एसीसी प्रिमियर कप: साउदी अरेबियासँग कतार ७ विकेटले पराजित

काठमाडौँमा जारी एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपअन्तर्गतको खेलमा कतार साउदी अरेबियासँग ७ विकेटले पराजित भएको छ।

शनिबार त्रिवि मैदानमा भएको खेलमा कतारले दिएको २ सय १७ रनको लक्ष्य साउदीले ३४.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। साउदीका लागि  अब्दुल वाहिदले शतक प्रहार गरे। उनले १ सय ८ बलमा २१ चौका र १ छक्का प्रहार गरी १२४ रनको शतकीय ईनिङ खेले।

त्यस्तै, साउदीका लागि वाकर उल हसनले ५५ बलमा ५५ रनको अर्धशतक प्रहार गरे। साउदीका साद खान शून्यमा बोल्ड आउट भए भने कप्तान हिशम शेख ३८ बलमा २ चौकासहित २१ रनमा अविजित रहे।

यता, टस हारेर पहिला ब्याटिङ गरेको कतार ४९ दशमलब ५ ओभरमा २ सय १६ रनमा अलआउट भएको थियो। कतारका लागि इक्रमुल्लाह खानले २ र खुरम शाहजादले १ विकेट लिए। त्यस्तै, मोहम्मद तनविरले ४८ बलमा ७ चौकासहित सर्वाधिक ४६ रन बनाएका थिए भने कतारका ओपनर कमरान खान ३९ बलमा ७ चौकासहित ३६ रनमा आउट हुन पुगेका थिए।

साउदी अरेबियाको यो पहिलो जित हाे। यसअघि साउदी मलेसियासँग ८ विकटले पराजित भएको थियो। कतारको भने यो दोस्रो हार हो, यसअघि कतार ओमनसँग ४० रनले पराजित भएको थियो।

वैशाख १८ गतेसम्म चल्ने प्रतियोगितामा दुबै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्ने छन्। सेमिफाइनल जित्ने दुई टोलीले उपाधिको लागि वैशाख १८ गते त्रिवि मैदानमा प्रतिस्पर्धा गर्ने छन्।

प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एसियन कपको लागि छनोट हुनेछ। त्यस्तै शीर्ष तीनमा रहने टोली एसीसी इमर्जिङ कपको लागि छनोट हुने छन्।

प्रकाशित मिति: : 2023-04-22 16:42:00

प्रतिकृया दिनुहोस्