दसैं विशेष

...त्यसपछि जुम्लामा दसैं अनिवार्य भयाे

१२औँ शताब्दीको मध्यतिर नागराजले खडा गरेको सिञ्जा साम्राज्यको भूगोलमा त्यसभन्दा अगाडि स-साना राज्यहरू भएको अनुमान छ। कति आफ्नै प्रशासन भएका साना समूह पनि थिए भने कति गाई, भैंसी पाल्ने पाल वंशीय राजाहरूले राज गरेको अनुमान छ। विस्तृत व्याख्या गर्ने अभिलेखहरू कहिँ कतै नभेटिएका हुनाले यी अनुमान मात्रै हुन सकेका छन्। त्यसैले गाउँ-ठाउँका नाम र फरक-फरक संस्कृति नै तथ्यसम्म पुग्ने मेसो हुन्।

जुम्ला उपत्यकाका बस्तीभन्दा सिञ्जा उपत्यकाका बस्तीहरू पूराना हुन्। हालको जुम्ला उपत्यकाको असी र पान सय दराको हाँकुसम्म त्यसबेला तीन वटा तालहरू थिए। जसलाई दाना दह, याला दह र लामीरह नामाकरण गरिएको थियो। रह र दह दुबैकाे अर्थ ताल हाे। हालको सिञ्जा उपत्यकामा भएको ताल अगाडि नै फुटेको हुनाले बस्ती विकास पनि अगाडि नै भएको हो। त्यसैले नागराजले उतै मुकाम बनाएर राज्य विस्तार गरी साम्राज्य खडा गरे।

धेरैले जुम्ला उपत्यका फराकिलो र मिलेको भइकन पनि नागराजले यता किन मुकाम बनाएनन् होला भनि प्रश्न गरेका छन्। त्यतिबेला जुम्ला उपत्यका तालै तालले भरिभराउ थियो भनेर जवाफ दिन सकिन्छ।

सिञ्जा साम्राज्य विघटन भइसकेपछि जुम्ला राज्य स्थापना भएको हो। बलिराजले यो राज्य स्थापना गरेका हुन्। यसको सुरूको मुकाम अहिलेको सुनार गाउँमा थियो। सुनार गाउँमा सुनारहरु थिए भन्ने अनुमान छ। त्यो ठाउँ माथि भनिएका तीन वटा तालभन्दा पनि टाढा पर्छ। त्यहाँको मष्टो शक्तिशाली ‘सुनारगाँ मष्टो’ नामले चिनिन्छ। तीन वटै ताल फुटिसकेपछि मात्रै अहिले जिल्ला प्रशासन कार्यालय रहेको ठाउँ छिनासिमलाई जुम्ला राज्यको मुकाम तोकी राजकाज चलाइएको हो।

जुम्ला उपत्यका ती तीन वटा तालले भरिभराउ हुँदा पनि त्यसको छेउमा एउटा बस्ती थियो। त्यसलाई छिना गाउँ भनिन्थ्यो। त्यो जुम्ला उपत्यकाको सबैभन्दा पुरानो बस्ती भएको प्रमाण अहिलेसम्म अस्तित्वमा रहेका ठाउँ र गाउँको नामले प्रष्ट पार्छ। जस्तै छिना गाउँ, छिनासिम (अहिलेको खलंगा बजार, जहाँ छिनालका गाई घोडा चर्ने चरन क्षेत्र थियो), छिना साँघु र छिना लाग्ना (पाटन)।

हालको छिना गाउँका सुरूका बासिन्दा सुनारहरू हुन्। अहिले बसोबास गरिरहेका रावल, योगी, थापा थरका मान्छेहरू बाहिरबाट बसाइ सरि आएका हुन्। छिनाका मात्रै होइन सिञ्जामा समेत खसहरू आउनुभन्दा पहिला हालका सार्की, कामी, दमाई र पाखाका क्षेत्रीहरूको बसोबास थियो। पाखाका क्षेत्रीहरुलाई पावै भनिन्छ। उनीहरू कर्णालीका मुल बासी हुन्।

सिञ्जा साम्राज्य स्थापना हुनभन्दा पहिलाका मुलबासीहरू मष्टो (प्रकृति पुजक, समुदाय) पुजक हुन्। मष्टो परम्पराको सबैभन्दा ठुलो पर्व भनेकै पुनि(पुर्णिमा) हो। वर्षभरिका १२ वटा पुनिमध्ये चार वटा वैशाख, साउन, कात्तिक र माघ पुनिमा विशेष पूजा लाग्छन्। यी पू जाअघि र पछि ठुला जात्रा लाग्ने, देउडा लगाएर रमाइलो गर्ने आदि गरिन्छ। अन्य पुनिमा १२ भाइ मष्टो र नौ दुर्गा भवानीलाई सम्झने गरिन्छ। मष्टो परम्परामा पुनिबाहेक अन्य पर्व भेटिदैनन्। यसर्थ मष्टो परम्परामा दसैं मनाउने चलन थिएन।

सिञ्जा साम्राज्य खडा गरेका खसहरू तिब्बतबाट सिञ्जा आएकाे बुझिन्छ। उनीहरुसँगै बौद्ध धर्म पनि आएकाे थियाे। उनीहरू बौद्ध धर्मावलम्बी भएका थुप्रै प्रमाण छन्। सिञ्जा साम्राज्यबारे अध्ययन गरेका लेखक अध्येताहरु पनि यसमा सहमत छन्। हालसम्म पनि अस्तित्वमा रहेका अधिकांश देवलहरूको निर्माणशैली बौद्ध धर्मको कलासँग मेल खान्छ। जुम्ला मिचा र त्यस आसपास तथा सिञ्जामा रहेका पञ्च देवाल, दैलेखको भुर्तिमा रहेका पञ्च देवल, सुर्खेत काँख्रे बिहार आदिको निर्माणशैलीले त्यही पुष्टि गर्छ। त्यस्तै कैयौं शिलालेखहरूमा ‘ओम मणि पद्मे हुँ,’ ‘ओम नमो बुद्धाय’ लेखिएको पाइन्छ। बौद्धमार्गीहरू दसैं मान्दैनन्। त्यसैले खस साम्राज्यमा सुरूवाती चरणमा दसैं मान्ने चलन थिएन।

सिञ्जा साम्राज्यको सीमा बिस्तार हुँदै गएपछि खसहरू विभिन्न धर्मका संस्कृतिसँग पनि नजिक भए। भारतीय उपमहाद्विप अन्तर्गत हालको भारतमा हिन्दू धर्मको प्रभाव पहिलेदेखि नै बढी थियो। नेपाल उपत्यका(हालको काठमाडौं) मा पनि हिन्दू धर्मको प्रभाव बढ्दै थियो।

पछि राजा क्राचल्लदेवले कुमाउँ विजय गरेर सिञ्जा साम्राज्यमा मिलाएपछि हिन्दू धर्मसँग झनै सामिप्यता बढ्यो। त्यसपछि हिन्दूहरूले पूजा गर्ने मन्दिरहरू पनि बनाउन थाले। जस्तै अछामको विनायक मन्दिर, गढवालको गुप्तेश्वरमा रहेको कृष्णको मन्दिर, शिवको मन्दिर आदि। त्यहाँ बनाएको एउटा ठुलो त्रिशूलमा खस सम्राट्को नाम उल्लेख भएबाट ती मन्दिरहरू खस साम्राज्यताका बनेको स्पष्ट हुन्छ।

यसरी खसहरूले पछि आएर मात्रै हिन्दू धर्म अंगालेका हुन्। जसको उदाहरण जुम्लाको ओदी र लेकपुरको रहेका लामा विष्णुका थानलाई लिन सकिन्छ। लामा बुद्ध धर्मका देउता हुन् भने विष्णु हिन्दू धर्मका देउता। हिन्दू र बौद्ध दुवै धर्मावलम्बीका एकै देउता लामा विष्णु हुन्। यी दुबै धर्मका देउताका थान हुनु भनेकाे मष्टाे परम्परा हाे। कति थानमा पतुर्ने लामा र विष्णुका फरक–फरक धामी हुन्छन् भने कति थानमा पतुर्ने धामी एउटै हुन्छ। जसले हिन्दु र बाैद्ध धर्म तथा मष्टाे परम्परा अंगाल्ने सबैका मनोकांक्षा पूरा गर्छ भन्ने विश्वास छ।

खस साम्राज्य हिन्दू धर्मसँग नजिक हुनुको अर्को कारण नेपाल राज्यसँग(हालकाे काठमाडौं)को व्यापारिक सम्बन्ध पनि हो। राजा क्राचल्लदेवकै पालामा नेपाल राज्यसँग व्यापारिक सम्बन्ध प्रगाढ भएको इतिहासमा पाइन्छ। त्यस्तै नेपाल खस साम्राज्यभन्दा निकै सानो मुलुक भएपनि संस्कृतिको हिसाबले धनि थियो। त्यहाँ पनि हिन्दू धर्मको प्रभाव अलि पहिलेदेखि नै देखिन्छ।

मष्टो पूजकहरूको पुनि मनाउने संस्कृति हालसम्म पनि कायम रहनुले अहिले मनाउँदै आएका चाडपर्व विभिन्न संस्कृति अंगाल्ने क्रममा थपिँदै गएका हुन् भन्ने जनाउँछ। जस्तै हिन्दू धर्म मात्रै मान्नेहरू मष्टो पूजा गर्ने, थान बनाउने, धामी पतुराउने, तीर्थ भक्त गर्ने गर्दैनन्। हिन्दू धर्मका आफ्नै चालचलनहरू मात्रै मान्छन्। भारतका धेरैजसो हिन्दूहरू त्यस्ता छन्। तर, खस साम्राज्यको सीमाना भित्रका नागरिक आज पनि मष्टो संस्कृतिका पर्व, बुद्ध धर्मका देउतादेखि हिन्दू धर्मका चाडबाड पनि सँगै मनाउँदै आएका छन्।

यो ऐतिहासिक तथ्यले दसैंसँग सिञ्जा साम्राज्यको साइनो स्पष्ट पार्छ। हिन्दू धर्मलाई अपनाउने क्रममा दसैं मनाउने चलन भित्रिएको हो। तर, दसैं सुरूमै अनिवार्य थिएन न त दसैंलाई दसैं नै भनेर मनाउन थालिएको हो। सिञ्जामा हालसम्म पनि दसैंको दिनलाई शिउरी पिठा भन्ने चलन छ। यो नाम रहनुको पछाडि पनि यहाँको भूगोल र खेतीपाती जोडिएको छ।

मानिसले सधैँभरि आफूलाई शक्ति प्रदान गर्ने अन्नको पूजा गर्दै आएको छ। कर्णाली क्षेत्रमा बस्तीको विकास पाखाबाट सर्दै तल झरेर जिउलासम्म पुगेर भएको हो। त्यसैले सुरूको बस्ती पाखामा (लेकमा) थियो। पाखामा जौं र फापर मात्रै फल्छ। त्यसैले यस भेकमा पहिला चालको टीका लगाउने प्रचलन थिएन। चामलको सट्टा पिठो लगाउने चलन थियो।

जुम्लामा जौं, गहुँ, मकै, कोदो आदि सबैको पिठोलाई पिठो नभनेर धुलो भनिन्छ भने फापरको पिठोलाई मात्र पिठो भनिन्छ। फापरको रंग फिक्का पहँलो हुन्छ, त्यसमा बेसार मिसाएर टीका बनाउँदा आकर्षक देखिने हुनाले नै पीठोको टीका लगाउन थालिएको हो। त्यसैले पुनि पडेवामा पूजा लगाउँदा, तीर्थ यात्रा गर्दा, बिहे गर्दा, व्यापार जानेबेला र व्यापार गरी घर फर्किदा, लडाइँमा जानेबेला र लडाइँ जित्दा पिठा लगाउने चलन छ। त्यो चलन अहिले पनि कायम छ।

अहिले चामलको टीका र अबिर लगाउन थालिए पनि त्यसलाई अन्यत्र जस्तो टीका नभनी पिठा भनिन्छ। त्यसैले दसैंको नाम शिउरी पिठा रहन गएको हो।

पृथ्वी मल्लको संवत् १४९३ को कनकपत्र (सुनका पातामा अंकित अभिलेख)मा छत्तीस करमा पिठायो, पटाली भनी उल्लेख गरिएको छ। पिठायो भनेको फापरको पिठो हो जुन राज्यलाई करको रूपमा बुझाउने गरिन्थ्यो। फापर शक्तिवर्द्धक अन्न भएकाले पनि यसलाई पूजास्वरूप निधारमा लगाउने गरिएको हो।

कालिका पूराणमा कलियुगमा कलिको पूजा गर्नुपर्नेछ भनी लेखिएको छ। त्यसैले नेपालभर कालिका मन्दिरहरू निर्माण गरिएको छन् र त्यहाँ बली चढाउने चलन छ। कनकासुन्दरी गढी माइको थानमा दशमीको बेला व्यापक रुपमा बली दिइन्छ। डोल्पाको त्रिपुरा सुन्दरीमा झन् धेरै बली चढाइन्छ। बली चढाउने काम दशमीको दिन हुने हुनाले पनि दसैं मनाउने चलन थियो भन्न सकिन्छ। तर, अनिवार्य भने थिएन।

अनिवार्य रुपमा दसैं मनाउने चलन भने गोर्खालीहरूले जुम्ला राज्य जितेपछि मात्रै भएको हो। युद्धमा शोभान शाहीले अन्तिम समयसम्म पनि हार मानेका थिएनन्। पराजित भइसकेपछि पनि उनले बेलाबेला विद्रोहको प्रयास गरिरहे। २३ असोज १८४६ मा गोर्खालीहरूले जुम्ला राज्यको केन्द्र छिनासीम जिते पनि जुम्ला, मुगु र हुम्लाका गाउँतिर गोर्खालीविरुद्ध विद्रोह भइरहेका थिए। अन्तिममा गोर्खालीहरूले हुम्लामा समेत आक्रमण गरेपछि शोभान शाही तिब्बत भागे। उनी भागिसकेपछि पनि गोर्खालीहरूले जुम्लीहरूलाई मारकाटको शृङ्खला नै चलाए।

तत्कालीन सत्ताका नायव रणबहादुर शाहले सोही वर्षकै ८ माघमा जुम्लाका सुबांगी भक्ति थापालाई पत्र पठाए। त्यस पत्रमा ‘…ठाना हाल (किल्ला बनाउ), झारजंगल पस्याकालाई कुर हान, रसद षोल, बाह्र वर्षदेखि उभोकालाई साफ गर, जहान बच्चालाई बस्तीमा बसाव…’ भनी निर्मम निर्देशन दिएका छन्।

त्यसपछि चलेको मारकाट र हत्याहिंसाको शृङ्खलादेखि डराएका जनताका प्रतिनिधिले गोर्खालीहरूको जीत भयो भनी सम्झौता गरेका थिए। त्यसबेला जनताका प्रतिनिधिले गोर्खालीको जीत भएको र जुम्लीको हार भएको भनी घोषणा गरेको कुरा गीतमा पनि लिपिबद्ध छ। उक्त गीत यस्तो थियो-

‘भातु खायो शोभान शाहीले, ताउली हाल्या कुम्ला।
जितिहाल्यौ गोरखाय, जनी मार जुम्ला।’

यो गीतले ‘जनताबाट कर उठाएर राजा शोभान शाहीले खाए। खाने, पकाउने सामान बोकेर उनी भागिहाले। गोर्खालीहरू जित तिम्रै भयो। तर, यसरी जुम्ली जनता नमार’ भनेको छ। त्यसपछि गार्खालीहरूसँग सम्झौता भएको हो। सम्झौतापछि हालको चन्दननाथको मन्दिरमा भएका चार लिंगामा हरेक वर्ष ५२ हातको लिंगोसँगै २६ हातको जय स्तम्भ(विजय स्तम्भ) ठड्याउने सहमति भएको थियो।

लिंगा ठड्याउने दिनबाट नै दसैं औपचारिक रुपमा सुरू हुने हुनाले दसैं अनिवार्य भयो। तथापि हालसम्म पनि दसैंको दिनलाई शिउरी पिठाको दिन भन्ने चलन छ। पछि पिठाको विकल्पमा चामल र रङको प्रयोग गर्न थालियो। जब जुम्लामा भान खेतीकाे विकास र विस्तार भयाे।

प्रकाशित मिति: : 2022-10-05 19:00:00

प्रतिकृया दिनुहोस्

    लेख राम्राे छ, २ ठाउँ Typing mistake भाकाे छ । लेख सन्दर्भमूलक छ ।

    • एक महिना अगाडि
    • खडानन्द चाैलागाई