नुनका लागि ज्यानकै बाजी (भिडियाेसहित)

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको प्राङ्गणमा पछिल्ला दिनहरूमा भिड निकै बढिरहेको छ।

चाहिएजति नुन नपाइने र भविष्यमा समेत नुनको अभाव हुनसक्ने हल्ला फैलिएपछि गाउँगाउँमा नुन ल्याउन आउनेहरूको भिड बढेको छ।

त्यही योजना अनुरुप नुन ल्याउन गएकी थिइन्, चन्दननाथ १० की झुन्का सार्की। साउने संक्रान्तिको अघिल्लो दिन लाइनमा लागेकी उनी नुन लिन ओर्लिएको भिड अनियन्त्रित भएपछि भएको हुलदंगाबाट धौधौ फुत्किएर ज्याने जोगाउन सफल भइन्।

‘नुन ल्याउन गएका हामीलाई ज्यान जोगाउन धौधौ भयो। मारामार गरे। ढुङ्गामुडा गरे, भिडदेखि हायलकायल भएकी उनले काँप्दै भनिन्, ‘यस्तो त कहिल्यै भएको थिएन।’

भिडबाट बच्नु नै असार ३१ गतेको उपलब्धि सम्झिने झुन्का जस्ता धेरै थिए। जसलाई लागिरहेको थियो, बरु नुन नपाइयोस्। तर ज्यान जोगाउन पाइयोस्।

स्वयंसेवकको भूमिकामा साल्ट ट्रेडिङको कार्यालय अगाडिको प्राङ्गणमा पुगेका चन्दननाथ-१ तलिचौरमा पुष्कर देवकोटाका अनुसार धेरै मानिस नुन पाउने आशमा लाइनमा बसेका थिए।

‘तर धेरैले नुन पाएनन्। धकाली पाए। कतिलाई चोट लाग्यो। नुन पाउन सहज नबनेपछि आक्रोश बढ्यो’, उनले भने, ‘परिस्थिति सम्हाल्नै नसक्ने बन्यो।’

स्थानीय दोभान शान्ति युवा क्लबले केही स्वयंसेवक खटाएर भिड नियन्त्रण गर्ने कोसिस गरिरहेको थियो। त्यसले दुई घण्टा जति व्यवस्थापन पनि गर्‍यो। त्यसपछि भने सानो शक्तिले भिड नियन्त्रण गर्ने स्थिति बनेन।

नुन लिन गएका अधिकांशले पर्खालबाट आ-आफ्ना मान्छे घुस्न थालेपछि आक्रोश पैदा भएको बताए। जसबाट अनियन्त्रित भिडले पक्षपात भएको हल्ला फैलाउँदै गयो।

आक्रोशित भिडले धकलमकल गर्दै ढोका फोड्यो। सबै भित्र छिरे। स्थिति निकै तनावपूर्ण भएपछि नुन साउन ५ गते मात्रै वितरण गर्न सकिने सूचना आयो। तर त्यसको केही समय पछि पुन: नुन वितरण गर्न थालियो।

त्यतिञ्जेल सशस्त्र प्रहरी त्यहाँ पुगिसकेको थियो। एकछिन शान्त भएको मास एकाएक तातियो। तोडफाड सुरु भयो। गोदामका सबै ढोका फोडिए।

‘कसैले नुन बोकेर भागे। केही भिडबाट फुत्किन नसकेर अल्झिए’, देवकोटाले भने, ‘त्यहीबेला पाँच जना मान्छे बेहोस भए।’

नुनको अभाव हुने र आफूले चाहेजति नपाउने भएपछि धेरैजसो स्थानीयहरु नुन वितरण गर्ने दिन लाइन लाग्न जान्छन्। तर स्थानीयले सोचेजस्तो नुनको अभाव नभएको साल्ट ट्रेडिङ कर्पोरेसन जुम्लाका प्रमुख खगेन्द्र मल्लले बताए।

‘अलि अगाडि हामीसँग नुनको मौज्दात कमैमात्रामा थियो। त्यसैले प्रतिव्यक्ति ३ किलो मात्रै नुन वितरण गरिरहेका छौं’, उनले भने, ‘तर असार ३१ पछि प्रतिव्यक्ति पाँच किलो नुन दिने निर्णय गरेका थियौं। त्यही दिनै लफडा भयो।’

उनका अनुसार सुरुमा लाइन व्यवस्थित नै थियो। पछि केही रक्सी सेवन गरेकाहरू बीचमा घुसेर अगाडि छिर्न थालेपछि भिडलाई उत्तेजित बनायो। ‘म हिजो सिञ्जा गएको थिएँ। पछि कर्मचारी र प्रहरीसँग बुझ्दा उहाँहरूले त्यही सुनाउनुभयो’, उनले भने।

जुम्लाका तिला, तातोपानी, चन्दननाथ, गुठीचौर र पातरासी पाँचवटा पालिकाको लागि जुम्ला विमानस्थल नजिकको डिपोबाटा नुन वितरण हुँदै आएको छ। जसका लागि वार्षिक छ हजार क्विन्टल नुन चाहिन्छ। तर अघिल्लो आर्थिक वर्षमा २५ सय क्विन्टलमात्रै हुँदा चाहिएजति नुन दिन नसकिएको प्रमुख मल्लले बताए।

‘अहिले भर्खरै दुई हजार ८० क्विन्टल नुन थपिएपछि अभाव छैन। म हिजो सिञ्जा नुन झार्न गएको थिएँ, उनले भने, ‘अगामी आवका लागि पनि तीन हजार क्वीन्टलको लागि टेन्डर भइसकेको छ। नुनको अभाव छैन।’

प्रकाशित मिति: : 2023-07-17 11:30:00

प्रतिकृया दिनुहोस्