विकृत मनहरु आधुनिक हुँदा

जुनकिरी दिदी, कलु दिदी, पाती दिदी, भागा दिदी, झाँकरी दिदी, सुन्नरी दिदी सबै एकैसाले हुन् भन्नु हुन्थ्यो आमाले। जन्मको सामिप्यता भएर के गर्नु, कर्मको सामिप्यता हुन सकिरहेको थिएन। सानो छँदामा घाँस दाउरादेखि गोरु भैंसी चराउन सबै जङ्गलतिर जान्थे। सबै जना प्राय: सँगसँगै हुन्थे। बुबाले बजारबाट कपडा ल्याएर सिलाएका झकुलाहरू लगाउँदा चिटिक्क देखिन्थे। मुर्दावादी कपडाका अझ भनौं चोलो र गुन्यु बनाउने कपडाबाट निर्मित झकुलामा सजिएका ती दिदीहरूका लाछा डोरी र कानमा फूल खुब सुहाएका हुन्थे। सबैका झकुलाहरू एकनासका हुन्थे। तुना बाँध्नुपर्ने झकुलाभएकाले पनि तुना कस्दा चिटिक्कका देखिन्थे। १४/१५ वर्षको उमेरसम्म अर्थात् बिहेअघि झकुला नै लगाउँथे। किशोरी भएपछि लगाएको झकुलाको आकर्षण बेग्लै हुने गर्थ्याे।

खानपिनमा धेरै ध्यान दिँदैन थिए। त्यतिबेला कोदो, मकै र रोटी गहुँको रोटी प्राय: सबैको घरमा हुन्थ्यो। धान धेरै फल्दैनथ्यो। धान बढी हुने घरलाई सौकारको घर भन्थे। डोटेली भाषामा साैको अर्थ हुन्छ धनाढ्य। अझ भनौं प्रशस्त मात्रामा अनाज हुने। कोदोको रोटी, नुन र मोहीसँग खाई आँसी जेउरो (हसिया र नाम्लो) समाती जङ्गलमा जान्थे। घाँस काट्दा सबै फरक–फरक डाँडामा पुग्थे। पहिला हतौला (सानो हत्केलाभित्र अट्ने मुठा) बनाउँथे अनि ती हतौलाहरूको सबै एक ठाउँमा बाँधेर पुला बनाउँथे। १०/१२ हतौलाको पुलो हुन्थ्यो। ६/७ पुलाको भारी हुन्थ्यो। सकिनसकी जङ्गलबाट घाँसको भारी ल्याउँथे। घरमा गाई, भैंसी एकहल बल्ल(गोरु) दुई/चार बाख्राहरू बाँधिएका हुन्थे। घाँसको भारीले असिनपसिन भएको मुहार आँगनमा घाँसको भारी फालेर झकुलाले मुखको पसिना पुछ्दथे। धोती पहिरेर बा, आमाले भान्छामा पकाएको दाल भात बाहिर आँगनमा बसेर हाँस्दै रम्दै खाने गरेको दृश्य मनमोहक हुन्थ्यो। भात नहुनेहरू रोटी र छाँच (मोही) खान्थे। प्रायः एकछाक भात खाने चलन थियो। दिउँसो फेरि सबै दिदीहरू दाउरा लिन जान्थे। बेलुकी दाउराका भारीहरू ल्याउँथे फेरि उही आँगनमा दाउराको भारी फालेर झकुलाले पसिना पुच्छदथे। बेलुकी सबै संगिनी एक ठाउँमा बसेर बात (लोक कथा) सुन्ने सुनाउने गर्दथे। यस्ता बातहरूले मनमा उमंग थप्ने गर्दथे। साथै ती कथाहरूसँग आफ्नो जीवन र यथार्थ जोड्दै निकै भावुक पनि बनिदिन्थे। दिनभरिको कामको थकानले बेलुकी सबै जना एकैठाउँमा भुसुक्क निदाउँथे। त्यो जीवनको पीडामुक्त निन्द्रा अति नै आनन्ददायक हुन्थ्यो।

गाउँमा विद्यालय थिएनन्। सायद विद्यालय भएको भए उनीहरू पनि पढ्थे होलान्। जीवन उपयोगी सीप सिक्थे होलान्। तर, ती सबै सुविधाहरूबाट ती दिदीहरू बन्चित थिइन। एकदिन गाउँमा नाटक देखाउने कुरो भयो। गाउँभरि हल्लीखल्ली भयो। अर्को गाउँका मानिसहरू आएर गाउँको एक सार्वजनिक आँगनमा नाटकको लागि मञ्च तयार पारे। सर्रर... सर्किने पर्दा बनाएका थिए। गाउँका सबै बुबा आमा दाजुभाइहरू तल भुइँमा पराल ओछ्याएर बसे। ती दिदीहरू सबैजना सँगै बसे। गैस (पेट्रोमेक्स)को उज्यालोले गाउँमा बिजुली आएको अनुभूति हुन्थ्यो। त्यति धेरै उज्यालो गाउँमा कहिले पनि भएको थिएन। नाटक सुरु भयो। दोस्रो गाउँको केटी सायद साक्षर थिइन होला। मञ्चमा महिलाका पीडायुक्त गीतहरू गाउँदै नाच्न थालिन्।

‘कापी किताब बोकी छोरा स्कुल पढ्छन, मै छोरी अभागी दाउरा घाँसैमा’

त्यो गीतको भाव ती दिदीहरूलाई आफ्नै जीवनसँग मिलेको लाग्न थाल्यो। आफूले पढ्न नपाएको गुनासो पोख्दै दिदीहरू आँसु बगाइरहेका देखिए। आफ्ना बुबा आमाहरू देख्छन् कि भनेर झकुलाले मुख छोपेको र भित्रभित्रै आँसु बगाई रोइरहेको देखियो। नाटक सकिएपछि सबै दिदीहरू उही बस्ने बासमा गए। नाटकमा देखेको विषयले मन छोएको बारे छलफल गर्न थाले।

समय बित्दै गयो। ती दिदीहरूको बिहे भयो। दिदीहरू कोही पूर्वतिर परे। कोही पश्चिमतिर परे। जहाँ परे पनि तिनीहरू सजिलै भेट नहुने गरी छुट्टिए। आ–आफ्नो घरजम गरी इज्जतका साथ जीवन निर्वाह गर्न थाले।

सबै दिदीहरू किशाेरी हुँदै गए। महिनावारी सुरु भएपछि लुक्ने चलन थियो। पहिलो महिनावारी भएको २२ दिनसम्म घरपरिवारलाई पानी चल्दैनथ्यो। दोस्राे महिनावारी भएपछि सात दिनसम्म पानी चल्दैनथ्यो। चार दिनसम्म त गाई भैंंसीका गोठका कुनामा सुत्नुपर्ने हुन्थ्यो। चार दिन भएपछि मात्रै नुहाउने चलन थियो। पाँच दिनपछि घरभित्र प्रवेश गर्थे। तर, दिएको खाना खानुबाहेक उनीहरूसँग विकल्प हुँदैनथ्यो। विवाह भएकी दिदी बिहे लगत्तै माइत आइन भने सबै दिदीहरू उनलाई जङ्गलतिर लिएर जान्थे। उनकाे विवाह पश्चातका घट्नाहरू सोध्ने गर्थे, ‘भन्नि लि, तेरी मौः कसी छ (भन न तेरो घरपरिवार कसो छ ) ? तेरो पोई कसो छ ? के खाया ? काँ सुत्या ? कति दुःख भयो ? के-के भयो’। एकपछि अर्को सोधेको सोध्यै गर्थिन। ती दिन त्यो समय जिज्ञासा र कौतुहलताले भरिएको हुन्थ्यो। उनीहरू निकै कुरा गरिरहन्थे। ती दिदी पनि सविस्तार बताउँथिन। उनीहरू चासो राखेर सुन्थिन। सबै मिलेर हाँसो मजाक गर्थे, ती केही दिनअघि मात्रै बेहुली बनेकी दिदीलाई अरु दिदीहरू समात्थे। उनको शरीर नियाल्थे। परिवर्तनको अनुभूति गर्थे। जुन कुरा विवाहको पखाइमा बसेकी दिदीका लागि एक प्रकारको प्रेरणा र सिकाइ हुन जान्थ्यो।

त्यहाँ न कुटिलता, थियो न पाप थियो। जीवनको यथार्थ थियो। संगिनीहरूको यौवनको प्रस्फुटन थियो। वास्तविक गाउँको यथार्थ थियो। गाउँबाट प्राय:जसो दिदीहरू भागेर जाँदैन थिए। तिनलाई माग्न केटाका अभिभावक आई कुरो छिनेको दिन ती लुक्थिन। संगिनिसँग बिहेको कुरो गरिरहन्थिन। केटो कस्तो होला भनेर कल्पनामा डुब्थिन। माग्न आउँदा न केटाको उपस्थिति हुन्थ्यो न त केटाको घरपरिवारबारे जानकारी पाउँथिन। बुबाआमाले राम्रै घरमा दियो होला भनेर चित्त बुझाउँथिन। आशा जगाउँथिन। बिहे भएको दिन सबै संगिनीहरू पहिला बेहुला कस्तो छ ? भनेर हेर्न जान्थे। सिन्दुर हाल्ने समयमा मात्र बेहुली छड्के आँखाले बेहुलाको अनुहार हेर्थिन। बेहुला जस्तोसुकै हुँदा पनि नसिब र भाग्यमा त्यस्तै थियो भनेर चित्त बुझाउनुको विकल्प हुँदैन थियो। सायद स्वस्थानी ब्रतकथा सुनेर मन बुझाउँथिन्।

ती दिनमा दिदीहरूले परिवार र समाजमा गर्ने प्रेम अजनबी थियो। महिलाहरू बढी नै इच्छालु र जिज्ञासु रहन्थे तर मनको भावनाहरूलाई अभिव्यक्त गर्न सक्ने ताकत हुँदैनथ्यो। एक सामाजिक अनुशासन थियो। एक प्राकृतिक आनन्द थियो। त्यहाँ कुटिलाता थिएन लोभ/पाप थिएन। एक गाउँले जीवनको प्रेम सद्भाव मात्र थियो। त्यो भन्दा बढी केही थियो भने त्यो भोको पेट र दुःख कष्टपूर्ण जीवनको किनार थियो। शिरमा अपजसको भारी थियो।

ती दिदीहरूलाई आर्थिक उत्पादन, शिक्षा सरसफाइ भन्ने कुरा थाहै थिएन। हुने पनि कुरो भएन। गाउँमा पैसा आउनु भनेको बिरलै देखिन्थ्यो तर एकअर्कामा सहयोगी भावनाका कारण सबैको गुजरा भने चलेकै देखिन्थ्यो। दुईजोर लुगा भए वर्षदिन कट्थ्यो। एकजोर चप्पल हुन्थे, नभए खाली खुट्टा पनि हिँडेका देखिन्थे। गहिरिएर सोच्दा तिनको जीवनगाथाभित्र एक तनावमुक्त प्राकृतिक आनन्द थियो। किनकी, तनाव निम्त्याउने नै सुविधा हो। तिनका पालामा केही सुविधा थिएन।

समयले कोल्टे फेर्‍याे। अहिलेका बहिनीहरू छुट्टै सामाजिक जनजीवनसँग अभ्यस्त हुन थाले। संचार जगतको उपभोग गर्न थाले। हात हातमा मोबाइल बोकेर फेसबुक चलाउन थाले। टिकटकमार्फत नै किन नहोस्, आफ्नो प्रतिभा र क्षमता प्रस्तुत गर्न थाले। त्यसभित्र केही विकृतिहरू नदेखिएका हैनन्। उसो त अल्लारे उमेरका बहिनीहरू केटाहरूले फेसबुकमार्फत जता बोलायो त्यतै पुग्ने पनि देखिएका छन्। श्रीमान परदेश भएको बेला फेसबुक, ट्विटर र फोन सम्पर्कबाट परपुरुषसँग लस्सिने महिलाहरू पनि देखिन्छन्। दुई/चार दिनको कुराकानीमै नचिनेको नबुझेको केटासँग टाप ठोक्नेहरू पनि छन्। सबै त्यस्ता खाले छैनन्। सबैलाई त्यही घानमा राख्न पनि त मिल्दैन।

उसो त हिजोका दिदीहरूलाई बिहे गरेर आफ्नो घर गइसकेपछि जतिसुकै दुख कष्ट झेल्नुपर्ने भए पनि केटाकै घरमा जिन्दगी बिताउनुपर्ने हुन्थ्यो। तर, आज अन्याय अत्याचारका विरुद्धमा दुरदराजबाट समेत थुप्रै नारी आवाजहरू सुनिन थालेका छन्। जनचेतनाको लहर फैलिएको छ। सही सदुपयोग गर्नेहरूका लागि सामाजिक सञ्जाल एक प्रकारको विश्व विद्यालय पनि हो। जहाँ धेरै कुराको ज्ञान लिन सकिन्छ।

तर, सही ढंगले सदुपयोग हुन सकेन भने विकृति र दुखले डेरा जमाउन थाल्छ। फेसबुकमार्फत केटाहरूसँग घन्टौँ वातचित गर्ने अनि यौवनको बहुलठ्ठिपनमा हराउँदै केटाहरूले बोलाइरहने बैनीहरू गइरहने हो भने पितृसत्तात्मक रजगज भएको समाजमा दिनप्रतिदिन समस्याहरू थपिदै जाने कुरामा दुईमत छैन। बहिनीहरू अन्याय र अत्याचारका सिकार भइरहने अनि राज्य पक्षका ठेकेदार बनेका, आफूलाई ठूलै सम्राट ठान्ने पुरुषहरू मुकदर्शक बनिरहने छन्। यौनलाई धन्दाको रुपमा लिई थुप्रै कर्म र कुकर्म गर्नेहरूको बिगबिगी नहोला भन्न पनि त सकिँदैन।

सभ्यता र संस्कार नै ओरालो लगि रहने छ। अहिलेका बहिनीहरूले समयअनुसारका प्रविधिसँगै ती दिदीहरूका अनुभव र भोगाइका पाटा पनि सुन्नु र पढ्नु जरुरी छ। समय पढ्नु जरुरी छ। अनि अझै परिवर्तन हुन नसकेको समाजमा परिवर्तनकारी भूमिका निर्वाह गर्नु जरुरी छ।

आज पुराना दिदीहरू बहिनीहरूको समयको अवलोकनकर्ता जस्ता देखिएका छन्। मन मनै भनिरहेका छन्, ‘हाम्रो पालामा यस्तो समय हुँदो हो त हामी पनि पढ्ने अवसरबाट बञ्चित हुँदैन थियौँ होला। आधुनिक प्रविधिसँग सजिलै घुलमिल हुनसक्थ्यौ होला।’

समाज परिवर्तनशील छ। समाज जति उन्नत आधुनिक हुँदै गयो समाजका विकृत मनहरू पनि आधुनिक हुँदै गए। अहिलेका बहिनीहरूको समय पनि आधुनिक हुँदै गयो। केटाहरू त झन छाडा हुँदै गइरहेका छन्। पितृसत्तात्मकताको अहंकार बोकिरहेकै छन्। कुनै इज्जत र अस्तित्वको पर्वाह नै गरिरहेका छैनन्। तर, बहिनीहरूले आफैंले आफू, समाज र परिवारप्रतिको न्यायका लागि शंख फुक्नुपर्ने बेला आइसकेको छ। राजनीतिकरुपमै पनि लुटेराहरूलाई बढारेर आफू अगाडि बढ्नुपर्ने हो। तर, समाजमा त्यस्तो हुन सकिरहेको छैन। समाज छाडाहरूको उत्तर आधुनिकतातिर केन्द्रित छ। समाज बेइमानहरूको आर्थिक चलखेलमा केन्द्रित छ। उत्तर आधुनिक पुँजीवादले सिकाएको नै यही हो। आधुनिक पुँजीवादले सबैका मनहरू फटाइदिएको छ। सबैको भित्री पाटो पुँजीको केन्द्रिकरण र पुँजीको शोषणसँग केन्द्रित छ। म एकोहोरो सम्झिरहेको छु, एक हिसाबले ती दिदीहरू आफैंमा एक प्रविधि थिइन्, जसले नि:स्वार्थ ढंगले घरपरिवार मिलाइन, समाजमा औचोपैंचोलगायत माया, प्रेम र सद्भावका साथ जिउने कला सिकाइन्। बालबच्चा र खेतीपातीका लागि ऊर्जावान समय बनिन्। प्रेरणाकी खानी बनिन्। अशिक्षा, अभाव र दुःखको भारी बोकेर निरन्तर कर्मको गोरेटोमा यात्रारत रहेका ती दिदीहरु वास्तवमै त्याग र धैर्यताको बिस्कुन फिजाएर पुज्यनीय मातृत्वकी खानी बनिरहिन्।

प्रकाशित मिति: : 2023-04-17 18:35:00

प्रतिकृया दिनुहोस्