माथागढीका कर्मचारीमाथि अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न कर्मचारी यूनियन पाल्पाको माग  

पाल्पाको माथागढी गाउँपालिकामा कर्मचारीमाथि भएको दुर्व्यवहारप्रति नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति पाल्पाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

गाउँपालिकाको लेखा शाखामा भुक्तानीका लागि ढिला गरी तथा खाता बन्दीको अन्तिम समयमा प्राप्त भएका केही भुक्तानीहरु लेखा प्रणालीमा इन्ट्री गरेतापनि प्राविधिक कारण भुक्तानी प्रक्रिया पुरा हुन नसकेका विषयमा लेखा शाखामा कार्यरत कर्मचारीहरुलाई कार्यकक्षमै थुनछेक गर्ने प्रयास गर्दै गालीगलौज, अपशब्द, अभद्र व्यवहार, भौतिक आक्रमण गर्ने प्रयास एवं ज्यान मार्ने धम्की दिनु अमर्यादीत भएको ठहर गर्दै नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति पाल्पाले दोषीमाथि कारबाहीको माग गरेको छ।

कर्मचारी युनियन जिल्ला कार्य समिति पाल्पाका अध्यक्ष रवि अर्यालले एक प्रेस विज्ञप्ति जारी गर्दै जनताको सेवामा खटिइ इमान्दारीता पूर्वक कार्यसम्पादनमा लागि परेका राष्ट्रसेवक कर्मचारीमाथि कार्यस्थलमा भएको त्यस किसिमका अभद्र व्यवहार, हातपात एवं अवाञ्छित गतिविधिको घोर निन्दा एवं भर्त्सना गरिएको बताएका छन्।

निजामती कर्मचारीमाथि भएको अमानवीय घटनामा संलग्न दोषी माथि कारबाही नभए कर्मचारी युनियन पाल्पा सशक्त आन्दोलनमा जान बाध्य हुने समेत अध्यक्ष अर्यालले जिकिर गरेका छन्।

समस्या समाधाका लागि नितिगत एवं प्रणालीगत सुधारको पहल गर्नुको सट्टा सरकारको नीति निर्देशन तथा कानुनको पालना गरी कार्यसम्पादन गरिरहेका कर्मचारीहरुमाथि लेखा प्रणाली (सप्टवेर सिस्टम) को कारण भुत्तानी प्रक्रिया पूरा नभएको विषयलाई लिएर जनप्रतिनिधिको संलग्नतामा यस्ता गतिविधिहरु बन्द गरी कानुन हातमा लिने अराजक व्यक्ति तथा समूहलाई आवश्यक कानुनी कारबाहीका लागि माथागढी गाउँपालिका र सम्बन्धित सरोकारवालहरुसँग कर्मचारी युनियन जिल्ला कार्य समिति पाल्पाले मागसमेत राखेको अध्यक्ष अर्यालले बताए।

साथै सम्पूर्ण कार्यालयहरुमा भरपर्दो शान्ति सुरक्षाको व्यवस्था मिलाइ राष्ट्रसेवक कर्मचारीहरुले भयरहित तवरले कार्यसम्पादन गर्न सक्ने वातावारण सिर्जन गर्न जिल्लाका जिम्मेवार निकायहरु र नेपाल सरकारसमक्ष समेत कर्मचारी युनियनले जोडदार माग राखेको कर्मचारी युनियनका जिल्ला कार्य समिति पाल्पाले अपिल गरेको छ।

प्रकाशित मिति: : 2023-07-14 18:37:00

प्रतिकृया दिनुहोस्