फोहोरको डङ्गुरमा ‘चोभार’ (भिडियो) 

‘चोभार डाँडा’ काे विषयमा काठमाडौंमा बसेका सायदैलाई थाहा नहोला। याे डाँडा किर्तिपुर नगरपालिका–६ मा पर्छ। काठमाडौंको काेलाहलदेखि नजिकै कुनै मनोरञ्जन लिने ठाउँ छ भने त्याे चाेभार पनि हाे।

मनोरञ्जन लिने एक उपयुक्त ठाउँका रुपमा परिचित चोभार डाँडा अहिले फोहोरको डङ्गुरमा छ। ‘डेटिङ’ जानेदेखि गीतको भिडियो सुटिङ, फिल्मको सुटिङका लागि रोजाइमा पर्ने याे डाँडामा फोहोर भरिँदै गएको छ। जताततै प्लाष्टिक फालिएको छ। सिसाका बोतलहरु छरपस्ट पारिएको छ। फुटेका सिसाका टुक्राहरु प्रायः ठाउँमा भेटिन्छन्।

‘चोभार डाँडा’ फिनिक स्थल पनि हो। यहाँ घुम्न जानेहरुले जथाभाबी फोहोर फाल्दा चोभार डाँडाको सौन्दर्यमाथि धब्बा लाग्दै गएको छ। विशेष गरी गर्मीयाममा राजधानीवासीहरू याे डाँडामा घुम्न जाने गर्छन्। साँझको समयमा डाँडामा बसेर सितल हावा लिनेहरु दैनिक करिब २०० को संख्यामा आउने गरेको स्थानीय बताउँछन्।

चोभार डाँडाकाबारेमा सुनेर कोही पहिलो पटक घुम्न आएमा फोहोर देखेपछि अर्को पटक आउनलाई अनइच्छुक हुन सक्छन्। यसरी सबैको रोजाइमा पर्ने चोभार डाँडा फोहोरको डङ्गुरमा पर्दासमेत सरसफाइमा ध्यान भने कसैको पुग्न सकेकाे छैन।

चोभार डाँडा नजिकै मञ्जुश्री पार्क छ। यहाँ पनि दैनिकजसाे पर्यटकहरु घुम्न आउने गर्छन्। यो पार्क सुन्दर पनि छ (यद्यपि यस पार्कको प्रवेश शुल्क ५० रुपैयाँ छ)। तर नजिकै रहेको चोभार डाँडामा फोहोरको धब्बा बसेको भएपनि कसैको ध्यान जान सकेको छैन।

कीर्तिपुर नगरपालिका–६ का वडाध्यक्ष खीरमानसिंह बस्नेत पृथ्वीले काठमाडौंबाट समेत कतिपयले रातिमा चोभार डाँडामा फोहोर फालिदिने गरेकाले फोहोर व्यवस्थापन गर्न कठिन भएको बताए। ‘हामीले स्थानीय क्लव, प्रहरीको सहभागितामा सरसफाई गर्दै आइरहेका छौँ,’ उनी भन्छन्, ‘तर कतिपयले काठमाडौंबाट ल्याएर फोहोर फालिदिने गर्दा समस्या भएको छ।’

घुम्न आएकाहरुमा फोहोर फाल्नु हुँदैन भन्ने चेतना नभएसम्म डाँडामा फोहोर व्यवस्थापन गर्न कठिन रहेको वडाध्यक्ष बस्नेत बताउँछन्। उनले भने, ‘हामीले स्थानीयलाई सम्झाउन सक्छौँ। फाेहोर नफाल्न पनि भनेका छौँ। तर घुम्न आएकाहरुमा पनि फाहोर गर्नु हुँदैन भन्ने चेतना नभएसम्म फोहोर भइरहन्छ।’

प्रकाशित मिति: : 2023-05-13 20:00:00

प्रतिकृया दिनुहोस्