जब जहाज ‘मृत्यु कुण्ड’तिर लम्किन्छ

BreaknLinks
BreaknLinks

सिँढीमा पुग्न साथ सुरक्षा गार्डले सलुट गर्छन्। त्यसलगत्तै सिँढीका खुट्किलाहरु चढ्दै ढोकाको मुखमै पुगिन्छ। ढोकाबाट भित्र छिर्ने बेलामा एयर होस्टेसले नमस्कार गर्छिन्। ढोकाबाट भित्र छिर्ने बित्तिकै कार्पेट बिच्छ्याइएको छ। कार्पेट छेउमा फ्लडलाइट धिपधिप बलिरहेका छन्। दायाँ बायाँ सिटहरु छन्। सबै जना गएर दायाँ बायाँ मिलेर बस्छौँ।

एकछिनमै निर्देशित आवाज आउछ-

महिला तथा सज्जन्वृन्द नमस्कार, यहाँहरु सबैलाई हाम्रो जस एयरको तर्फबाट एकसाथ कतारतर्फ उडान भर्ने Ass 20022 मा हार्दिक स्वागत गर्दछौं। महिला तथा सज्जनवृन्द हाम्रो पूरै उडानको समयमा यहाँहरुले हाम्रो जस एयरको नियम पालना गर्नु पर्ने हुन्छ। यहाँहरुले आफ्नो मोबाइल साइलेन्ट वा प्लाइट् मोडमा राख्नुपर्ने छ। बिचको बाटोमा ओहोरदोहोर नगर्न पनि अनुरोध गर्दछौं। उडानको समयमा आफ्नो सिट छोडेर बाहिर ननिस्किनुहोला। धूम्रपान नगर्नुहोला। एकअर्कालाई बाधा नपुर्‍याइ बस्नुहोला। उडानको समय १ घन्टा २० मिनेटको हुनेछ। आफ्नो सिटबेल्ट राम्रोसँग बाँध्नुहोला, धन्यवाद।

अब कतारको लागि जहाज उड्यो...

याे दृश्य हाे, काठमाडाैँकाे राताेपुलस्थित ओजस थिएटरमा मञ्चन भइरहेकाे ‘मृत्यु कुण्ड’ नाटककाे।

जहाज निरन्तर कतारतर्फ उडिरहेकाे छ। एक दर्जन बढी युवा अनुहार जहाजभित्र ठाेलाइरहेका छन्। घर छाडेर हिँडेका यात्रुहरुको मुहारमा कुनै चमक्ता छैन। बाध्यताले देश छाड्नु परेका सिंगाे नेपालका प्रतिनिधिपात्रहरु छन् यहाँ। साउदी, कतार, मलेसियालगायत खाडीमा श्रम गर्न जाने युवादेखि रंगिन सपना देखेर अस्ट्रेलिया जाने जोडिहरु छन्। नेपालमा देखेका हजाराैँ सपनाहरु मार्दै बाध्यताले बिदेशिदै छन्, युवा।

हाँसोका फोहोरा....

ए बा ! तमी निकै बस हा। मु चाँडै फर्किन्छु अनि तम्रो इलाज गर्छु। आमा ! माथि माथि गौठली चरी उड्नेतिर नहेर्या है, तै भन्दा नि माथि माथि छ, यो चिलगाडी। फर्केर आउन पाउछिकी नाइ मलाई था छैन। ए मेरा साथीसंगी पहिला जसरी डेउडा खेल्न पाउन्न, विदेशका मरुभूमिमा दु:खसँग डेउडा खेल्छु म।

यी पात्रले बोलेका पीडा कथाका होइन, मृत्यु कुण्ड नाटकको मात्रै पनि होइन। यी त प्रत्येक नेपालीकाे बाध्यताका व्यथा हुन्। सुदूरका कथा/व्यथा हुन। रहर मारी बाध्यतामा विदेशिनेका कथा हुन्। देशभित्र ब्याप्त बेरोजगारीको समस्याका परिणाम हुन्। अस्थिर राजनीतिक अवस्थाले फैलिएको नैराश्यताले थिलथिलो भएका युवाको कथा हो यो।

एउटा पैसा भन्ने चिज पाउनका लागि उनीहरु धेरैथोक छोडेर विदेशिन्छन्। आफ्नो सपना, बा-आमा, सम्बन्ध संस्कृति र समाज सिंगाे देश नै छाडेर जान्छन। बिरामी बा'लाई ओछ्यानमा छाडेर आमाहरुलाई भिर पखेरामै छाडेर। जीवनसंगीलाई मेलापातमै छाडेर। छोराछोरीलाई निद्रामै छाडेर। प्रेमीलाई बलिन्द्रा आँसुमा छाडेर। अनि आफ्नो रहर र सपनालाई छोडेर मृत्यु कुण्ड (बिदेश)को यात्रामा निस्क्न्छन यी मान्छेहरू।

जहाज उडिरहेको छ, आफ्नो गन्तव्यतिर। तर, मन भने उहीँ पाखा पखेरा साथीसंगी। फ्यास ब्याकमा डेउडा नाचेका, प्रेमी प्रेमिकाका सुन्दर कुराहरू। चाड बाडमा गाउँ फर्कनेहरुका खुसी। सुख मात्रै होइन, दु:खका कति बिकराल सिनहरु पनि देखाइन्छ। भिरबाट लडेका बा'लाई छोरा र गाउँलेहरुले बोकेर विमानस्थल ल्याउँछन्। तर, भिआइपी उडान भनेर उनीहरुलाई टिकट दिइन्न। सुरक्षा गार्डले उनीहरुलाई कुटेर लखेट्छ। लाचार उनीहरु बिरामी बा रुँगेर बस्छन।

अर्कोतिर कलेज पढ्ने युवाको सपना छ, देशभित्रै केही गर्ने। कोही कलाकार बन्ने। कोही गायक बन्ने कोही आफ्नै व्यापार गरेर बस्ने सोच र प्रयास। नवविवाहित जोडिको प्रेमका कुरा पूरा नहुँदै सुरु भएको विदेश यात्रा।

छैन छैन तेरो भविष्य यो देशमा, आइल्स गर, टोफेल गर जा विदेशमा।
कमा पैसा, बना भविष्य उमेरमा, लखरलखर किन हिँड्छस जोगीको भेषमा।

परिवार, समाज साथी-भाइ परिस्थिति सिंगै देशले दिएको उपहार छर्लङ्ग छ। अर्कोसँग दाँजेर हेर्ने हाम्रो मानसिकता। देखासिखिमा बाँच्ने समाज। लहलहैको बानीका कुराहरु पनि छन् नाटकमा। घर खेत बेचेर अस्ट्रेलिया जापान पठाउन तयार अभिभावक छोराछोरीका सपना देशमा पूरा गर्न लगानी गरिदिन्नन। विदेश जान ऋृण दिने साहुले नेपालमा व्यापार गर्न दिँदैन।

नाटकले नेपालको अहिलेको परिस्थितिलाई ऐनामा जस्तै छर्लङ्ग देखाएकाे छ। नाटकमा प्रयाेग भएका पात्रहरु र प्रप्सले नाटकमा जीवन भरेको छ। सेट डिजाइन र त्यसको प्रयोग राम्रो छ। लास राख्ने बाकस, सिलाजित निकाल्न पहारा उक्लने प्रयोग हुने डोरी, नाटकमा लेखिएका र देखिएका पात्रहरू। आपसका सम्वाद। कर्णालीको परिवेश कथा र ब्यथा। सिलाजित र स्याउ। डेउडा, भिर र पाखा। अनि बिरामी र भिआइपी फ्लाइटले सिंगाे सुदूरको कथा ब्यथा संस्कार संस्कृतिलाई प्रतिनिधित्व गरेको छ।

त्यस्तै पहाडका कथा, तराई मधेसका कथा। पूर्वको कथा, पश्चिमकाे कथा। समग्र देशको कथा भूगोलको कथा देखाइएको छ, नाटकमा। नाटकका कैयन दृश्यहरु आफ्नै लाग्छन् च्वास्स घोच्छन। आँखा रसाउछन्।

छिटफुट टेक्निकल कुराहरुबाहेक नाटक राम्रो छ। हेर्ने दर्शकलाई मनन गर्न बाध्य तुल्याउने नाटक बनेको छ।

नाटकमा कलाकार विशाल महर्जन, अजय वान्तवा राई, सविना तामाङ, विवेक घिमिरे, राजु खतिवडा, शिशिर भट्टराई, शालु रौनियार, उदिप सिवाकोटी र सानुमाया तामाङ, निस्वम थापा मगर, बिटी महर, गोबिन्द टिआर, हेमन्त लामिछाने, वसन्त पोखरेल, वीरेन्द्रसिंह कुशवाहा, ओसन कार्की, एचबि मगर, एलिसा न्यौपाने, शेखर ओजस र श्याम कार्कीले अभिनय गरेका छन्।

नाटकको निर्देशन तथा लेखन रविन दोङले गरेका हुन्। त्यस्तै नाटकलाई सह-निर्देशन मणि र सुवास राईले गरेका हुन्। २० वैशाख बुधबारबाट मञ्चन थालिएको याे नाटक १५ जेठ (बजेट घोषणाका दिन)सम्म मञ्चन हुनेछ।

प्रकाशित मिति: : 2023-05-13 20:30:00

प्रतिकृया दिनुहोस्