कङ्गोमा अज्ञात समूहको आक्रमणमा परी २० जनाको मृत्यु

File Photo
File Photo

पूर्वी कङ्गोमा एक विद्रोही समूहले गरेको भनिएको आक्रमणमा परी आइतबार करिब २० जनाको मृत्यु भएको छ।

एलाइड डेमोक्रेटिक फोर्सेस (एसडीएबफ)ले एनेबुला गाउँ नजिकै शुक्रबार अपराह्न ४ बजे किसानहरूमाथि आक्रमण गरेको स्थानीय नागरिक समाजका नेता प्याट्रिक मुकोहेले एएफपीलाई फोनबाट जानकारी गराए। 

मुकोहेले उत्तरी किवु प्रान्तको ओइचा शहरबाट करिब ३० किलोमिटर पश्चिममा रहेको उक्त हत्यास्थलमा २१ जना महिला र पुरुषको शव फेला परेको बताउनुभएको छ। 

ओइचा अस्पतालको मुर्दाघरमा काम गर्ने जुल्स काम्बालेले १९ जनाको शव प्राप्त भएको बताए।

क्षेत्रीय सैन्य प्रशासक चाल्र्स एहुता ओमेगाले आक्रमणको पुष्टि गर्दै उक्त आक्रमणमा ‘एडीएफ आतङ्ककारीहरू’ जिम्मेवार रहेको दावी गरे। 

सन् १९९० को दशकमा पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोमा आफ्नो पकड जमाएको एडीएफमाथि हजारौं सर्वसाधारणको हत्या गरेको आरोप लाग्दै आएको छ।

सन् २०१९ यता पूर्वी डीआरसीमा एडीएफका केही आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ, जसले उक्त समूहलाई आफ्नो स्थानीय शाखा इस्लामिक स्टेट मध्य अफ्रिका एकाइको रूपमा वर्णन गरेको छ।

सामाजिक सञ्जालमा शेयर गरिएको र मुकोहेले प्रमाणित गरेको भिडियोमा एउटा भीडले काठको फ्रेममा बाँधिएको, घाँटी रेटेको व्यक्तिको शवलाई घेरेर हेरिरहेको देखाइएको छ। 

मृतकको शव ओइचाको शवगृहमा आइपुग्दा केही युवाले विरोधमा नजिकैको राष्ट्रिय सडक अवरुद्ध गर्ने प्रयास गरेका थिए। 

बिहीबार कङ्गोस्थित संयुक्त राष्ट्रसङ्घीय मिसन मोनुस्कोले छिमेकी इटुरी प्रान्तमा एडीएफको आक्रमणमा परी ३० जनाभन्दा बढीको मृत्यु भएको जनाएको थियो।

गत महिना अमेरिकाले एडीएफ नेता सेका मुसा बालुकुका बारेमा जानकारी दिनेलाई ५० लाख अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा गरेको थियो।

प्रकाशित मिति: : 2023-04-10 05:19:00

प्रतिकृया दिनुहोस्