अमेरिकाकै सबैभन्दा ठूलो हिन्दूमन्दिरमा संघीय छापा: अब के होला ?

डा. प्रदीप भट्टराई

रोबिन्सभिल, न्युजर्सी

अमेरिकाको न्युजर्सी राज्यको राविन्सभिलस्थित हिन्दू मन्दिरमा अमेरिकाका तीन संघीय संस्थाले छापा मारेका छन्।

अमेरिकामै सबैभन्दा ठूलो हिन्दू मन्दिर बनाउन भनेर निर्माण भैरहेको मन्दिरमा मंगलबार डिपार्मेन्ट अफ होमल्याण्ड एण्ड सेक्युरिटी, डिपार्टमेन्ट अफ ल्याबोर र अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई)को संयुक्त टोलीले छापा मारेको हो। 

मन्दिरमा भारतबाट रिलिजियस भिसा आर- वनमा कामदार ल्याएर प्रतिघण्टा १ डलर २० सेन्टमा काम लगाएको भनेर उजुरी परेपछि छानबिनको क्रममा छापा मारिएको जनाइएको छ।

उजुरीमा मन्दिरमा काम गर्ने तल्लो जातका भएको भन्दै जातीय कोण पनि दिइएको थाहा भएको छ। 

मन्दिर निर्माणमा संलग्न केही कामदारले उजुरी दिएको र आफूले उनीहरूलाई सहयोग गरेको भारतीय मूलकै आप्रवासनसम्वन्धी वकील स्वाती सामन्तले बताइन्। बिएल नेपाली सेवासँग कुराकानी गर्दै उनले भनिन्, 'उनीहरूको कन्तबिजोख देख्न नसकेर मानवीयताका लागि सहयोग गरेकी हुँ। यो त धर्मको नाममा पाप नै हो।'

उनले मन्दिर बनाउने नाममा मानवतस्करी भएको आरोप लागेको  बताउँदै यस बारेमा संघीय निकायहरूले गम्भीर छानबिन गरिरहेको पनि जानकारी दिइन्।

मन्दिरका प्रवक्ता लेनीन जोशीले बिएल नेपाली सेवासँग कुरा गर्दै मन्दिरमा कोही कामदार नभएको बताउँदै सबै हिन्दू स्वयंसेवक भएको बताए। उनीहरूलाई तलव नदिएर पकेट खर्च दिइएको बताउँदै उनले भने, हामी अमेरिकाको कानूनका बारेमा जानकार छौं र हामीले कुनै गलत गरेका छैनौ।"

उनले अहिले छानबिन जारी रहेकाले सबै कुरा बताउन सम्भव नहुने पनि बताए। उनले अहिले निर्माण कार्य रोकिएको र एक किसिमको शंसय पैदा भएपनि सबै कुरा छिट्टै नै सामान्य हुने बताए।

बीएबीएस हिन्दू मन्दिरका नामले परिचित मन्दिर दर्शनका लागि खुल्ला गरिए पनि यसको निर्माण सकिएको छैन। मन्दिर सन् २०१४ देखि बनाउन थालिएको हो। मन्दिर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीनिकट बोचास्वासी अक्षर पुरूषोत्म स्वामिनारायण संस्था (बीएपीएस)ले निर्माण गर्दैगरेको हो। 

संसारभर नै हिन्दू मन्दिर निर्माणमा लागेको यो संस्थाले अमेरिकाका विभन्न सहरमा दर्जनौ मन्दिहरूहरू बनाएर सञ्चालन गरिरहेको छ।

पूर्वी अमेरिकामा न्युयोर्क, न्युजर्सी, पेन्सेल्भेनिया, मेरिल्याण्ड र भर्जिनियाका हिन्दूहरू धार्मिक पर्यटनको केन्द्र मानिएको मन्दिरमा अमेरिकामा रहेका नेपालीहरू पनि ठूलो संख्यामा दर्शनका लागि जाने गरेका छन्।

मन्दिरमा गरिएको यो छापालाई लिएर अमेरिकामा रहेका हिन्दूहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। केहीले हिन्दू मन्दिर बनेको देख्न नचाहने अतिवादी क्रिश्चियनहरूको खेल भएको बताए भने केहीले हिन्दू धर्मका नाममा यस्तै शोषण गर्नेहरूका कारण हिन्दू धर्मप्रतिको आस्था घट्दै गएको बताए।

प्रकाशित मिति: : 2023-04-06 21:11:00

प्रतिकृया दिनुहोस्