संस्कृत विश्वविद्यालयका अनुसन्धान कृति वेभसाइटमा राख्ने तयारी

नेपाल संस्कृत विश्वविद्यालयबाट प्रकाशित अनुसन्धानमुलक शास्त्री, आचार्य र विद्यावारिधिका कृतिहरू वेभसाइडमा राख्ने तयारी गरिएको छ। अध्ययन अनुसन्धानलाई प्रविधिमैत्री बनाउनका लागि त्यस्ता कृतिहरूलाई वेभसाइडमा राख्ने तयारी गरिएको  विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडाले बताए।

संस्कृत शिक्षालाई समाजसँग जोड्नका लागि स्थापत्य शास्त्र, विधिशास्त्र, वास्तुशास्त्र अध्ययनका लागि पाठ्यक्रम तयार पारिएको पनि जानकारी दिए।कुलसचिव प्राध्यापक माधव अधिकारीले विश्वविद्यालयले प्रत्येक क्याम्पसमा महिनामा एक पटक अनुसन्धानमुलक गोष्ठी आयोजना गर्नुपर्ने बाध्यकारी नियम बनाउन थालिएको बताए।

यस्तै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले संस्कृत वाङ्मयको विकास, विस्तारका लागि यसको क्षेत्रलाई अझ फराकिलो बनाउँदै लैजान सके समाजसँग सजिलै जोडिन सकिने बताए। उनले संस्कृत विश्वविद्यालयलाई संसारकै पुस्तकालयकारूपमा विकास गर्नका लागि आग्रह गरे।

सांस्कृतिक केन्द्रका कार्यकारी निर्देशक जर्मन चौधरीले अनुसन्धान, खोजको क्षेत्र निकै चुनौतिपूर्ण रहेता पनि प्राध्यापनका क्षेत्रका अनिवार्य रहेको बताए। पूर्व शिक्षाध्यक्ष प्रा.डा.भागवत शर्माले अनुसन्धानको शीर्षकबाट नै धेरै कुराको अर्थ राखिने भएकाले शीर्षकचयनमा विशेष ख्याल राख्नुपर्ने बताए।

यसैबीच नेपाल संस्कृत विश्वविद्यालय सम्बद्ध अनुसन्धान व्यवस्थापन इकाइको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा नेपाल संस्कृत विश्वविद्यालयसहित त्रिभुवन विश्वविद्यालयका क्याम्पसका शिक्षकहरूका लागि अनुसन्धान व्यवस्थापन क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सुरु भएको छ। अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा.सुदनकुमार पौडेलको अध्यक्षता एवम विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडाको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो।

 

प्रकाशित मिति: : 2023-06-16 17:45:00

प्रतिकृया दिनुहोस्