कृषि कर्ममा खुशी भेटेकी मिना भन्छिन्– अमेरिकाभन्दा, खेतबारी नै प्यारो

सिरसिर हावा चलेको छ। हावाले गर्दा वैशाखको तातो घामको कुनै प्रवाह छैन। सेता प्लाष्टिकका बोरा खेतभरि देखिन्छन्। खेतमा कोदाली समातेर दर्जनौँ जनाले खनिरहेका छन्।

देशको राजधानी काठमाडौंदेखि करिब ४५ मिनेटको मोटर यात्रा गरेपछि शनिबार साँखुमा देखिएको दृश्य यस्तै थियो। काठमाडौँ जिल्लाभित्रकै शंखरापुर नगरपालिका– ६ साँखुमा शनिबार दर्जनौँ जनाले खेत खनिरहेका थिए।

प्रायः ठाउँमा बडेमानका घरहरु देखिने साँखुमा केही सिमित ठाउँमा मात्र खेतहरु छन्। खेतमा गहुँ पाकेर पहेँलपुर भएका छन्। गहुँ नहुने खेतका गराहरु हरिया छन्। हरिया खेतका गरामा आलु रोपिएका छन्।

तीन महिनाअघि रोपिएका आलु खन्ने समय भएको छ। त्यही आलु निकालेर बिक्री गर्न खेतभरि दर्जनौँ मानिसहरु कोदालीसहित खनिरहेका छन्। र, ५९ वर्षीया मिना बज्राचार्य पनि आलु खनिरहेकी छिन्।

सालिनदीको छेवमै छ, मिनाको खेत। आलु निकाल्नका लागि दुई दर्जन मानिसहरु काममा ब्यस्त छन्। ‘अहिले २८ जनाले आलु खनिरहनुभएको छ,’ मिनाले भनिन्। उनले ११ रोपनी जमिनमा आलु खेती गरेकी छिन्।

मिनाको घर काठमाडौं सहरको चावाहिलमा छ। तर, उनी खेतमा पुग्न पाइन भने रमाउँछिन्। ‘म बनेकै यही मिट्टीले हो। माटोमा केही पनि फलाएन भने मेरो चित्त दुःछ। म खेतमा पुगे भने केही फलाउन पाए भने खुसी हुन्छु,’ उनले भनिन्।

मिनाकाे श्रीमान बितेको १४ वर्ष भयो। श्रीमानलाई बचाउन नसकेकोमा दुःख लाग्ने बताउँदै उनले खेतीपाती गर्दामा नै मन भुलेको बताउँछिन्। ‘मेरो श्रीमान किड्नी फेल भएर १४ वर्ष अघि बित्नुभयो। उहाँलाई बचाउन नसकेकोमा अलि–अलि दुःख लाग्छ,’ मिनाले भनिन्,‘उहाँका लागि धेरै गर्दा पनि बचाउन सकिएन। तर, खेतबारीमा पुगेभने खुसी हुन्छु। यहाँ आउन पाए भने दुःख बिर्सन्छु।’

मिनाले गहुँ खेती पनि गरेकी छिन्। काठमाडौंमा बसे पनि हप्ताको एक पटक खेतमा पुगिरन्छिन्। खेत हेर्नका लागि एक परिवारलाई जिम्मा दिएकी छिन्। उनले अझै खेतीलाई व्यवस्थित गराउने योजनामा छिन्।

तर, आफूले उत्पादन गरेको कृषि उपजले बजार नपाउँदा समस्या भोगिरहेको उनी बताउँछिन्। ‘मैले एभोकाँडा, ड्राइगन फ्रुट, गोलभेडा पनि लगाएकी छु,’ उनले भनिन्, ‘नेपालको गोलभेडाले बाजर नपाएर कुहिन्छ। तर, भारतबाट आउने गोलभेडाले बाजार पाउँछन्।’

कृषिलाई सरकारले प्राथमिकता नदिँदा अहिले कृषकले समस्या भोगिरहेको मिनाको भनाइ छ। ‘धान लगाउँदा धानको बिउ पाउन सकेका छैनौँ। खेती गर्दा मल पाउँदैनौँ,’ उनले भनिन्, ‘राज्यको नजर कृषकको उत्थानका लागि छैन। कमिसनको क्षेत्रमा राज्य चलाउने व्यक्तिहरुको नजर परेकाले यहाँको गोलभेडा बिक्री हुँदैन। भारतबाट आएको गोलभेडाले मात्र मूल्य पाउँछ। यसले गर्दा साह्रो दुःख लाग्छ।’

कृषकका लागि सरकारले ध्यान दिनुपर्ने मिनाले बताइन। उनले भनिन्,‘म हातै जोडेर सरकारलाई भन्छु किसानीलाई सम्पन्न गर्नुहोला। किसानीलाई हेर्नुहोला भन्छु।’

कृषिले मात्र देशको समृद्धि हुने भन्दै उनले जमिन खण्डिकरण हुन लागेको देखेर एकदमै चिन्ता लाग्ने बताइन। उनले भनिन्,‘खेतीयोग्य जमिनलाई खण्डिकरण गरेर कंक्रिटैकंक्रिट बनाएपछि मलाई चिन्ता लाग्ने गर्छ। खेती नै गर्न नमिल्ने गरी जग्गा खण्डिकरण गरेपछि अबको पुस्ताले के खाने होला ? कति दिन अरुको भरमा बाँच्ने होला ?’

‘कृषिमा पनि पैसा छ’

५९ वर्षीया मिना कृषिबाट पनि आम्दानी गर्न सकिने बताउँछिन्। कृषि गरेर विभिन्न ठाउँमा सहयोग गरेको बताउँदै कृषिमा असफलता मात्र होइन सफलता पनि रहेको बताउँछिन्।

‘पैसा हुँदैन भन्ने होइन। यस्तो छ नि।’ गीतको भाका मिलाउँदै उनले भनिन्, ‘किसानीको के भर छ र, आउँछ पानी बगाउँछ सरर..अब किसानीको असिना परेर झारी दिन्छ। पानी परेर बिगारिदिन्छ। यस्तो समयमा हामीलाई अलिकति नोक्सान हुन्छ। तर, हार खानु हुँदैन यो साल नोक्सान भए अर्को साल फेरि आउँछ।’

उनले कृषिबाट फाइदा हुने गरेको बताइन। ‘मैले आलु रोपेकी छु। यसमा खर्च मात्र होइन। फाइदा पनि छ। यो आलु खेतीमा एक लाख लगानी लागेको छ। यो बेचेर हामीले डेढदेखि दुई लाखको कमाउँछौँ,’ मिनाले भनिन्, ‘यो त साढे तीन महिनामा हो। बाँकी अब धान फलाउँछौँ। यताबाट पनि फाइदा हुन्छ।’

खेती गरेर आएको पैसा समाज सेवामा खर्च गर्ने गरेको उनको भनाइ छ। मिनाका चार जना छोराछोरीमध्ये एक छोरा र एक छोरी अमेरिकामा छन्। एक छोरा र एक छोरी नेपालमा नै छन्।

सोलुखुम्बुको दुतखुण्डमा जन्मिएकी मिनाले सानैदेखि खेतबारीमा काम गर्दै आएकोले आजसम्म पनि यो काम छाड्न नसकेको बताउँछिन्। घरमा खानका लागि धान आफैंले उत्पादन गरेको बताउँदै उनले अरुलाई पनि जमिन बाँझो नराख्न आग्रह गरिन्।

सरकारकाे नीतिका कारण अहिलेका युवा पुस्ता नेपालमा बस्न नसकेको मिनाको बुझाइ छ। ‘सरकारले युवाहरुलाई बस्ने गरी कृषिमा लगानी बढाउन सकेको छैन। योग्यताअनुसार काम नहुँदा युवा विदेश गइरहेका छन्,’ उनले भनिन्,‘यदि नेपालमा महिनामा ३० हजार मात्र बचाउन सकेपछि युवाहरु विदेश जाँदैनन्। सरकारले यसतर्फ ध्यान दिन जरुरी छ।’

भिडियाे:

प्रकाशित मिति: : 2023-04-26 11:22:00

प्रतिकृया दिनुहोस्