'नदी सप्तक' कविता शृङ्खला- ९

म कालीगण्डकी हुँ

कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै। यो त आफैँमा जागरण पनि हो। चेत पहिल्याउने बाटो पनि हो। कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी। अर्को नदी अर्थात् कालीगण्डकी। यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौं हामीले।

नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी। ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरुले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन्। पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैंमा विशिष्ट नदी हो। यससँग लाखौं मानिसहरुको जीवन जोडिएको छ। स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ।

दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ। नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन्।

दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ। नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ। यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ।

त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ।

त्यसलाई कवितामार्फत मुखरित गर्न ’कालीगण्डकी बचाऔँ अभियान’ले 'नदी सप्तक श्रृङखला' (आन्दोलन कविता) सुरू गरेकाे छ।

यस अन्तर्गत नवाैँ श्रृंखलामा कवि  राेशन परियारकाे कविताः

म कालीगण्डकी हुँ

मेरा जन्मदाताले दिएको स्वतन्त्रतामाथि
तिम्रो अवरोध, आक्रमण र अतिक्रमण सह्य छैन मलाई

मेरो पवित्रता पिएर
मेरै अनुहारभरि जुठो छर्ने अधिकार 
कसले दियो तिमीलाई ?

मुक्तिनाथमा पाप पखाल्छौ, बिनासर्त बगाइदिएको छु
कागबेनीमा प्रसाद चढाउँछौ, पितृसम्म पुर्याइदिएको छु

तिम्रा कलिला छोराछोरी जस्ता
अनगिन्ती नाबालक जीवहरुको प्राण छ मभित्र
मार्न चाहन्छौ ?
तिम्रो विज्ञानको अनुसन्धानले कहिल्यै नभेट्ने 
अनमोल वस्तुहरुको अस्तित्व छ मभित्र
मेट्न चाहन्छौ ?
तिम्रो आस्थाले पुज्ने ईश्वर जस्तै 
शालिग्रामको खानी छ मभित्र
पुर्न चाहन्छौ ?
तिम्रो भूगोलको क्यानभासमा 
प्रकृतिले पोतेको सर्वोत्तम सुन्दरता हुँ म
के बिगार्यो् मेरो सुन्दरताले ?

तिम्रा मिर्गौला जस्तै हुन् मेरा गिटीहरु
तिम्रो फोक्सो जस्तै हो मेरो बालुवा
तिम्रो मुटुको चाल जस्तै हो मेरो जीवनको गति 
निकालेर शरीरबाट अंगहरु
किन मार्न चाहन्छौ मलाई ?

तिमीले तिम्रो भाषामा मेरो मौनतालाई दोहन गर्छौ भने
सम्झ मैले मेरो भाषामा बोलेको दिन 
तिम्रो मानव सृष्टिको अन्त्येष्टि निश्चित छ
तिमीले टेक्ने जमिनको समाप्ति निश्चित छ

म कालीगण्डकी हुँ
मेरो स्वभावको अर्थ 
मैले भन्दा ज्यादा तिमीले बुझेको हुनुपर्छ 
कृपया !
मलाई लुछेर मेरो धैर्यको परीक्षा लिन बन्द गर ।

यसलाई पाेस्टरमा पनि पढ्न सकिन्छः

प्रकाशित मिति: : 2021-09-27 17:52:00

प्रतिकृया दिनुहोस्