खतरनाक एक्सनले भरिएको ‘कन्धार’ (भिडियाे)

फेलोन (२००८), सट कलर (२०२७), ग्रीनल्यान्ड (२०२०) जस्ता सिनेमा निर्देशन गरेर आफ्नो छुट्टै पहिचान बनाएका रिक रोमन वाले आफ्नो पछिल्लो सिनेमा ‘कन्धार’ मा उच्चस्तरको प्रविधि प्रयोग गर्नुको साथै एकसे एक महँगा कलाकारहरुलाई अभिनय गराएका छन्। तर स्क्रिप्टमा ध्यान नदिएर वा दिन नसक्दा सिनेमा नुन नभएकाे खल्लो तरकारी जस्तो भएको छ।

पछिल्लो महिना सिनेमा हलहरुमा रिलिज भएर अपेक्षाकृत सफलता हासिल गर्न नसकेको यो सिनेमालाई अमेजन प्राइम भिडियोलगायतका ओटीटी प्लेटफर्महरुमा पुन: रिलिज गरिएको छ।

सिनेमाको कथा इरानबाट सुरु हुन्छ। अमेरिकाले आफ्नो योग्य सीआइए एजेन्ट टम ह्यारिस (जेरार्ड बटलर) लाई इरानको आणविक अनुसन्धान केन्द्र ध्वस्त पार्न पठाउँछ। यो योजना सफलतापूर्वक समाप्त पारेर टम ह्यारिस दुबईको बाटो हुँदै आफ्नो घर लन्डन आउन लागेको समयमा बीचबाटैमा अमेरिकी सरकारले अफगानिस्तान अर्को योजनामा जाने निर्देशन दिन्छ। जसको लागि उसलाई मोटो पारिश्रमिक प्रदान गरिएको छ।

यो पटक टम ह्यारिससँगै भाषा सहयोगीको रुपमा मोहम्मद (नवीद निगहबान) लाई पनि पठाइएको छ। टम ह्यारिस हेरातको बाटो अफगानिस्तान प्रवेश गर्छ तर त्यसै समय टेलिभिजनहरुमा इरानको आणविक अनुसन्धान केन्द्र विस्फोट गर्ने मान्छे यो हो भनेर टम ह्यारिसको फोटो देखाइन्छ। जब इरानी र पाकिस्तानी सरकारलाई टम ह्यारिस अफगानिस्तानमा रहेको थाहा हुन्छ। पाकिस्तानी सरकारको तर्फबाट एजेन्ट काहिल नसीर (अली फजल) लाई टम ह्यारिसलाई पक्राउ गर्ने जिम्मेवारी दिइन्छ। के काहिल नसिर टम ह्यारिसलाई पक्राउ गर्न सफल हुन्छन्? त्यसको जवाफ पाउन सिनेमा नै हेर्नुपर्छ।

सुन्दर लोकेशन, मुटु हल्लाउने एक्सन र भिज्युल तथा स्पेसल इफेक्ट्स हुँदाहुँदै पनि स्क्रिप्टले दर्शकको ध्यान तान्न र पात्रहरुको चरित्र चित्रण सिलसिलेवार ढंगबाट हुन नसक्दा दर्शाहरु बेलाबेलामा अल्मलिन सक्छन्। यो निर्देशकको कमजोरी हो। सिनेमाको कथा पूर्वसैनिक अधिकारी मिचेल लाफाँर्च्यूनले आफू अफगानिस्तानमा कार्यरत हुँदाको अनुभवलाई आधार मानेर लेखेका हुन्, जो सन्तोषजनक मात्र छ।

सिनेमोटोग्राफर मेक ग्रेगरले धेरै जसो दृश्य अँध्यारोमा खिचेका छन्। डेभिड बुकलेको सङ्गीत र डायन हर्सलेको एक्सन अत्यन्तै उच्च स्तरको छ। कलाकारहरुको अभिनयको कुरा गर्दा सिनेमामा सबै महँगा र सुपरस्टार भएको कारण सबैको अभिनय सन्तोषजनक छ भन्न सकिन्छ।

एउटा राम्रो वृतचित्र निर्माण गर्न सकिने कथालाई कथानक सिनेमा बनाएर निर्देशकले आफ्नो इच्छा पूरा गरेका छन्। तर पंक्तिकारको विचारमा समग्र रुपले दर्शकहरुलाई धोका भएको छ। यति हुँदाहुँदै पनि तपाईं एक्सन सिनेमाको पारखी हुनुहुन्छ भने एक पटक हेर्दा मनोरन्जन हुने कुरालाई नकार्न सकिन्न।
@twitter#naviinr

प्रकाशित मिति: : 2023-06-23 17:23:00

प्रतिकृया दिनुहोस्