अमेरिका कति दूरः काँडेतारकाे छेउमै अड्किएका छन् आप्रवासीहरू

Reuters
Reuters

'टाइटल–४२' महामारीकालीन नियम गत बिहीबार मध्यरातबाट अन्त्य भएपछि होमल्याण्ड सेक्युरिटी सेक्रेटरी तथा क्युबाका पूर्वशरणार्थी अलेजान्ड्रो मायोरकासले आप्रवासीहरूलाई कडा चेतावनी दिँदै भनेका छन्, 'वैध बाटो प्रयोग नगरी सीमामा पुग्नेहरूलाई शरणका लागि अयोग्य ठानिनेछ।'

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले आप्रवासीमाथि कडा र थप प्रतिबन्धात्मक नीति अपनाइरहेकाे छ। प्रशासनले शुक्रबारदेखि आप्रवासीहरूले अमेरिका प्रवेश गर्नुअघि अर्को देशमा शरणार्थीको दर्जाको लागि अनुरोध नगरेमा शरण लिन नपाउने नियम लागू गरेकाे अधिकारीहरू बताउँछन्।

आप्रवासीहरू रियो ग्रान्डे नदीको किनारमा भेला भएका छन्। सीमापर्खाल नजिकै सुतिरहेका छन्। उनीहरू पालो कुरेर अमेरिकी भूमिमा पस्ने पर्खाँइमा छन्। खुला हावामा 'अमेरिकी सपना' पर्खिरहेका छन्, आप्रवासीहरू।

कानूनी अड्चनमा फसेका छन्, उनीहरू। सपनाकाे भारी बाेकेर भियतनाम, अफगानिस्तान, कोलम्बिया, भारत र नेपालबाट हिँडेरै अमेरिकी मुखमा पुगेका हजाराैँ आप्रवासीहरूले सीमाक्षेत्रमा तनाब झेलिरहेका छन्।

आप्रवासीहरू अमेरिकी भन्सार र सीमा सुरक्षा अधिकारीहरूकहाँ जाने आशामा लगभग एक हप्तादेखि अड्किएका छन्।

राष्ट्रपति बाइडेनको प्रशासनले टाइटल–४२ को अन्त गर्दै कडा नियम लागू गरेपनि अमेरिका र मेक्सिको सीमामा शरणार्थी हुन चाहनेहरूको भीड उस्तै छ। आप्रवासीहरू दिनप्रतिदिन थपिएकै छन्।

अधिकारीहरूले अमेरिकी जमिन टेक्न नदिएपछि आप्रवासीहरूले काँडेतारकाे छेउमा डेरा जमाएर छन्।

विश्वभरबाट जाेतिँदै–ठाकिँदै आइपुगेका आप्रवासीहरूकाे ठूलाे संख्या छ। उनीहरू भाेकभाेकै छन्। आप्रवासीहरू सीमाक्षेत्रमा थपिने क्रम जारी छ। लुकिछिपी अमेरिका प्रवेस गर्ने र आफूलाई शरणार्थी दाबी गर्नेहरूको लर्कोमा नेपाली र भारतीयहरू पनि छन्।

अमेरिकी जीवनको लोभमा मानवतस्करको पछि लागेर अमेरिका आउनेहरूको पीडाको कथा लामो र कष्टदायक छ। कतिपय त यात्रा गर्दागर्दै बाटोमै मर्छन्। अहिले अमेरिका–मेक्सिकोको दक्षिणी पर्खालमा सबैभन्दा धेरै भीडभाड छ। सीमा पार गर्न तुलनात्मक रूपमा दक्षिणी भेग सजिलाे मानिन्छ। त्यहाँ केही खाली ठाउँ छ, जहाँ पर्खाल चढ्न सहज छ।

प्रश्न— सपनाले मानिसलाई कहाँसम्म लैजान्छ?

उत्तर— लैजाँदाे रहेछ जंगलै–जंगलकाे बाटाे हिँडाएर मेक्सिको–अमेरिका सीमाक्षेत्रसम्मै।

प्रकाशित मिति: : 2023-05-16 05:45:00

प्रतिकृया दिनुहोस्