सिटिजन बैंकको ‘ग्राहकमारा योजना’ले उजाडिएका परिवार (भिडियोसहित)

कमल विक

काठमाडौं
BreaknLinks
BreaknLinks

जनकपुरका रवीन्द्रकुमार मण्डलले २०७५ सालमा काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित नरेफाँटमा पाँचतले घर किने। २ करोड ७० लाखमा जयबहादुर कार्कीसँग घर किनेका रवीन्द्रलाई १ करोड रकम अपुग भयो। त्यसपछि सिटिजन बैंकको नयाँ बानेश्वर शाखाबाट ‘घर आवास कर्जा’ अन्तर्गत १ करोड ऋण लिए।

जनकपुर बसेर उनले निर्माण क्षेत्रमा काम गर्छन्। ठेक्का पट्टाको काम गर्दै आएका रवीन्द्रले सिटिजन बैंकलाई मासिक १ लाख २७ हजारको दरले किस्ता बुझाउँदै आएका थिए।

तर, त्यही क्रममा कोरोना महामारी सुरु भयो, रवीन्द्रको ठेक्का पट्टाको काम ठप्पै भयो। कोरोना महामारीको समयमा पनि उनले सरसापट गरेर बैंकको किस्ता तिरिरहेका थिए। त्यही क्रममा बिरामी भएर देशकै महंगो नेपाल मेडिसिटी अस्पतालमा ६ महिनासम्म उपचारका लागि बस्नुपर्‍यो।

एकातिर कोरोना महामारीको कारण उत्पन्न आर्थिक संकट, अर्कातिर बिरामी ज्यान, रवीन्द्रले सिटिजन बैंकको किस्ता बुझाउन सकेनन्। १ वर्षसम्म किस्ता बुझाउन नसकेपछि बैंकले घर लिलाम गरिदियो।

चार वर्षअघि २ करोड ७० लाखमा मण्डल परिवारले किनेको घर सिटिजन बैंकले लिलाममार्फत् आफ्नै कर्मचारी शैलेन्द्र पाण्डेलाई २ करोड ८५ लाखमा बेच्यो। तत्कालको बजार मूल्यअनुसार पाँच करोड पर्ने आफ्नो घर सिटिजन बैंकले ‘सेटिङ’ गरेर कौडीको भाउमा आफ्नै कर्मचारीलाई दियो।

‘बैंकमा मेरो एक करोड तीन लाख मात्रै लोन थियो। यो घर अहिले पाँच करोडको छ। तर, त्यति (२ करोड ८५ लाख)मै लिलामी गरिदियो,’ रवीन्द्रकी श्रीमती अम्बिकाकुमारी मण्डलले भनिन्।

सिटिजन बैंकले त्यो घर ‘सेटिङ’मार्फत आफ्नै कर्मचारीलाई दिलाउने गरी हडप्न त हडप्यो नै, त्यसपछि पनि घर बिक्रीपछि ऋण कटाएर आफूले पाउनुपर्ने रकम बैंकले फिर्ता नगरेको रवीन्द्र बताउँछन्।

‘यसै पनि पाँच करोड पर्ने हाम्रो घर बैंकले सस्तोमा बेचिदियो, त्यसपछि उसले हामीले पाउनुपर्ने रकम फिर्ता गरेन,’ रवीन्द्रले भने।

बैंकबाट १ करोड ऋण लिएको, त्यसबापत लाग्ने ब्याज पनि जोड्दा १ करोड १७ लाख हुने भए पनि बैंकले आफ्नो घर २ करोड ८५ लाखमा बेचेपछि आफूले तिर्नुपर्ने रकम १ करोड १७ लाख कटाएर बाँकी रहेको रकम फिर्ता गर्नुपर्ने हो। तर बैंकले के दिन्थ्यो।

रवीन्द्रले भनेअनुसार सिटिजन बैंकले तिर्न बाँकी ऋण र ब्याज कटाएर १ करोड ६८ लाख रकम फिर्ता गर्नुपर्ने हुन्छ।

सिटिजन बैंकले ग्राहकको सम्पत्ति योजनाबद्ध तरिकाले हडप्ने गरी ‘ग्राहकमारा’ योजनाअनुसार फसाएको महसुस गरी मण्डल परिवारले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। तर, त्यो मुद्दा विचाराधीन अवस्था रहँदा थप जटिलता उत्पन्न भएको छ।

... अनि सुरु हुन्छ पाण्डे परिवारको ज्यादती

विचाराधीन मुद्दा र त्यसको छिनोफानो नलाग्दासम्म घर नछाड्ने मण्डल परिवारको अडान छ। अहिले उक्त घर रवीन्द्रकी श्रीमती अम्बिका, दुई बच्चा र भाइका छोराले सम्हालिरहेका छन् अनि अरू परिवार पनि भाडामा बसेका छन्। 

मण्डल परिवारले घर खाली गर्नुपर्ने र त्यहाँ भाडामा बसेका १४ परिवारले दिने कोठा भाडाबापतको रकम आफूहरुले पाउनुपर्ने दाबी पाण्डे परिवारले गर्दै आएको छ। पाण्डे परिवारले दाबी मात्रै होइन, त्यहाँ भाडामा बस्ने परिवारलाई दुर्व्यवहार गर्दै धम्की दिएको कोठा भाडामा लिएर बस्नेहरू बताउँछन्। 

‘उहाँ बेलुका र बिहान दुबै टाइममा आएर टर्चर गर्नुहुन्छ कलेज जाने टाइममा पनि, अनि बेलुका आएर पनि पैसा देऊ नत्र भने रुम छाड नत्र भने ट्वाइलेट स्वाइलेट फुटाल्दिन्छु, भन्नुहुन्छ’, गत पुस महिनादेखि कोठा भाडामा बस्दै आएकी सर्लाहीकी पिंकी यादवले भनिन्, ‘हामी फ्रिमा त बसेको होइन, तर यहाँ चार दिनदेखि लाइन छैन, पढ्न अप्ठ्यारो भइरहेको छ।’ सोही घरमा बस्ने अर्की महिलालाई शैलेन्द्रले हातपातसमेत गरेका थिए।

एउटा कोठाको भाडा दुई घरबेटीले मागेर हैरान पार्दा आफूहरु समस्यामा परेका पिंकीको भनाइ छ।

त्यस्तै शैलेन्द्र पाण्डेका बुबा अशोक पाण्डे राति–राति कोठामा छिर्ने गरेको अम्बिकाले बताइन्। ‘अस्ति राति शैलेन्द्र पाण्डेको बुबा आए, राति ८–९ बजेतिर, मैले लुगा फेर्नलाई ढोका लगाएकी थिएँ, लात्ताले हानेर पूरै खोल्दिए,’ उनले भनिन्, ‘यसरी राति–राति आएर टर्चर दिन्छन्।’

अम्बिकाले आफूले ‘टर्चर’ सहन नसकेर प्रहरीलाई रिपोर्ट गरेको तर प्रहरीले पारिवारिक कुरा भएको भन्दै बेवास्ता गरेको पनि सुनाइन्।

सोही घरमा बस्दै आएका अरूले पनि पाण्डे परिवारले घर खाली गराउनको लागि गुण्डाहरु लगाएर समेत धम्काउन लगाएको बताउँछन्। ‘पाण्डेले यो घर खाली गराउनेलाई जीवनभर एउटा कोठामा भाडामा दिन्छु भन्नुभएको छ रे,’ नाम नखुलाउने सर्तमा एक जना डेरावालाले भने।

शैलेन्द्र भने आफ्नो घरबाट अरुलाई हटाउन खोज्नु स्वभाविक भएको तर्क गर्छन्। 

‘मैले कसैलाई दुर्व्यवहार गरेको छैन। अहिले हामी नै अन्यायमा परेका छौँ। लोन लिएर किनेको घर भोगचलन गर्न पाएका छैनौँ,’ उनले भने। उनले मण्डल परिवारका कारण आफूहरु नै थप समस्यामा परेको बताए।

अन्धकार भयो घर

नेपाल विद्युत प्राधिकरणले लाइन (बिजुली) काटिदिएपछि अहिले उक्त घर अन्धकार भएको छ।

मण्डल परिवारले किन्नुअघि उक्त घरमा जयबहादुर कार्कीले आफ्नो नामबाट विद्युतीय मिटरसहित लाइन जोडेका थिए। उनले घर बेचेको ४ वर्षसम्म पनि आफ्नो नाममा भएको मिटरको नामसारी गराएका थिएनन्। भने, मण्डल परिवारले पनि त्यसप्रति चासो दिएको थिएन।

तर, गत शुक्रबार नेपाल विद्युत प्राधिकरण मध्य बानेश्वरको टोली पुगेर बिजुलीको मिटर निकालेर ल्यायो। त्यसपछि घर अन्धकारमा छ, जस कारण १५ परिवारले सास्ती भोग्नु परेको छ।

मण्डललाई घर बेचेका कार्कीले आफ्नो नामको विद्युतीय मिटर आवश्यक नभएको भनी विद्युत कार्यालयमा निवेदन दिएपछि विद्युत प्राधिकरणको टोलीले लाइन काटेको हो।

आफूहरुलाई धपाउने योजनाअनुसार पाण्डले कार्कीलाई उस्काएर लाइन काट्न लगाएको मण्डल परिवारको आरोप छ।

कार्कीले त्यहाँ रहेको आफ्नो नामको मिटरबारे चासो नभएको तर शैलेन्द्र पाण्डेले मिटर निकाल्न भनेर दबाब दिएपछि आफू बाध्य भएर विद्युत प्राधिकरणलाई निवेदन बुझाएको र सोहीअनुसार लाइन काट्ने काम भएको बताए।

‘मलाई त त्यति वास्ता थिएन तर पाण्डेज्यूले एक पटक कार्यालयमै आएर र दुई पटक घरमा नै आएर त्यो मिटर हटाउनुपर्‍यो भनेर दबाब दिनुभएपछि विद्युतलाई निवेदन दिएको हुँ,’ कार्कीले भने ,‘उहाँ (पाण्डे)ले नै विद्युत कार्यालय लैजानुभएको हो।’

पाण्डे परिवारले आफूहरुमाथि अन्याय गरेको र आफूलाई हटाएर घर हडप्ने योजनासहित मानवीयता पनि नहेरी अनावश्यक सक्रियता देखाएर आफूलाई अँध्यारोमा बस्न बाध्य बनाएको बताउँछ।

मुद्दाको छिनोफानो नहुँदै यसरी अमानवीय व्यवहार गर्नु कानुनविपरीत भएको भन्दै मण्डल परिवारले शैलेन्द्र पाण्डे र जयबहादुर कार्कीलाई विपक्षी बनाएर सोमबार अदालतमा रिट दायर गरेको छ।

त्यस्तै दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’की अध्यक्ष मण्डल सदस्य ईशा खड्काले यसरी ठुलो परिवारलाई अँध्यरोमा बस्न बाध्य बनाउनु गैरकानुनी र गैरजिम्मेवार कार्य भएको बताउँछिन्। ‘सरकारी विद्युत भनेको त राज्य हो, बैंक पो प्राइभेट हो तर राज्य पनि यी बैंकका मालिकहरुसँग मिलेको देखियो। त्यसकारण विद्युत अफिसले बैंक मालिकसँग मिलेर आफ्ना नागरिकमाथि अन्याय गरेको छ,’ खड्काले भनिन्।

भिडियाे :

प्रकाशित मिति: : 2023-07-05 21:40:00

प्रतिकृया दिनुहोस्