जुम्लामा जेष्ठ नागरिक लक्षित निःशुल्क आयुर्वेदिक फार्मेसी स्थापना

जुम्लामा जेष्ठ नागरिक लक्षित निःशुल्क आयुर्वेदिक फार्मेसी स्थापना गरिएको छ। आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाकाे सहयाेगमा जेष्ठ नागरिकको उपचारमा सहजता प्रदान गर्न आयुर्वेद फार्मेसी स्थापना गरिएकाे हाे।

जेष्ठ नागरिकको उपचारमा सहजता प्रदान गर्न आयुर्वेदिकमार्फत फार्मेसी स्थापना गर्नु महत्वपूर्ण कदम भएकाे जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले बताए।

'यसको स्थापना भएर मात्र हुँदैन, त्यसलाई निरन्तरताको खाँचो छ,' उनले भने, 'म जेष्ठ नागरिकको हक अधिकारको लागि सदैव लाग्नेछु।'

उनका अनुसार हाल आयुर्वेद स्वास्थ्य केन्द्रले फार्मेसी स्थापना गरेपनि आगामी दिनमा यसलाई निरन्तरता दिन जिल्लाका सबै स्थानीय तहले सहयोग गर्नुपर्ने हुन्छ।

बुढेसकालमा नागरिकलाई साइड इफेक्ट नगर्ने औषधिहरु चाहिने भएकाे हुँदा आयुर्वेदिक फार्मेसी स्थापना गरिएकाे आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका निमित्त प्रमुख दन्द प्रसाद न्यौपानेले बताए।

'जेष्ठ नागरिकको स्वास्थ्य रक्षाको लागि फार्मेसी खोलिएकाे हाे,' उनले भने, 'आयुर्वेद स्वास्थ्य केन्द्र टाढा भएको हुनाले बजारमै सेवा प्रदान गर्नको लागि फार्मेसी  स्थापना गरिएकाे हाे।'

उनका अनुसार जिल्लास्थित वृद्धाश्रममा आउने भएकाे हुनाले यसमा सुविधाहरु थप गरेर व्यवस्थित बनाउँदै लैजाने याेजना रहेकाे छ। यसका लागि सबैकाे सहयोग आवश्यक  रहेको छ।

जेष्ठ नागरिकले आयुर्वेदको सेवा लिन सहज बाटोको पहुँच हुन आवश्यक रहेको चन्दननाथ नगरपालिका-१० का वडाध्यक्ष नवराज शाही बताए। उनले भने, 'फार्मेसीमा अपांगता  भएका व्यक्तिहरूको पनि पहुँच पुग्नुपर्छ।'

आफूहरुका निम्ति आयुर्वेद  फार्मेसी खोल्दा खुशी लागेको जेष्ठ नागरिक भवानी प्रसाद न्यौपानेले बताए। उनले भने, 'हामीले  पाउने सेवा सुविधाबाट अझै पनि बञ्चित हुन परेकोले याे विषयमा सरोकारवाला निकायको सहयोग  आवश्यकता छ।' 

गुठीचौर गाउँपालिकाका-२ का जेष्ठ नागरिक सिंह बहादुर बोहोराले जेष्ठ नागरिकले अर्काको आश र भरोसामा बाँच्न पर्ने अवस्था आउने भएकोले सहयोग आवश्यक रहेको बताए। 'भविष्यको पुस्तालाई बाटो देखाउनको लागि आफूले जानेको कुरा सिकाउनेछाैं,' उनले भने।

चन्दननाथ नगरपालिका -९ का पूर्व वडाध्यक्ष मिन बहादुर डाँगीले जिल्लामा ९ हजार ४ सय ८ जना जेष्ठ नागरिक रहेको  हुनाले उनीहरु सबैलाई निःशुल्क सेवा प्रदान गरिनुपर्ने बताए।

जेष्ठ नागरिक संघ जुम्लाका कार्यवाहक अध्यक्ष तुलराम न्यौपानेले प्रत्येक महिनाको २१ गते औषधि दिँइदै आएकोमा अहिले फार्मेसी खोलेर नियमित सेवा दिन सकिने बताए।

प्रकाशित मिति: : 2023-06-27 11:02:00

प्रतिकृया दिनुहोस्