बिएलसँग मधेशका महिला : १

महिला अगुवा सिंह भन्छिन्: देहातका महिला अझै घरबाट निस्कन पाउँदैनन् (भिडियो)

निरू कुमारी सिंह,  सिरहाको मिर्चैया नगरपालिका–३ सितापुरकी जुझारू महिला अगुवा। आदिवासी दनुवार समुदायकी उनी हाकाहाकी समस्या राख्न सक्छिन। बिद्रोही स्वभाव भएकै कारण धेरैको आँखाको तारो पनि बनिसकेकी छिन् उनी। तर उनलाई यसको खासै प्रवाह छैन। भन्छिन्- ‘परे भिडिन्छ।’ 

मिर्चैया ठाना चोकबाट बताहा खोला पारी ३ किलोमिटर दक्षिणमा सितापुर गाउँ पर्छ। यही गाउँको मध्यभागमा छ- सिंह दनुवारको ३९ घर। यस बस्तिका अधिकांश कृषिमा निर्भर छन्। २० युवा रोजगारीका लागि खाडी मुलुक गएका छन् । यस बस्तिका एक युवा भने सशस्त्र प्रहरीमा असई पदमा कार्यरत छन्। ती युवाको नाम हो - वीरेन्द्र कुमार सिंह। बस्तिका कोही पनि सरकारी जागिरमा छैनन्। 

गाउँका सबै बालबालिका विद्यालय जान्छन्। अधिकांश युवा उच्च शिक्षा लिइरहेका छन्। हो, यही बस्तिमा छ- निरू कुमारी सिंहको घर पनि। निरूको परिवारको गर्जो पनि कृषिले नै टार्छ। उनका श्रीमान बिनोद सिंह भएको एक बिगाहा खेतमा अन्न उब्जाउँछन्।

७ वर्षका छोरा नवकञ्ज नजिकैको बोर्डिङमा यूकेजीमा पढ्दैछन् । निरू चाहिँ अहिले सितापुरमै महिला बचत तथा ऋण सहकारी सँस्था चलाउँछिन् । यस सँस्थामा ४५ महिला सदस्य छन्। अधिकांश दलित समुदायका छन् , सदस्य। 

‘जनही मासिक ३० रूपैयाँका दरले बचत गर्छौँ ,’ उनी भन्छिन् , ‘सारोगारो परेको बेला १ प्रतिशत ब्याजमा सँस्थाले ऋण उपलब्ध गराउँछ। दलित महिलालाई बढि प्राथमिकता दिन्छौँ ।’ 

देहातका महिलाहरूको समस्यालाई अत्यन्तै नजिकबाट नियालेकी निरू भन्छिन्- ‘देहातका महिलालाई अझैपनि घरबाट निस्कन दिईदैन। देहातका आदिवासी , जनजाती र दलित महिलाको अवस्था झनै कहाली लाग्दो छ ।’ 

जस्तो? प्रश्न सकिन नपाउँदै जवाफ दिईन् उनले – ‘देहातका महिला आर्थिक , सामाजिक र राजनीतिक बिभेदको सिकार भइरहेका छन् । सभासमारोहमा उभिन समेत दिँदैनन् । घर बाहिर सक्रियता बढायो भने - ए ! फलानी ठूली पो भईछ भनेर समाजका अगुवा भनौदाहरूले नै कुरा काट्न थाल्छन् । महिलाले घरको काम मात्रै गरोस् भन्छन्,’ उनले थपिन् – ‘छोरीलाई पढाइरहेकाले बुहारीलाई पढाउँदैन। घरको काममा मात्रै लगाउँछन्।’ 

आदिवासी समुदायमा पनि दाईजोको लहर चल्न थालेकोमा चिन्तित छिन् उनी। भन्छिन् - आदिवासी समुदायमा पनि छोरीको बिहेमा केटालाई पल्सर बाईक, कम्तिमा २ तोला सुन र ५ देखि ७ लाख रूपैयाँ क्यास दिनुपर्ने अनिवार्य जस्तै बन्दै गएको छ। यो नराम्रो संकेत हो।’ 

शिक्षक पिता वाल्मिकी सिंहको प्रेरणाले महिलाको हकअधिकारको पक्षमा आफू लड्न थालेको बताइन उनले। भन्छिन्- ‘तर श्रीमानको पनि मलाई भरपर्दो साथ छ। समाजले जति नै कुरा काटे पनि उहाँले मलाई रोकछेक गर्नुहुन्न।’ 

उनका श्रीमान बिनोद आईए उत्तीर्ण छन् भने उनले पनि हेल्थ पपुलेसनमा आईए पास गरेकी छिन्। उनको भनाई छ– सरकारले देहातका महिलालाई लक्षित गरेर तत्काल कार्यक्रमहरू सञ्चालन गर्दा राम्रो हुन्छ। 

प्रकाशित मिति: : 2020-12-30 20:09:00

प्रतिकृया दिनुहोस्