कोशी प्रदेश सरकारको १०० दिनको उपलब्धि सार्वजनिक (पूर्णपाठ)

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नेतृत्वको सरकारले प्रथम १०० दिनको अवधिमा गरेका काम तथा उपलब्धिहरु सार्वजनिक गरेका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी मुख्यमन्त्री कार्कीले १०० दिनको उपलब्धि सार्वजनिक गरेका हुन्।

कार्की नेतृत्वको सरकार प्रदेशका मन्त्रालयहरुको संख्या १३ बाट घटाएर ९ वटा कायम गरेको छ। प्रदेश सरकारको प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न तथा सेवा प्रवाह र विकास व्यवस्थापनमा प्रभावकारिता ल्याउन उच्चस्तरीय प्रशासन सुधार कार्यदल गठन भएको मुख्यमन्त्री कार्कीले बताए।

यो अवधिमा सरकारले प्रदेशको नाम कोशी राखेको छ। यस्तै प्रदेश भित्रका १५ स्थानीय तहहरुको आवद्यिक योजना निर्माण कार्य अगाडि बढेको कार्कीले बताए।

स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई क्षमता अभिवद्धि गर्न प्रदेश सरकारले सामाजिक सुरक्षा, व्यक्तिगत घटना दर्ता, मध्यमकालिन खर्च संरचनासम्बन्धी तालिमसमेत प्रदान गरेको छ। स्थानीय तह र प्रदेश सरकारबीच समन्वय गरेर अघि बढ्न सरकारले कोशी प्रदेश समन्वय परिषद् गठन गरी त्यसको बैठक समेत सम्पन्न गरेको छ।

सरकारले प्रदेश अन्तर्गतका सबै मन्त्रालय, आयोग, सचिवालय रकार्यालयहरुको चालु खर्चको २५ प्रतिशत खर्च कटौती गरी श्रोत व्यवस्थापनको प्रयास गरेको मुख्यमन्त्री कार्कीले जानकारी दिए।

कृषितर्फ प्रदेशमा प्राङ्गारिक मलको खपत वृद्धिका लागि सहुलियत दरमा ४०७ मेट्रिक टन प्राङ्गारिक मल किसानहरुलाई उपलब्ध गराएको कार्कीले बताए।

दिगो रुपमा माटोको उत्पादकत्व वृद्धिका लागि प्रदेशमा उपलब्ध कच्चा पदार्थको प्रयोग गरी प्राङ्गारिक मल उत्पादन गर्न झापा, मोरङ्ग र सुनसरीका ६ स्थानमा प्राङ्गारिक मल उत्पादन कार्यलाई सरकारले अघि बढाएको छ।

प्रकाशित मिति: : 2023-04-18 17:09:00

प्रतिकृया दिनुहोस्