‘सामान्य पेट दुख्दा पनि विदेश धाउने राष्ट्रपतिभन्दा देशको माया गर्ने राजा नै ठिक’

संघीयता, धर्मनिरपेक्षताको विरोध गर्दै पुन: राजतन्त्र स्थापनाको मागमा छ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)। यद्यपि, अहिलेको गणतन्त्रको आलोचनात्मक समर्थन गरेको भन्ने राप्रपाले स्थानीय तहदेखि प्रदेश, संघसम्म गणतन्त्रवादी दलहरूसँग प्रतिस्पर्धा गर्छ।

आज हामीले राप्रपाका सहायक महामन्त्री विजय खड्कालाई राप्रपाको भोलिको योजना, सरकारमा बस्दा र प्रतिपक्षमा बस्दाको अवस्थालगायत राष्ट्रिय राजनीतिका बारेमा कुराकानी गरेका छौँ।

प्रस्तुत छ, बिएल नेपाली सेवाका लागि सहायक महामन्त्री खड्कासँग टाेपेन्द्र राेका मगरले गरेको कुराकानीको सम्पादित अंशः

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजतन्त्रको वकालत गर्छ। तर राजतन्त्र विरोधी दलको साथ लागेर अवसर पाएमा सरकारमा जाने पनि गर्छ। तपाईंहरूले बोकेको धार के हो? अहिले कहाँ छ राप्रपा?

मुलत: अहिले राप्रपा मुलुकको अग्रणी पार्टीका रुपमा विकास भइरहेको छ। निर्वाचनअघि केन्द्रीय महाधिवेशनपछि पार्टीमा नयाँ नेतृत्व आएसँगै पार्टीले गति लिएको छ। पार्टीले स्थानीय तहदेखि संसदसम्म आशातित सफलता हासिल गरेको छ।

हामीले संसदमा जसरी एकबाट १४ र ४ बाट २८ सिट, जसरी प्रतिनिधि र प्रदेशसभामा गरी ४२ सिट प्राप्त गरेका छौँ, यसले हामीले सोचेअनुसार नभएपनि आशा भने जगाएको छ। यसले भोलि राष्ट्रियता, हिन्दु राष्ट्र बचाउनका लागि राप्रपाले काम गर्नेछ।

अहिले देशमा बाहिरी शक्तिको विभिन्न नाममा हस्तक्षम बढिरहेको छ। तर संसदमा राप्रपाको भूमिका कम देखिएको भन्ने छ। के प्रतिपक्ष दलमा राप्रपा कमजोर भएको कि, एमाले भएर राप्रपालाई हाइसन्चो भएको हो?

हामीले एमाले, काँग्रेसलाई एउटा कित्ताको रुपमा लिएका छौँ। राप्रपा देशको धर्म संस्कृति, देशको स्थायित्वका लागि, परिवर्तनका लागि बनेको पार्टी हो। त्यसकारण काँग्रेस, एमाले, माओवादी जो पनि प्रतिपक्षमा हुनु वा उनीहरू सत्तापक्षमा हुनुले हामीलाई केही फरक पर्दैन।

मुलुकको रक्षाका लागि राप्रपा नै हो। तपाईंले भनेको प्रतिपक्षमा राप्रपाको भूमिका कमजोर भएको हो कि भन्ने म त्यति सान्दर्भिक ठान्दिनँ। संसदमा थोरै सांसदसहित राप्रपा प्रतिपक्षमा भएपनि संसदमा प्रतिपक्षको भूमिका राप्रपाले थामेको छ भन्ने मलाई लाग्छ। राप्रपा प्रतिपक्षमा नभएको भए प्रतिपक्षको भूमिका नै हराउँथ्यो भन्ने लाग्छ मलाई।

सरकारले अहिले राम्रो काम गरिरहेको छ भन्ने एक पक्ष छ। तपाईंहरू संसदमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने मात्र हो कि राम्रा काममको समर्थन पनि  गर्ने हो?

राप्रपा रचनात्मक प्रतिपक्षमा छ। संसारभरका नेपाली खुशी हुने काममा राप्रपाले सरकारलाई सहयोग नै गर्छ। तर अहिले सरकारले विदेशीको खेलाैना जसरी काम गरिरहेको छ। यसले स्थायित्व दिन सकिरहेको छैन। आर्थिक रुपमा देशलाई श्रीलंकाको अवस्थामा पुर्याइरहेको छ।

अहिले हेर्दा लाग्छ, मुलुकलाई अब युक्रेनको जस्तो युद्धमा फसाउने हुन् कि भन्ने। देशमा बस्न सक्ने अवस्था नभएर पलायन भइरहेका छन्। यसले गर्दा हामीले सरकारको विरोध गरिरहेका छौँ।

नागरिकता विधेयक जसरी पास भयो र विरोध पनि भयो तर राप्रपाले संसदमा प्रष्ट धारणा दिएन, किन?

नागरिकताको विषयमा धेरै पहिलेदेखि राप्रपाको एउटा अडान छ। बरु आज बिहे गरेमा भोलि नागरिकता पाउने वा सिन्दुरसँग नागरिकता साट्ने कामको हामी सधैं विरोध गर्छौँ। हामीले नेपालीले विदेशमा गएमा जसरी नागरिकता पाउँछन्, त्यसरी नै विदेशीहरूले पनि यहाँ नागरिकता पाउने व्यवस्था हुनुपर्छ भनेको मात्र हो।

सरकार बन्दा गणतन्त्रवादी प्रचण्ड (प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’) नेतृत्वकाे सरकारमा जानुभयो। मन्त्री पनि बन्नुभयो। के तपाईंहरूले बोक्ने हिन्दु राज्य, राजतन्त्र, संघीयता विरोधी मुद्दा कमजोर भएको हो? चरित्रमाथि दाग लागेको जस्तो लाग्दैन?

२०६२/६३ को जनआन्दोलनबाट जसरी भारतको इशारामा १२ बुँदे सम्झौता भएर यो संविधान आयो, यसको हामीले आलोचनात्मक समर्थन गरेका छौँ। अहिले काँग्रेस, एमाले, माओवादी एउटा कित्तामा र राप्रपा सानै भएपनि अर्को कित्तामा छ।

हामीले अहिले के भनेका छौँ भने एउटा राष्ट्रियता र समृद्धिको कुरा छ, यसमा हामीलाई काँग्रेस, माओवादी र एमाले जसको सरकारमा गएपनि एकै ठानेका छौँ। हामीले राष्ट्रिय आवश्यकता ठानेपछि जसको सरकारमा पनि सहभागी हुन्छौँ। देशको आवश्यकता समृद्धिका लागि हामी जहिले पनि जोसँग पनि सरकारमा हुन सक्छौँ। त्यसैअनुरुप ४२ दिन जसरी प्रचण्डको सरकारमा बस्यौँ, त्यहाँ हामीले नराम्रो केही गरेका छैनौँ। यो हाम्रो लागि खुशीको कुरा हो।

राजतन्त्रको वकालतै नगर्ने दलहरूसँग हातेमालो गरेर तपाईंहरूले भनेको संवैधानिक राजतन्त्र फर्काउन सम्भव देख्नुहुन्छ?

हामीले अहिले बोकेको मुद्दा होइन राजतन्त्रको। २०६२/६३ को आन्दोलनपछि राजतन्त्रको अन्त्य भयो, त्यस समयदेखि नै हामी एउटै अडानमा छौँ। अहिले राजतन्त्रप्रति नयाँ पुस्ता विस्तारै आकर्षित हुँदैछ। अहिलेका जति पनि राष्ट्रपति छन्, उनीहरू कति दलीय छन् भन्ने देखिएकै छ।

राजाले भन्दा उनीहरूले मुलुकको सम्पत्तिमा हालिमुहाली गरेका छन्। पेट दुखेमा विदेशमा उपचार गर्न जाने राष्ट्रपतिभन्दा देशको माया गर्ने राजा आउनु स्वभावैले राम्रो हो। यसमा निरन्तर हामीले वकालत गरेका छौँ। एक दिन सबैले बुझेपछि राजतन्त्र फर्किन्छ।

छिमेकी देश भारतमा हिन्दुको वकालत गर्ने भारतीय जनता पार्टी (भाजपा)ले देशको नेतृत्व गरेको छ। ठुलो लोकतान्त्रिक मुलुकमा हिन्दुवादी दलले नेतृत्व गरेको भारतमा धेरै कमिकमजोरी देखिए। अल्पसंख्यक, फरक समुदायका मानिसहरू, फरक धर्मका मानिसहरू आज थिचोमिचोमा छन्। नेपालमा पनि हिन्दु मान्नेहरू धेरै छन्। हिन्दु राष्ट्र स्थापना, राजतन्त्र पुनर्स्थापनाले भारतको जस्तै नियती यता नहोला भन्ने आधार त छैन नि?

यहाँ एकात्मक शासन व्यवस्था हुँदा पनि विभिन्न धर्मावलम्बीहरू मिलेर बसेको अवस्था थियो। पञ्चायत, बहुदलमा मात्र होइन, अहिलेको गणतन्त्रमा पनि धर्मका नाममा विभिन्न खाले खेल भएपनि यहाँको धार्मिक सहिष्णुताले गर्दा नेपालमा सबै धर्ममान्नेहरू मिलेर बस्न सक्छन् भन्ने पुष्टि हुन्छ।

भारतमा हिन्दुहरूको बाहुल्यता रहेपनि पाकिस्तान, बंगलादेश छुट्टिँदाखेरी एउटा मुस्लिमहरूको बाहुल्यता थियो। भारतमै पनि अहिले मुस्लिमहरूको बाहुल्यता छ। त्यहाँ हिन्दु मुस्लिमको द्वन्द्व भइरहेको हो। त्यसैले भारतको र हाम्रो भू-राजनीति फरक छ। भारतमा हिन्दु राष्ट्रपनि थिएन। तर हाम्रोमा हिन्दु राष्ट्र कायम भइरहेको र यहाँ धार्मिक सहिष्णुता निरन्तर भइरहेको अवस्थामा यहाँ हिन्दु राष्ट्र बनाउँदैमा त्यस्तो सोच्न सकिँदैन।

धर्म सापेक्ष पनि हुन्न। निरपेक्ष पनि हुन्न र स्वतन्त्र हुन्छ भनिन्छ। राजनीति गर्नका लागि धर्मलाई जोड्नु हुँदैन। राजनीति एक ठाउँमा, धर्म अर्को ठाउँमा छ भन्नेहरू पनि छन्। राजनीतिक रोटी सेक्नका लागि धर्मलाई किन जोडेको राप्रपाले?

तपाईंले गर्नुभएको प्रश्न एक तहमा ठिकै पनि हो। तर जसले यहाँ धर्मनिरपेक्षता लाद्ने काम गरे नि, त्यो नै ठिक थिएन। अहिले विश्वका ८१ राष्ट्रमा इसाई धर्म छ। लगभग ५१ राष्ट्रमा इस्लाम राष्ट्र छ। ९ देशमा बुद्धिष्ट राष्ट्र छ। एक राष्ट्रमा यहुदी पनि छ। भनेपछि अरुले संसारका विभिन्न देशमा धर्मका नाममा राष्ट्र राख्ने, राष्ट्रपति हुँदा बाइबल छुने, पुराणमा छोएर सपथ ग्रहण गर्ने तर जुन एउटा हिन्दु बाहुल्यता रहेको छ, यहाँ चाहिँ धर्मनिरपेक्ष हुनुपर्छ भन्ने त्यो नै सान्दर्भिकता मिलेन।

अर्को कुरा के हो भने ८१ प्रतिशत हिन्दु भएपछि त्यो धर्मनिरपेक्ष हुन सक्दैन। धार्मिक स्वतन्त्रता होला, अरु चिज होला तर  हामी निरपेक्ष होइन। धर्म भनेको एउटा वाद हो। हामी कोही पनि धर्म नमान्ने स्वतन्त्र हुन्थ्यौँ भने धर्मनिरपेक्ष भन्ने हुन्थ्यो?

यहाँ ८१ प्रतिशत हिन्दु भएको ठाउँमा धर्मनिरपेक्ष भन्ने नै भएन। धर्मनिरपेक्ष भन्ने नै विदेशीबाट आयातित शब्द हो र खतरानाक हो। त्यो शब्दलाई प्रतिस्थापन गरेर हामीले हिन्दु मात्र भनेका छैनौँ। बैद्धिक सनातनसहितको हिन्दु राष्ट्र भनेको हो।

सरकारको नेतृत्वमा जाँदादेखि प्रचण्ड दाैरा सुरुवाल लगाउनेदेखि भारतको महाकालेश्वर पुगेर दर्शन वा पशुपति मन्दिर पुगेको होस्, उनी पनि हिन्दु बनेको देखेर तपाईंहरूलाई कस्तो लागेको छ?

एउटा के हो भने प्रचण्ड पार्टी नेतृत्व एउटा हो र प्रधानमन्त्रीको रुपमा गरेको कार्य अर्को हो। उहाँले बहुलजाति हिन्दु मान्नेहरूको सम्मानका लागि जे गर्नुभयो, त्यो सकारात्मक कुरा हो। तर उहाँले हाम्रो बेद, किताब च्यातेर फाल्नुभयो। हाम्रो धर्मलाई फाल्नका लागि उहाँले जे गर्नुभयो, त्यसबाट रुपान्तर भएर आउने कुरा हाम्रा लागि स्वागतयोग्य कुरा हो।

प्रचण्डले जसरी, एकजना भारतीय व्यापारी आफूलाई प्रधानमन्त्री बनाउन भारतसम्म धाएको कुरा बोल्नुभयो। तपाईंहरूलाई उहाँको बोली कति सत्य लागेको छ?

प्रचण्डले जे बोल्नुभयो, त्यसको विरोध गर्दछु। नेपालको राष्ट्रियताको खिलाप हो। म यहाँबाट नै प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छ भन्ने माग गर्दछु। जसले नेपालको प्रधानमन्त्री विदेशीले बनाउँछ भनेर अभिव्यक्ति दिनुभयो, त्यो अभिव्यक्ति पार्टीको अध्यक्ष बन्न पनि सुहाउँदैन।

युक्रेन र रुस युद्ध जारी छ। हामी युक्रेनको पक्षमा उभिएका छौँ। तर रुसमा पढ्न गएका युवाहरू युक्रेनका विरुद्धमा लड्न रसियन सेनामा भर्ति भइरहेका छन्। यस विषय सरकारको विषय किन बन्न नसकेका हो?

असंलग्न परराष्ट्र नीति पहिले अंगालेका थियौँ। तर त्यही ठाउँमा छैनौँ। रुसी सेनामा भएका युवाहरूलाई सरकारले सत्यतथ्य पत्ता लगाएर उद्धार गर्नुपर्छ। युवाहरू कुनै समय रोजिरोटीका लागि बाहिरी देशको सेनामा भर्ती हुनुपर्ने बाध्यता थियो। आजको २१औँ सताब्दीमा पनि युवाहलाई देशमा बस्ने वातावरण नहुनु दुःखद हो। युवाहरूलाई देशमा नै रोजगारी सृजना गरेर यहाँ नै बस्ने वातावरण बनाउनुपर्छ।

राप्रपालाई प्रतिगमनकारी भन्ने आरोप लाग्छ। युवाहरूको बुझाइलाई कस्तो पाउनुभएको छ?

हामी खासमा सेन्टर राइटस् पार्टी हौँ। विश्वमा एक पटक वामपन्थीहरूको बढवा थियो। अहिले खासमा यही सेन्टर राइटस् पार्टीको बढोत्तरी छ। वा भनौँ राष्ट्रवाद मान्ने पार्टीको बढवा छ। नेपालमा अहिले हामी अलि कमजोर भएपनि विस्तारै हाम्रो मान्यतामा नेपालीहरू गोलबन्द हुनेछन्।

युवाहरूलाई त हामीले विशेष प्राथमिकतामा राखेकै छौँ र युवाहरूलाई राप्रपाले प्रशस्त अवसरहरू दिन्छ। नेपालमा मात्र होइन, प्रवाह क्षेत्रका युवाहरूलाई पनि हामीसँग गोलबन्द हुन आग्रह गर्दछु।

तपाईंले युवाहरूलई अवसर छ भन्दै गर्दा कमल थापा जस्तो पार्टीलाई आजको स्थितिमा ल्याउने महत्वपूर्ण नेता त राप्रपामा अटाउन सकेनन् नि?

हाम्रो पछिल्लो महाधिवेशनबाटै राप्रपालाई युवामय बनाउने चिन्तनमा छौँ। म के भन्छु भने क्षमता, योग्यता पार्टीलाई नेतृत्व गर्न सक्ने व्यक्तिहरू आए भने हामी उनीहरूलाई नेता मान्न तयार छौँ। हाम्रो चिन्तन के हो भने नेतृत्वमा सधैं बस्नुपर्छ भन्ने होइन। हाम्रो मूल्य र मान्यता स्थापित होस् भन्ने मात्र हो।

अर्को कमल थापाको कुरा उठाउनुभयो। उहाँ एकदमै क्षमतावान मान्छे हो म मान्छु पनि तर पछिल्लो महाधिवेशनमा उहाँ अध्यक्षमा पराजित हुनुभयो र उहाँ आफैँ बाहिर जानुभएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदय आक्रमक छ। जसका कारण राप्रपालाई धक्का महसुस भएको छैन?

यो विषय कस्तो हो भने नविनतम युवाहरूलाई राजनीतिक दिशा दिन सक्षम भएको छ। तर उहाँहरूको रंग, विचार छुट्टिएको छैन र भोलि के हुने हो भन्ने थाहा छैन। त्यसैले जनतामा रास्वपा कस्तो पार्टी भन्ने प्रष्ट छैन। राप्रपाको जस्तो विचार भएको रास्वपा होइन। त्यसैले भोलि दुर्घटनामा पनि नजाला भन्न सकिँदैन।

प्रकाशित मिति: : 2023-07-07 21:30:00

प्रतिकृया दिनुहोस्