देउवाले ‘लाइभ’ देखाइदिएको कांग्रेस र कांग्रेसी अनुहार

BreaknLinks
BreaknLinks

‘कुन विषय बन्द कोठामा गर्ने र कुन विषय खुल्ला गर्ने भन्ने कुराको परिधि तय गरिनुपर्थ्यो। मलाई लाग्छ परराष्ट्र, समसामयिक विषयहरू, अन्तरदलीय विषय, निर्वाचन रणनीति आदि कुराको स्पष्ट गाइडलाइन बनाऔँ,’ आइतबार केन्द्रीय समिति बैठकमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले भने, ‘अहिलेको विश्व लोकरिझ्याइँमा चलेको छ। सायद त्यसैको सिको हामी पनि गर्दैछौँ। केन्द्रीय समितिको बैठक लाइभ गर्नु त राम्रै हो र हाम्रा लागि नयाँ प्रयोग पनि हो। यसले पारदर्शितालाई प्रवर्द्धन त गरेको छ तर यो सुरु गर्दा कार्यविधि तय गरेर गरेको भए राम्रो हुने थियो जस्तोलाग्छ।

पटकपटक केन्द्रीय समिति बोलाउँदै पर सर्दै गएका कांग्रेस सभापति शेरबहादुर देउवाले अन्तत: साउन २ गते बैठक आह्वान गरे। केन्द्रीय समितिमा चुनिएकाहरू चौधौं अधिवेशनपछि लगभग ११ महिनापछि बल्ल एकै ठाउँ जुट्ने मौका पाएका थिए। 

त्यसको अघिल्लो दिन पदाधिकारीहरूलाई बोलाएर देउवा आफैंले प्रस्ताव गरे– केन्द्रीय समिति बैठक लाइभ गरौँ।

धेरैले आशंका गरे, अहो! देउवा गर्लान् र? सबलाई चकित पार्दै आएको देउवाको त्यो प्रस्तावमा आफैमा अनौठो थियो। कांग्रेसको बैठक लाईभ! त्यो पनि  देउवाकै प्रस्तावमा?

तर भयो त्यस्तै, नेपाली कांग्रेसको इतिहासमा केन्द्रीय समितिको बैठक नेपालमात्रै होइन, चासो राख्नेहरूले सारा विश्वभरिबाट प्रत्यक्ष देख्न र सुन्न पाए। 

प्रविधिको यो विधि खुफियाराज चलिरहेका बेला देउवा उदार देखिए। उदात्त देखिए। तर केन्द्रीय सदस्यहरूले भने ‘मनका कुरा पोख्न नपाएको’ गुनासो पनि गरे। 

वर्षदिनमा पहिलोचोटी बसेको कांग्रेस केन्द्रीय समित बैठक सानेपामा चलिरहेको छ।

बैठकमा के भइरहेको छ? कुन विषयमा बहस चलिरहेको छ? केन्द्रीय समितिका नेताहरू पार्टी बैठकमा के भन्दा रहेछन् जस्ताको त्यस्तै विश्व समुदायले हेरिरहेको छ। 

साउन २ गतेदेखि जारी बैठकमा घोचपेच पनि राम्रैसित चलिरहेको छ। घोचपेचमा सभापति देउवाको मात्र होइन, संस्थापनइतर समूहका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि छलिएका छैनन्। 

दशवटा विषयवस्तुमा विचार राख्नुपर्ने बैठकमा घोचपेचले लाइभ बैठकलाई थप रोचक बनाएको छ। कतिपय केन्द्रीय सदस्यले बैठक फेसबुकबाट लाइभ गरेकोमा असन्तुष्टि जनाएका छन्। 

फेसबुक लाइभले केही नेताहरूलाई आफ्नो मनको भाव राख्न नपाएको असन्तुष्टि त होला तर कांग्रेस रुपान्तरणको अभियान चलिरहेकै बेला सभापति देउवाले लाइभ गरेर कांग्रेस आधुनिकीकरणमा प्रवेश गरेको सन्देश दिएका छन्। 

केन्द्रीय समिति बैठकअघि अनलाइनबाट सदस्यता लिन सकिने व्यवस्था गरेका देउवाले कसैले सोच्दै नसोचेको बैठक लाइभ गरेर अनुनिकरणको थप झल्को दिएका छन्। ‘आम जनमानसमा कांग्रेस ठुलो पार्टी हो भन्ने छ साथमा बैठक लाइभले कांग्रेस आधुनिकिकरणमा गइरहेको छ भन्ने भएको छ,’ कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा केन्द्रीय सदस्य जीवनबहादुर शाहीले बैठकमा भने।  

शाहीले बैठक लाइभ हुँदा केन्द्रको कुरा सिधै गाउँमा पुगेकोमा खुशीसमेत व्यक्त गरे।

‘मेरो गाउँ हुम्लाबाट फोन गरेर सभापति यसरी बस्नुभएको थियो। महामन्त्रीहरू यसरी जानुभएको थियो। फलनाले कालो ब्याग बोक्नु भएको थियो भनेका छन्,’ उनले भने, ‘अब २००७ सालमा हामीले यो गर्याैं। १७ सालमा त्यो गर्यौं भनेर अहिलेको जेनेरेसनले सुन्नेवाला छैन। अहिलेको जेनेरेसनले हामीलाई के भयो। मैले केन्द्रमा भएको कुरा गाउँमा बसेर सुन्न पाए कि पाएनरु मेरा भावनाहरू व्यक्त गर्न पाएकि पाएन भन्ने अवस्था आइरहेको छ। हामी ढिलै भएपनि आधुनिकरणमा गइरहेका छौँ।’ 

देउवाले बैठक लाइभ गरेर नियन्त्रित अनुशासनसमेत सिकाएका छन्। पछिल्लो समय कांग्रेसमा देखिएको दुई गुटको प्रतिष्पर्धा केन्द्रीय समिति बैठकमा देखिने पक्का थियो। देउवाको राजिनामासमेत माग्ने पक्षम संस्थापनइतर समुह लागेको थियो। 

त्यही डरलाई रोक्न पनि देउवाले पार्टी बैठक सुरुहुनु अघिल्लो दिन लाइभ गर्ने प्रस्ताव सुनाएका थिए। यसले कांग्रेसमा देखिएका अनुशासनहीनतालाई रोकेको चर्चा हुने गरेको छ। भित्र एउटा कुरा गर्ने, बाहिर आएर अर्कै कुरा गर्ने परिपाटीलाई रोक्न देउवाले गरेको लाइभले छर्लङग पारिदिएको छ। 

कांग्रेस केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले कुन बैठक लाइभ गर्ने कुन नगर्ने भन्ने पार्टीले ध्यान दिनुपर्ने बताइन्। ‘कतिपय हाम्रो मिटिङहरू लाइभ पनि गर्नुपर्छ। पार्टी नै भएकाले कतिपय मिटिङहरू आफ्ना रणनीतिक कुराहरू राख्दा, राष्ट्रिय, अन्तर्राष्ट्रिय कुरा राख्दाखेरी विभिन्न दलहरूका कुरा राख्दाखेरी, यसरी लाइभ गर्नु ठिक हुँदैन कि भन्ने लाग्छ,’ उनले बैठकमा भनिन्। 

यसको अर्थ बैठक लाइभ नभएको भए न्यौपानेले थप कुरा सुनाउन चाहन्थिन्। लाइभ भएकैले आफ्नो कुरा राख्न नपाएको उनको वक्तव्यबाट प्रष्ट हुन्छ।

सहमहामन्त्री जीवन परियारले पार्टी बैठक लाइभ गर्नु सही नभएको बताए। उनले भने, ‘वैठकको प्रत्यक्ष प्रशारण मार्फत हामीले के सन्देश दियौँ। कमजोरी सबैका हुन्छन्। म तीन कुरा भन्न चाहन्छु। पार्टीभित्र एउटा देखाउने, एउटा लुकाउने र अर्को सच्याउने हुन्छ। आजसम्म हामीबाट भएका कमीकजोरी लुकाउँदै आयौँ। आज देखाउँदै छौँ। यी दुबै विकल्प उपयुक्त होइनन्।’ 

उनले बैठक लाइभले कुनै व्यक्तिलाई फाइदा पुग्न सक्ने बताउँदै सिंगो पार्टीलाई फाइदा नहुने बताए। ‘यो लाइभले व्यक्तिलाई फाइदा पुग्न सक्छ। तर सिंगो पार्टीलाई कदापी फाइदा पुगेको छैन,’ उनले भने।

प्रकाशित मिति: : 2023-07-23 21:40:00

प्रतिकृया दिनुहोस्