतदान गरे।

कोशी प्रदेश नामकरण भएपछि पहिचान पक्षधरले चर्को आन्दोलन गरिरहेका छन्। सोही क्रममा गत चैत ५ गते प्रदेशको राजधानी विराटनगरमा प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले बृहत् आन्दोलन गर्यो। सोही आन्दोलनमा सहभागी एक जनाको चैत १० गते मृत्यु भयो। त्यसपछि त झन् नामकरण विवाद उग्ररुपमा बढ्दै गएको छ।

पहिचानवादीहरुले दिनहूँ आन्दोलन गर्दै सरकारी कार्यालयमा तोडफोड र तालाबन्दीका काम गरिरहेका छन्। उनीहरुले आन्दोलनलाई उग्र बनाउँदै लगेपछि गत चैत १२ गते नेकपा माओवादीसहित एमाले, कांग्रेस र राप्रपाले कोशी प्रदेशको नामाकरणका विषयलाई लिएर भइरहेका सामाजिक सद्भावमा खलल पुग्ने तथा असंवैधानिक गतिविधि तत्काल बन्द गर्न आग्रह गर्दै विज्ञप्ति जारी गरे।

शान्तिपूर्ण ढङ्गबाट आफ्ना मत र मुद्धालाई स्थापित गर्न संवाद, वार्ता र छलफलका माध्यमबाट समस्याको समाधान गर्न सरकारलगायत सम्बन्धित पक्षलाई उनीहरुको आग्रह थियो।

उक्त विज्ञप्तिमा एमालेका प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपाने, कांग्रेस प्रदेशसभापति उद्धव थापा, माओवादी सचिव गणेश उप्रेती र राप्रपा प्रदेश अध्यक्ष राम थापाले हस्ताक्षर गरेका थिए। सार्वभौम सम्पन्न प्रदेशसभाको भारी बहुमतबाट भएको प्रदेशको नामाकरणको निर्णयलाई शिरोधार्य गर्न प्रदेशवासीमा उनीहरुले अनुरोध गरे।

तर, माओवादीको प्रदेश समितिले शनिबार एक विज्ञप्ति जारी गर्दै कोशी नाम खारेज गरेर बहुपहिचानको आधारमा पुनः नामाकरण गर्नुपर्ने माग गर्दै भइरहेको आन्दोलनप्रति ऐक्यवबद्धता जनाएको छ। माओवादी केन्द्रले नामकरणमा दोहोरो चरित्र देखाउँदै पानीमाथिको ओभानो बन्न खोजेको आरोप पनि उठ्न थालेको छ।

पार्टी अध्यक्ष हर्कबहादुर नेम्वाङ र सचिव गणेश उप्रेतीले विज्ञप्ति जारी गरी नामकरण सच्याउनका लागि भइरहेको पहिचान पक्षधरहरुको शान्तिपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता जनाएको हो।

माओवादीले पहिचान पक्षधरहरुको प्रतिकूल अंकगणित रहेको अवस्थामा प्रदेशसभाबाट पारित गरी प्रदेशको नामाकरण गरिएको सन्दर्भमा प्रदेश पार्टी र संसदीय दलले गम्भीरतापूर्वक छलफल र समीक्षा गरिरहेको बताएको छ।

प्रकाशित मिति: : 2023-04-02 18:35:00

प्रतिकृया दिनुहोस्