रुबी भ्यालीको यात्रा...

BreaknLinks
BreaknLinks

झरझर झरने झरना र कलकल बग्ने खोला होस् कि सम्म परेका हरियो पानसाङको पाटन अनि त्यस पाटनमा देखिने सेता लालीगुराँस, हिमालमा देखिने चौँरीहरुको बथानका साथै पाइने सिसा खानी (रुबी ढुङ्गा) यहाँका विशेषता हुन्। त्यसैले उपल्लो धादिङको यस स्थानको नाम नै रुबी भ्याली गाउँपालिका रहन गयो।

आजभन्दा चार वर्षअघि नेपाल टेलिभिजनबाट रुबी भ्यालीको वृत्तचित्र निर्माणको लागि धादिङको रुबी भ्याली गाउँपालिकास्थित अन्तिम हिमाली गाउँ तिप्लिङ म र टेलिभिजनका चालक रवि तामाङ त्यता लाग्याैँ। नेपाल टेलिभिजनका रसुवा संवाददाता सुशील कोइरालालाई क्यामेरा पर्शनको रुपमा जाने कुरा कार्यक्रम प्रमुख डा. टंक उप्रेतीले फोनबाट म जानू पूर्व नै भनेकैले उनलाई बेत्रावतीमा भेटेँ। बेत्रावतीबाट अब हामी तीनजना भयौँ। नयाँ ठाउँ भएकैले होला मनमा उमंग हुने नै भयो।

०००

स्याफ्रुबेंसी भएर उकालो लाग्याैँ, जब पानसाङको डाँडामा पुग्याैँ। ओहो...! हिमालमा सम्म परेको ठूलो, हरियो टार देखेर काठमाडौँकाे खाल्डोबाट निस्किएका हामीलाई निलो आकाश ठूलो जस्तो लाग्नु स्वभाविक नै थियो। ‘शिरमा स्वर्ग छ, धर्तीमा अप्सरा’ भनेझैँ त्यो पानसाङको डाँडाबाट देखिने उपत्यकालाई प्राय हिमालले चाँदीको घेराभित्र सजाएर राखेको देखियो।

केही समय त्यो डाँडामा बसेर तल तिप्लिङ गाउँतिर झर्दै थियाैँ, भर्खरै पालिकाको जेसिबीले खनेको अफरोडमा हिलोले गोरेटो बाटो बिगारिदिएको थियो। हिलैहिलोले भरिएको सडक गाडीले छिचोल्न नसकेपछि चालक रवि तामाङ माथि डाडाँतर्फ फर्के। सुशील कोइराला र म हिँडेरै तल तिप्लिङ गाउँमा झर्याैँ।

मलाई केही थाहा छैन। कोइराला जहाँ-जहाँ जान्छन्, त्यहीँ म पनि क्यामेरा र आफ्नो भारी बोकेर लागेँ। हामी उनले चिनेको एकजना उनकै पूर्व विद्यार्थी गोमा अर्याल तामाङको घरमा बास बस्याैँ। त्यस राति हामी उदेश्यसहित त्यहाँ पुगेकैले स्थानीयहरु भेला पारेर तामाङ समुदायको साँस्कृतिक नृत्यको छायाङ्कन गर्नुपर्ने भयो।

गुजमुज्ज परेर बसेको सुन्दर पारम्परिक घरहरु भुइँचालोले भत्काइ दिएपछि निला जस्ता पाताको गाउँ जस्तै देखिएको छ। तस्बिरमा देखिएको गाउँ रुबी भ्याली एक उपत्यका हो। पालिकाको नाम रुबी भ्याली रहनुको मुख्य कारण पानसाङको डाँडामा यत्रतत्र रुबी हो। रुबी नै रुबीको पहाड भएकैले यस पालिकाको नाम पछिलो समय रुबी भ्याली राखिएको बताइन्छ। यहाँ पाइने रुबी ढुङा विश्वभरमै बङ्गलादेश पछिको उच्च्कोटीको हुने बताइन्छ।

पञ्चायतकाल ताका उद्योगपति राजेन्द्र खेतानका बुबा तत्कालीन चर्चित व्यापारी मोहन गोपाल खेतानले यहीँबाट ट्रकाैँ ट्रक सिसा अथवा रुबी लगेर व्यवसाय गरेको समेत स्थानीय बताउँछन्। पानसाङ डाँडाको महँगाे पर्ने रुबी सबै लगेर गए, स्थानीयलाई भने खाली डाँडा छोडेर गए।

०००

तिप्लिङ गाउँका दुईजना दिदीबहिनी संगै भेटिए। लु रानी घले र रानी घले दुबैजना दिदीबहिनी साथीसथी जस्तै खुबै मिल्ने, फरासिलो सोचका दुबैजना एकै स्वरमा भन्दै थिए, ‘सुन्दर पहाड पानसाङको धार्मिक महत्व र गणेश हिमालको सुन्दरता संसारमा चिनाउनुछ। हामीले पहिला समाज रुपान्तरण गर्नुछ, त्यसपछि मात्रै अन्य कुरा सम्भव छ। गाउँमा रक्सी खाने र लड्ने अनि होहल्लालाई कन्ट्रोल गर्ने अभियान थालेका छौँ। केही हदसम्म सफल पनि भयौँ।’

उनीहरूले फेरि थपे, ‘अझै स्थानीय युवायुवतीलाई सीपमूलक तालिमको व्यवस्था गरी आत्मनिर्भर बनाउने अभियान जारी छ। यहाँ गणेश हिमालसम्मको पदयात्रा सहज गर्न राज्यले पहल गरिदिए यो ठाउँका युवाले रोजगारीको लागि बाहिर भौँतारिनु पर्दैनथ्यो। हामी आशावादी छौँ, दिन महिना नभनौँ तर केही वर्षभरि पर्यटन प्रवर्द्धनको लागि पूर्णरुपमा यो पालिक सफल र सक्षम हुनेछ। पानसाङ एउटा डाँडा मात्रै नभएर तिप्लिङ बासीको आस्थासंग जोडिएको धार्मिक स्वरुप पनि हो।’

तामाङ सेलो र संस्कृतिको नृत्य रिपोर्टिङका साथै रातभर स्थानीयसंग बसेर छायाङ्कन गरेपछि भोलिपल्ट भने बिहानै अर्को गाउँ चालीसतर्फ लाग्याैँ। चालीस गाउँ पुग्न ठाडो बाटो ओरालो तल झरेर एउटा ठुलै खोला तरेपछि केही पर गुरुङहरुको बस्ती देखिन्छ। तिप्लिङमा खाना खाएर ओरालोमा झरेका हामी केही घण्टापछि रात्रिकालीन समय टर्च बालेर गाउँ पुगियो।

उबेला गुरुङगाउमा चालीस परिवार मात्रै भएकोले त्यो गाउँको नामै चालीस रहेको स्थानीय बताउँछन्। ओरालोमा हिँड्दा खुट्टा कटकट दुखेर छाेइनसक्नु भएको छ तर गाउँलेहरुले हाम्रो स्वागतमा रातभरि गाउने, बजाउनको साथै नृत्य पस्किन थालेपछि अलमलिनै पर्यो। उदेश्य नै त्यहाँको कला संस्कृति र प्राकृतिक सुन्दरताको छायाङ्कन गर्नु जो थियो।

रमेश घले नामका स्थानीय राज्यसँगै स्थानीय सरकारसंग सन्तुष्टि छैनन्। भन्छन्, ‘उत्तरी धादिङको सुन्दरता न राज्यले बुझ्यो, न स्थानीय सरकारले नै! गाउँमा स्थानीयबीच कैयौँ पटक पर्यटकीय पूर्वाधारको लागि छलफल गरियो होला तर काम ज्यूँको त्युँ। केही फरक परेन।’

रुबी भ्याली गाउँपालिकास्थित गणेश हिमालको फेदसम्म पुग्न काठमाडाैँबाट ३०० किमिको दूरी तय गरी ७ दिनको समय लाग्ने यो ठाउँमा पुग्ने जो कोही आगन्तुकलाई स्थानीयको पाहुनाप्रति गरिने सत्कार उल्लेखनीय हुन्छ। १२ हजार ७ सय ४१ जनसंख्या रहेको यो उपत्यका १२० दशमलब ८० वर्ग किमिमा फैलिएकाे छ। यो स्थान पुग्न ३८०० मि उचाइ भएको पानसाङ डाँडो छिचोल्नै पर्छ। पानसाङभन्दा मुनि तिप्लिङ्ग गाउँमा तामाङ्ग समुदायका मानिसहरु बसोबास गर्छन् र यिनको आफ्नै विशेष संस्कृति छ।

प्राकृतिक सुन्दरता यहाँको खजाना नै हो। हरियो तन्नाले छपक्कै छोपेको जस्तो देखिने पाटनहरु पनि पर्यटकलाई स्वागत गर्न बसेको जस्तो भान हुन्छ। पानसाङ लेकमा पाइने चौँरीगोठहरुले हिमालको बसाइ अझ सुन्दर बनाएको छ। गणेश हिमाल जाने पर्यटकका लागि तिप्लिङ्ग पछिको अर्को बसाइ चालीसमा हो। साना तर चिटिक्क परेका घरहरुले गुरुङ सभ्यता र संस्कृतिलाई झल्काएको छ।

हिमाली क्षेत्रमा पानीका कुण्ड कति कति... चालीसबाट तातोपानी हुँदै खोला खहरा र चट्टाने पहाड छिचोल्दै  णेशकुण्ड पुग्न ४ दिन हिँड्नु पर्छ, हिँडाइ संगै छिनछिनमा बदलिरहने मौसमले यात्रालाई अझ रोमाञ्चक बनाउँछ। आँखाले नाप्न नसकिने ठूला टारहरुलाई हरियो, रातो र खैरो रंगले पोतिएको जस्तो देखिने पहाडको पाटन हुन् कि निलो आकाशमा दौडिरहेको बादल प्रकृतिका सुन्दर गहना हुन्।

सहरमा भन्दा फरक परिवेश यहाँको विशेषता नै हो। बाटोमा देखिने हरेक निर्जीवमा जीवन भरिएको जस्तो लाग्नु स्वभाविकै हो। पहाडमा ठिङ्ग उभिएका कलात्मक लाग्ने यी ढुङ्गाहरु मुर्तिकारले सजाएर राखेझै लाग्छन्। त्यसैले स्वर्ग खोज्न कतै धाउनु पर्दैन, स्वर्गको आभास नेपालमै पाउन सकिन्छ।

हप्ता दिनको हिँडाइपश्चात पुगिने स्थानलाई ७ हजार ४२९ मि उचाइ भएको गणेश हिमालको फेदमा रहेको पानीको कुण्डमा भगवान गणेशले स्नान गरेकैले उक्त कुण्डको नाम गणेशकुण्ड रहन गएको भनाइ छ। कुण्डमा पुगेपछिको प्राप्तिले त्यहाँ पुग्ने जो कोही आफूलाई भाग्यमानी ठान्दो हो। गणेशले स्नान गरेको  कुण्डको सुन्दरता तब छल्किन्छ, जब सूर्यको किरणले पानीलाई चुम्न थाल्छ।

अलौकिक स्थान, रमणीय वातावरण र हिमालको काखमा देखिने प्राकृतिक सम्पदाले आन्तरिक तथा बाह्य पर्यटकले लोभ्याउन सफल भएका छन्। यहाँ नदेखिएका रंगहरुको पर्वझैँ लाग्ने हिमाल, पहाड र झरना अनि संस्कृतिको संगम रुबी भ्याली पर्यटनका लागि विश्वकै उत्कृष्टमध्येको एक गन्तव्य स्थान हो।

प्रकाशित मिति: : 2023-04-15 06:20:00

प्रतिकृया दिनुहोस्