नागरिकतामा पुरुषलाई महिला बनाइदिने प्रशासन भन्छन्: भुलवश भएकाे हाे, सच्चाइन्छ

तस्बिर : फेसबुक/जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

आर्थिक वर्ष २०७८/०७९ मा कार्यसम्पादनमा देशमै दोस्रो स्थानमा परेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले नागरिकता प्रतिलिपि जारी गर्ने क्रममा गम्भीर त्रुटि गरेको भेटिएको छ। कार्यालयका प्रशासकीय अधिकृत सरोज भुसालले जारी गरेको नागरिकतामा पुरुषलाई महिला बनाइएको पाइएको हो।

जिल्लाको मालारानी गाउँपालिका– ८ का कमलप्रसाद अधिकारीले गत चैत २१ गते जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकता प्रमाणपत्र नं. ८३७२/५३..को प्रतिलिपिमा यस्तो गम्भीर त्रुटि भेटिएको हो।

सामान्य कृषिमा आबद्ध अधिकारी परिवारले नागरिकताको प्रतिलिपि ४ महिना अगाडि प्राप्त गरेको भएपनि मंगलबार काम विशेषले सदरमुकाम सन्धिखर्क आएकोबेला अरुमार्फत् थाहा पाएको बताएको छ।

यसरी नागरिकतामा गम्भीर त्रुटि कसरी भयो ?

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रसाशकीय अधिकृत पन्थी भन्छन्, ‘कस्तो कुरा गर्नुहुन्छ सर ? भीडभाडमा काम गर्दा भुलवश यस्तो त भइहाल्छ नि, के को आधारमा प्रश्न गर्नुभयो ? यो त टाइपिङ मिस्टेक हो नि यस्तो त भइहाल्छ।’

यस त्रुटिलाई हल्का रुपमा लिएका अधिकृत पन्थीले भुलवश त्यस्तो त्रुटि भएको भएपनि आफू त्यसमा गलत नभएको अडान लिए।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा दैनिक एक सयभन्दा बढी नागरिकता जारी गरिन्छ। यसरी ठुलो संख्यामा नागरिकता बनाइने प्रशासन कार्यालयमा उचित व्यवस्थापन र क्षमतावान कर्मचारी हुनुपर्ने हो। तर, कार्यालयका कर्मचारीहरुले गैरजिम्मेवार तरिकाले काम गर्दा बेला–बेलामा यस्ता त्रुटिहरु हुने गरेको पाइएको छ।

हालै बिएल नेपाली सेवाको सम्पर्कमा आएका एक व्यक्तिले त जिल्ला प्रशासन कार्याल अर्घाखाँचीले जारी गरेको राहदानी (पासपाेर्ट)मा त्रुटि भेटिएपछि रोजगारीको लागि विदेश जाने क्रममा विमानस्थलबाटै फर्किनु परेको गुनासो गरे।

यद्यपि, जिल्ला प्रशासन कार्यालयले यस्ता त्रुटि भेटिनु सामान्य भएको बताएकाे छ। ‘भीडभाडमा यस्ता त्रुटि हुन्छन्। कहिले नाम गलत हुन्छ, कहिले जन्ममिति गलत हुन्छ, कहिले आमाको नाम गलत हुन्छ। अब जसको बिग्रेको छ, उहाँ आउनुहुन्छ संशोधन हुन्छ,’ पन्थीले भने।

‘ल ठिक छ, तपाईंहरुले फेरि नागरिकता त संशोधन गरिदिनुहोला तर त्यसबापत लाग्ने खर्च कसले व्यहोर्छ ?’ भन्ने बिएल नेपाली सेवाको प्रश्नमा अधिकृत पन्थीले उल्टै जङ्गिदै भने, ‘ल भन्नुहोस् उहाँले त्यो नागरिकता बनाउन कति खर्च गर्नुभएको छ ? उहाँ आफैं आएर भन्नुहुन्छ तपाईंले भन्नु पर्दैन्।’

प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले पनि नागरिकतामा त्रुटि हुनु ठुलो विषय नभएको र त्यसमा प्रशासन कार्यालयको पनि कमजोरी नहुने बताए। उनले भने, ‘त्यो नागरिकता यहाँबाट गयो होला तर त्यसलाई कमजोरी भन्न मिल्दैन्। हामीले गुड इन्टेसनले काम गरेका हुन्छौँ। त्यो नागरिकतामा के गलत छ भन्ने त नागरिकता बनाउनेले पनि त हेर्नु पर्‍यो नि, उहाँहरुको पनि त कमजोरी हो।’

– यस समाचारमा यसअघि प्रशाकीय अधिकृत नुमलाल पन्थी हुनुपर्नेमा भुलवश अन्यथा भएकोमा क्षमायाचनासहित सच्चाइएको छ। सम्पादक

प्रकाशित मिति: : 2023-07-27 12:55:00

प्रतिकृया दिनुहोस्