बर्मेली नेपाली साहित्यकार

'कौशिक'का तीन रचना: चारु, राग, विराग

टेकनारायण रिमाल ‘कौशिक’

रंगुन म्यान्मार (बर्मा)

१- चारु

तिमी मेरो जीवनमा आइसकेका छौ
नशा बनी नसाभित्र छाइसकेका छौ

नपत्याए आफ्नै मुटु छामेर त हेर
पिरतीका सन्देशहरू पाइसकेका छौ

नचिने झैँ नजाने झैँ गर्नु ठीक छैन
अन्जानैमा नौलो नाता लाइसकेका छौ

कति चोटि एकान्तमा टोलाएर बस्दा
सुस्केरामा मेरै गीत गाइसकेका छौ

प्रेमजोडी  माथिबाटै तोकिएको हुन्छ
सयौँ जुनी मेरै बाटो धाइसकेका छौ।

२- राग

प्रेमको अर्थ हो अर्थ जो ईश्वर। 
प्रेम त्यो सत्य हो सत्य जो ईश्वर। 

प्रेमको रंग वा रूप क्यै हुन्न रे!
प्रेम त्यो नित्य हो नित्य जो ईश्वर। 

प्रेम हुन्छ स्वयं जान्दछन् प्रेमिले 
प्रेम त्यो तत्व हो तत्व जो ईश्वर। 

प्रेमलाई तिमी वासना ठान्दछौ!
प्रेम ता स्वच्छ हो स्वच्छ जो ईश्वर। 

सृष्टि यो नासिँदा नासिने छैन जो
प्रेम त्यो सत्व हो सत्व जो ईश्वर।

३- विराग- (दैलो)

युवा शक्ति हो देशको बेस दैलो। 
युवा पाखुरी अक्षय स्वर्ण घैलो। 

युवा बाहिरिन्छन् ,जसै देशभित्र
पदासीन मच्चाउँछन् भाँडभैलो। 

बने भ्रष्ट नेता डुब्यो देश सिङ्गै
बन्यो अन्तरात्मा ढलैतुल्य मैलो। 

 चल्यो शक्ति, दैलो बिना,देश पारी
 भऱ्यो चोरले पो यता स्वार्थ थैलो। 

सके वन्य शोभा,नदी वृक्ष खोला
निकालिन्छ लैनो र राखिन्छ बैलो। 

लिएको छ डिग्रीहरू उच्च उच्च
पुरानै छ रूढि स्वभावी बनैलो। 

मिठो बोल्छ देखाउँदै स्वच्छ-भोलि
इरादा भने भित्र ज्यादै विषैलो।

प्रकाशित मिति: : 2021-02-27 07:51:00

प्रतिकृया दिनुहोस्