बालसाहित्य समाजको २८औँ वार्षिक सम्मेलन मंसिर दाेस्राे सातामा गर्ने सहमति

नेपाल बालसाहित्य समाजको २८औँ वार्षिक सम्मेलन प्युठानस्थित जनता माध्यमिक विद्यालयमा आगामी मङ्सिरको दोस्रो सातामा आयोजना गर्न स्थानीय सरोकारवाला संस्थाहरू सहमत भएका छन्। नेपाल बालसाहित्य समाजका महासचिव विजयराज आचार्यको उपस्थितिमा आज (बिहीबार) प्युठानमा भएको सरोकारवाला संस्थाहरूको बैठकमा सो सहमति भएको हो।

बैठकले साहित्य परिषद् प्युठान, राप्ती साहित्य परिषद् प्युठान शाखा, प्युठान नगरपालिका, मल्लरानी गाउँपालिका, जनता मावि वाग्दुला, उद्योग वाणिज्य संघ प्युठान, नेपाल पत्रकार महासंघ प्युठान शाखा, कालिका विकास केन्द्र र नेवा: खल प्युठान  स्थानीय आयोजक रहने निर्णय पनि गरेको छ।

बैठकमा साहित्य परिषद् प्युठानका निवर्तमान अध्यक्ष गेहराज थापा, राप्ती साहित्य परिषद् प्युठानका अध्यक्ष विमला खनाल, जनता माध्यमिक विद्यालय-वाग्दुलाका सहायक प्रधानाध्यापक केशवराज पण्डित, उद्योग वाणिज्य सङ्घ प्युठानका महासचिव सन्देश आचार्य, नेपाल पत्रकार महासङ्घ प्युठान शाखाका अध्यक्ष सञ्जय रिजाल, जेष्ठ नागरिक जिल्ला सङ्घ प्युठानका अध्यक्ष गेहराज शर्मा र कालिका विकास केन्द्रका कार्यक्रम संयोजक सरोज श्रेष्ठको समुपस्थिति थियो।

बैठकले नेपाल बालसाहित्य समाजको २८औँ सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक व्यवस्थापनका लागि राप्ती साहित्य परिषद् प्युठानका उपाध्यक्ष विमला खनालको संयोजकत्वमा सबै संस्थाका एक/एक प्रतिनिधि रहने गरी स्थानीय स्तरको मूल आयोजक समिति पनि गठन गर्‍यो।

बैठकले नेपाल पत्रकार महासंघ प्युठान शाखाका अध्यक्ष सञ्जय रिजालको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, उद्योग वाणिज्य संघ प्युठानका महासचिव सन्देश आचार्यको संयोजकत्वमा आर्थिक उपसमिति र जनता माविका प्रधानाध्यापक इन्द्रमणि पोखरेलको संयोजकत्वमा व्यवस्थापन उपसमिति पनि गठन गरेको छ।

प्रकाशित मिति: : 2023-06-22 20:51:00

प्रतिकृया दिनुहोस्