‘दि पोयट आइडल’को हलभित्र रन्थनिएको पात्र

मदन नेपाली

काठमाडौं
पाेयट आइडलकाे सेट प्रस्तुती दिँदै कवि। तस्बिर: दि पाेयट आडलकाे पेजबाट।

भनिन्छ, नमरी स्वर्ग देखिँदैन, नचाखी स्वाद पाइँदैन।

सायद, स्वर्ग कस्तो हुन्छ भनेर कुनै चेतनशील मान्छे खोजी गर्दै भोतारिँदैन होला। तर, यो धर्ती भएका र देखिएका सबै कुराहरुको अनुभूति गर्न जो कोही पनि लालायित छन्, जस्तो गुडको चरी आकाश चुम्न चाहन्छ।

मलाई पनि त्यस्तै एउटा नयाँ कुरा जान्ने हुटहुटीले कुतकत्यायो। अनि, सोमबार (चैत २० गते) बिहानै अर्काे नयाँ कुराको अनुभूति गर्न एपी वान टेलिभिजनको कार्यालय गएँ।

कुरा ‘दि पोयटआइडल’को थियो।

कलेजको अन्तिम कक्षा चलिरहेको थियो, खल्तीको मोबाइल भाइब्रेटले भोँ...भोँ...भोँ...गर्‍यो। मोबाइल खल्तीबाट आधा मात्रै निकालेर के चियाएको थिएँ, थाहा भइहाल्यो, साथी आयुष्मा गिरीले फोन गरेकिरहेछिन्।

अनि बल्ला याद आयो एक हप्ताअगाडि बनाएको योजना। त्यसदिन हामी एपी वन टेलिभिजनको कार्यालयमा ‘दि पोयटआइडल’को छायांकनमा सहभागी हुने योजना बनाएका थियौँ।

अनि म हत्तपत्त कक्षाबाट निस्किएर साथीहरुसँग थापाथली पछाडि, बागमती खोलाको किनारमा रहेको एपी वान टेलिभिजनको कार्यालय पुगेँ।

इन्ट्री भयो सुटिङ हलमा।

बन्द हल, काला पर्दाहरु बिस्तारै खुल्दै गए, धुम्म बादलमा छिरेको जस्तो भान भयो, कता कता शून्यतामा हराएको जस्तो। बत्तीहरु बिस्तारै बल्न थाले। एकपछि अर्काे गर्दै बत्तीहरु बल्दै जाँदा देखिँदै थिए विभिन्न आसनमा बसेका मान्छेहरु। उद्घोकषक निकै हतार भएको जस्तो, संकटमा परेको जस्तो यता उता पाइला चाल्दै थिए, सायद कार्यक्रम कसरी सुन्दर तरिकाले चलाउने भनेर सोच्दै थिए होला।

चारैतिर ठडिएका क्यामेराहरु, निर्णायक मण्डलमा बसेका दीग्गज कविहरु, कुशल बाद्यवाधकहरु, व्यग्र प्रतीक्षामा रहेका म जस्तो दर्शकहरुसहितको एउटा सुन्दर दृश्य खुल्यो। मेरो प्रतीक्षाको घडी समाप्त भयो,‘कस्तो हुन्छ होला पोयट आइडलको सुटिङस्थल ?’ लामो समयदेखि मेरो मनमा उब्जिरहेको प्रश्नले जवाफ पायो।

साथी–भाइको गुनगुन। धेरै साथीहरुले मलाई आफूतिर बोलाउँदै इसारा गरिरहेका थिए। म भने शान्त मुद्रामा एक्कोहोरो मञ्चतिर हेरिरहेको थिएँ। अब के हुन्छ होला ? मेरा आँखाहरु व्यग्र प्रतीक्षामा थिए। प्रोडक्सन टिमका सरहरुले मलाई छेउमा गएर बस्न भन्नुभयो। मैले टाउको हल्लाएर हस् भनेँ।

मेरो उत्सुक्ता आजको छायाँकनमा को पाहुना आउँछन् र कसरी सुटिङ सुरु हुन्छ भन्ने कुरामा थियो। एकाएक निर्देशक बोल्न थाले,

– रेडी हो ?

उद्घोषक डिव्य देवको प्रतीक्षाको घडी समाप्त भयो,

– हजुर दाइ, तयार छौँ।

निर्देशक फेरि बोले

– दिव्य देव, पाहुनाहरु आउन ढिला हुन्छ रे, बरु इन्सटहरु खिच्दै गरौँ। उद्घोषकले सहमति जनाए।

उद्घोषकका आँखा अचानक मतिर सोझिए। किन हेरेको होला म ट्वाँ परेँ। मेरो लामो कपाल छाम्दै म अक्कमक्क परेँ। चर्काे लाइटले आँखाको रोश्नी के हो ? बिर्सिसकेको थिएँ। अहो, यति चर्को लाइट अहिलेसम्म कहीँ देखेकै थिएन।

मनमा सुरुवात देखिनै ‘ती निर्देशक कहाँबाट बोलिरहेको होलान् ?’ भन्ने प्रश्न हलचल गरिरहेको थियो। त्यही प्रश्नले झस्काइरहेको जस्तो उद्घोषकका आँखा छल्न मैले अन्तैतिर नजर लगाएँ।

मनभित्र तन्किएको गोलीको ढुङ्गाजस्तै गरी मेरो मुखबाट प्रश्न फुत्कियो– निर्देशक कताबाट बोलिरहनु भएको छ ?

छेउमा बसेको साथीले माथिल्लो तल्लातिर इसार गरे, ‘उ त्यता हो कि ?’ उनी पनि निश्चित हुन सकेका रहिन्छन्। अनि, हामी कताबाट आवाज आइरहेको छ भन्दै अनुमान लगाउन थाल्यौँ।

निर्देशक अमन प्रताप अधिकारीको एकोहोरो बोली मात्र सुनिरहेको थिएँ तर मैले उनलाई देख्न सकेको थिइनँ। यतिकैमा निर्देशकले ‘क्यामरा, लाइट, साउण्ड रेडी हो ?’ भने। उद्घोषक देवले तयार भएको जानकारी गराए।

मैले बल्ल पो थाहा पाएँ, ती उद्घोषकले मतिर किन हेरिरहेका छन् भनेर। मेरो पछाडिको स्क्रिनमा स्क्रिप्ट लेखिएको रहेछ उनले त्यही हेरिरहेका रहिछन्, म भने मलाई हेरेका होलान् भनेर दङ् परेको थिए।

म त्यही कुरामै रुमल्लिएको थिएँ, तरररर...ताली बज्यो। क्यामेरा म्यानहरुले भिडियोको लागि आवश्यक पर्ने ताली बजाएको सट (भिडियोका टुक्रा) खिचे।

उद्घोषकले फेरि भने, ‘ल प्रतियोगीहरुले कविता वचन गरिसके फेरि एकपटक ताली बजाउनुहोस् त....’ हुँदै नभएको कुरा गर्न लगाएको देखेर म भने ट्वाँ परेँ। आखिर ताली बजाएको सट खिच्न निर्देशकले कविता वाचन नगर्दै ताली बजाउन लगाएका रहिछन्।

उफ...सुटिङ त यस्तो पो हुने रहिछ, कल्पना गरेरै ताली पिट्नुपर्ने, हुटिङ गर्नुपर्ने र सिट्ठी बजाउनुपर्ने।

एकैछिनमा मेरो दाहिनेतर्फ प्राविधिकहरू बसेको ठाउँमै कलाकार दयाहाङ राई र मिरुना मगरलाई पनि देखेँ। त्यसपछि प्रस्ट भयो, आजको कार्यक्रमको पाहुना उनीहरु नै रहिछन्।

फेरि निर्देशकले ‘सुटिङको लागि तयारी हो ?’ भने। जर्ज, प्रतिस्पर्धीहरु, कलाकारहरुले ‘तयार छौँ’ भनेपछि सुटिङ सुरु भयो। त्यसपछिका बाँकी कुरा त हामीले टेलिभिजनमै देखिरहेका हुन्छौँ। तपाईंले हेर्नुभएको छैन भने हेर्नुहोला।

अब म प्रस्ट भएँ, हामीले टेलिभिजनमा लाइभ भनेर हेरिने लियालिटी शोहरु त एकहप्ता अगाडि नै खिचिने रहिछन्, त्यो पनि अनौठो तरिकाले।

अनि मेरो लियालिटी शोकाे छायांकनको अनुभूति यतिमै सकियो।

वर्षौंदेखि दबिएको कविता रहर, जब बन्दाबन्दीले खोलिदियो (भिडियो)

प्रकाशित मिति: : 2023-04-08 20:30:00

प्रतिकृया दिनुहोस्