लुटेरा प्रेम-जोडी, जसले कयौं प्रहरीको हत्या गरे, बैंक लुटे

सन् १९३२ मा अमेरिकी एफबीआईले मिशिगन राज्यमा फ्याँकिएको एउटा कारबारे जानकारी प्राप्त गर्यो, जुन पहिलो ओक्लाहोमामा चोरी भएको रिपोर्ट गरिएको थियो। उक्त कारबारे खोज्दै जाँदा एफबीआईले ओक्लाहोमामा अर्को पनि एउटा कार चोरी भएको बारे थाहा पायो।

त्यसपछि प्रहरीले चोरी भएका दुवै कारबारे खोजी गर्न थाल्यो। खोजी गर्दा उक्त कारमा भएको औषधिको बोतलबाट कारहरु बोनी र पार्करले चोरी गरेको एफबीआईले पत्ता लगायो। अनि उनीहरुको खोजी गर्न थालियाे।

को हुन् बोनी र क्लाइड ?

बोनी एलिजाबेथ पार्कर र क्लाइड चेस्टनट ब्यारो अमेरिकी इतिहासको यस्ता आपराधिक जोडी हुन्, जसले अमेरिकामा महामन्दी भएको समयमा आफ्नो गिरोहसँग संयुक्तराज्य अमेरिकाको मध्य भागमा बैंक लुटपाट, चोरी, डकैतीलगायतका हिंसात्मक गतिविधि गरेर मानिसलाई दुःख दिएका थिए।

बाेनी र क्लाइडले सन् १९३१ देखि १९३४ काे बीचमा यति धेरै आपराधिक गतिविधिहरू गरे कि सबैले उनीहरूलाई ‘सार्वजनिक शत्रु’ मान्दथे।

बोनी पार्कर

बोनी एलिजाबेथ पार्करको जन्म सन् १९१० मा अमेरिकाकाे टेक्सास राज्यकाे राेवानामा मध्यम वर्गीय परिवारमा भएकाे थियाे। उनका बुबा घर बनाउने काम गर्दथे। उनका दैनिकीहरू सामान्य गरी बित्दै थिए। तर जब सन् १९१४ मा उनका बुबाकाे मृत्यु भयाे, त्यसपछि भने पार्कर परिवारकाे जीवन पहिले जति सहज भएन। उनीहरूकाे अवस्था झन नाजुक बन्दै गयाे।

घरखर्च चलाउन बाेनीकी आमाले एउटा किराना पसलमा काम गरिन्। तर तीन बच्चाहरूकाे पढाइ सँगै घरखर्च धान्न उनलाई मुस्किल भयाे। आमाकाे याे अवस्था बाेनीले नजिकबाट नियालिरहेकी थिइन्।

बाेनीले राेवानाकाे एक विद्यालयमा आधारभूत शिक्षा पास गरिन् र उक्त विद्यालयबाटै उच्च शिक्षा लिन थालिन्। उनी उच्च शिक्षाकाे दाेस्राे वर्षमा अध्ययनरत हुँदै गर्दा उनकाे भेट रोय थोरन्टनसँग भयाे। रोयसँगकाे भेटपश्चात बाेनीले स्कुल छाडिन् र उनीसँगै विवाह गरिन्। विवाह गर्दा उनकाे उमेर १६ वर्ष मात्र थियाे, त्यसैले उनीहरूकाे विवाहलाई कसैले स्वीकार गरेका थिएनन्। न त कानुनले, न त घरपरिवारले नै। त्यसपछि उनीहरूकाे सम्बन्ध पनि धेरै समयसम्म टिक्न सकेन। बाेनी थोरन्टनलाई छाडेर आफ्नी आमासँग बस्न थालिन्। त्यसपछि एक हाेटेलमा वेट्रेसको रूपमा काम गर्न थालिन्।

क्लाइड ब्यारो

क्लाइड ब्यारोकाे जन्म सन् १९०९ मार्च २४ मा टेक्सासकाे टेलिमा एक गरिब किसान परिवारमा भएकाे थियाे। उनी परिवारका सात सन्तानमध्येका पाँचाैँ थिए। उनी सानैदेखि परिवारसँगै खेतीपाती गर्न रूचाउँथे तर पानी अभावका कारण खेती नभएपछि उनीहरू बसाइँ सरेर डलास पुगे। उनले १६ वर्षकाे उमेरसम्म स्कुल पढे र त्यसपछि पढाइ छाडे। त्यसपश्चात उनी दाजुसँग लुटपाटमा संलग्न भए। घरकाे कमजाेर आर्थिक अवस्थाका कारण लुटपाट गर्न बाध्य थिए उनीहरू।

बाेनी र क्लाइडकाे भेट

बाेनी र क्लाइडकाे पहिलाे भेट सन् १९३० मा एक साथीकाे घरमा भएकाे थिए। पहिलाे भेटमा नै उनीहरूले एकअर्कालाई मन पराउन थालिसकेका थिए। केही हप्ता सँगै बिताइसेकपछि क्लाइड कार चाेरी गरेकाे आराेपमा जेल चलान भए। क्लाइड जेल चलान भएपश्चात बाेनी दुखी हुन थालिन्। त्यसपछि क्लाइडलाई जेलबाट भगाउने याेजना बनाउन थालिन्। साेही याेजनाअनुसार बाेनीले जेलमा बन्दुक सप्लाइ गर्न गरिन्। अनि क्लाइड सन् १९३० मार्च ११ मा बन्दुक लिएर जेलबाट फरार भए।

तर त्यसकाे एक हप्तापछि उनी पुन: समातिए। त्यसबेला भने उनलाई १४ वर्षकाे लागि जेल सजाए सुनाइयाे। क्लाइडले आफ्नो सजाय भोग्न थाेल। बाेनी पनि समयसमयमा भेट्न जेल गइरहन्थिन्। उनले फेरि पनि क्लाइडलाई जेलबाट भगाउने याेजना बनाउन थालिन्। तर क्लाइडका न्यायाधीशले उनलाई दुई वर्षपछि रिहाइ गरिदियाे।

उनीहरूकाे अपराध

क्लाइड जेलबाट मुक्त भएपछि बाेनीसँग मिलेर डल्लासकाे एउटा कम्पनीमा काम गर्न थाले। उनी चाेरीकाे केशमा पुन: पक्राउ परे तर केही समयपश्चात रिहा भए। त्यसपछि बाेनी र क्लाइडले एउटा गिराेह बनाएरै ठगी, चारी गर्न थाले।

उनीहरूले टेक्सास, डल्लास तथा मध्य अमेरिकाका साना व्यवसाय तथा बैंकहरूबाट चाेरीकाे सुरूवात गरे। यसै दाैरानमा क्लाइडले एक प्रहरी अधिकृतकाे पनि हत्या गरे। उनीहरूले बैंक तथा पसलहरू लुट्ने मात्र नभई सशस्त्र प्रहरीकाे बन्दुक लुट्ने र हत्या गर्न थाले।

उनीरूहरूकाे मुख्य लक्ष्य ईस्टहाम जेलमा आक्रमण गर्ने र पर्याप्त पैसा तथा फायरपावर(बन्दुक) जम्मा गर्नु थियाे। यसैगरी १९ अप्रिल १९३२ मा बन्दुक चोर्ने मनसायका साथ उनीहरूले एक हार्डवयर पसलमा लुटपाट गरे। लुटपाटकै क्रममा त्यस पसलका मालिककाे मृत्यु भयाे। उनीहरूले त्यस समयमा व्यापारीहरूकाे हत्या गरी फरार भए।

व्यापारीहरूकाे मृत्यु भएपछि बाेनी-क्लाइड गिराेहकाे तीव्र रूपमा खजीकार्य थालियाे। तर उनीहरूलाई पक्राउ गर्न प्रहरी असफल भइरह्याे। प्रहरीले आफूहरूलाई खाेजिरहेकाे थाहा पाएपछि बाेनी-क्लाइड गिराेहका सबै व्यक्ति बाहिर नजाने याेजनासहित सीमित व्यक्तिले मात्रै लुटपाट गर्न थाले।

सन् १९३३ काे जुन महिनामा उनीहरूकाे गिराेहमाथि आक्रमण भयाे। उक्त गिराेहका चाेरहरू भाग्न सफल भए तर त्यहाँ दुई पुलिस अफिसयरकाे मृत्यु भयाे। देशभरका पत्रपत्रिकाहरुमा उनीहरुको अपराधको विवरणसहित तस्बिरहरु प्रकाशित हुन थाले। तर तिनीहरूकाे अपराधमा भने कमी भएन।

उनीहरूको अपराधको क्रम जारी नै रह्यो। उक्त गिराेहका क्लाइड, बोनी, ब्रक ब्यारो, ब्लान्चे ब्यारो र डब्ल्यूडी जोन्सलाई प्रहरीकाे जासुसी समूहले पछ्याइरहेको थियो। जुलाई १९३३ मा प्रहरी अधिकारीहरूले उनीहरूलाई प्लेट सिटी, मिसौरीमा भेटाए र उनीहरूमाथि गोली चलाए। साेही क्रममा ब्रक गम्भीर रूपमा घाइते भए। तर पनि उनीहरू उम्कन सफल भए।

केही हप्तापछि पुलिसले उनीहरूलाई फेरि पक्राउ गर्याे। बोनी र क्लाइड जोन्ससँगै भागे तर ब्रक र ब्लान्चेले आत्मसमर्पण गरे। त्यसको केही समयपछि ब्रककाे गोली लागेकाे घाउकाे कारण मृत्यु भयो भने ब्लान्चेलाई १० वर्षको जेल सजाय सुनाइयो।

यता, बाेनी र क्लाइडले लुइसियानाको बिएनभिलमा रहेकाे मेथविनकाे फार्म हाउसमा बस्न थाले। तर जब मेथविनका बुबाले बाेनी र क्लाइडलाई प्रहरीले खाेजी गर्दै गरेकाे थाहा पाए, तब उनले छाेरालाई समेत पक्राउ गर्ने डरले उनीहरूलाई त्यहाँबाट जान भने।

सन् १९३४ मे २३ मा बोनी र क्लाइड त्यहाँबाट जान लुइसियानाको सडकमा ड्राइभ गर्दै थिए, त्यसै समयमा उनीहरूले मेथविनका बुबालाई उभिरहेर प्रहरीलाई पर्खिरहेकाे देखे। त्यसपछि उनीहरू त्यहाँबाट भाग्ने काेसिस गरे। तत्कालै प्रहरीले गाेली चलायाे र गोली लागेर दुवैको मृत्यु भयाे।

– एजेन्सीकाे सहयाेगमा

प्रकाशित मिति: : 2023-04-16 21:20:00

प्रतिकृया दिनुहोस्