सिंजामा दाइ अध्यक्ष, भाइ प्रमुख प्रशासकीय अधिकृत: वरिष्ठ भएर कि नियतले ?

BreaknLinks
BreaknLinks

असार १४ गते सिंजा गाउँपालिकाले २३ जना शिक्षकहरुकाे काज सरुवा गर्‍यो। निश्चित समयका निम्ति शिक्षकलाई काजमा सरुवा गरिएकाे पालिकाकाे शिक्षा शाखा प्रमुख शंकर धितालले बताए। 'तर अभिभावकमा विद्यालयकाे दरबन्द पनि काटियाे भन्ने भान पर्‍यो,' उनले भने, 'त्यसपछि केही व्यक्तिहरुले अस्तित्वकाे लडाइँ लडे। विद्यार्थी उचाले। दुई दिनसम्म ठूलो आन्दोलन भयाे। पालिका ताेडफाेड भयाे।'

उनका अनुसार साउन २० गते बसेकाे सर्वपक्षीय बैठकपछि शिक्षक सरुवाकाे निर्णयबाट पालिका पछि हटेकाे छ। जसले चर्किएको विद्यार्थी आन्दोलनलाई स्थगित गर्‍याे। आन्दाेलनसँगै सिंजा गाउँपालिकाकाे विषयगत शाखाका जिम्मेवारी आफन्तलाई दिइएकाे विषय आम रुपमा उठ्यो।

आम रुपमा उठेकाे विषयमा सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धिताल र उपाध्यक्ष शितली राेकायाका धेरैजसाे आफन्तहरु विषयगत शाखाका प्रमुख भए भन्ने छ। अर्थात् धिताल र राेकाया थरलाई मात्रै जिम्मेवारी दिइयो भन्ने विषय सामाजिक सञ्जाल र आम मान्छेका निम्ति मसला बन्याे।

सिंजा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पालिका अध्यक्षका साइला भाइ मित्रलाल धिताल छन् भने शिक्षा शाखा प्रमुख उनका काका नाता पर्ने शंकर धिताल छन्। पशु शाखामा कार्यरत सृजना धिताल उनकी छाेरी हुन् भने छाेरी उनी अध्यक्ष जितेर आइसकेपछि जागिरे भएकी हुन्।

आफ्नी छाेरी प्रक्रियागत रुपमा नै जागिर खाएर आएकाे पालिका अध्यक्ष धितालकाे भनाई छ। 'दुई महिनासम्म राष्ट्रिय पत्रिकामा विज्ञापन गर्दा समेत एकजनाकाे मात्रै आवेदन परेपछि मेरी छाेरी आएकी हुन्,' उनले भने, 'उनकाे नियुक्ति प्रक्रिया वैधानिक छ। परीक्षाका सबै कागजातहरु अहिले पनि सुरक्षित छन्।'

पालिका अध्यक्षका ज्वाइँ धर्मेन्द्र शर्मा आइटी इन्जिनियर छन्। यद्यपि, उनी धिताल अध्यक्ष हुनुअघिदेखि नै त्यहाँ कार्यरत छन्। कार्यकारी अधिकृतका भतिजा कमल आचार्य सहायक याेजना अधिकृत छन् भने अंगराज धिताल दिगाे खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजना (सुस्वा)का सामाजिक परिचालक र उनका काका प्रकाश धिताल स्वास्थ्य शाखामा कार्यरत छन्।

त्यस्तै उपाध्यक्षकाे परिवारका कर्मचारी पनि विषयगत शाखाकाे जिम्मेवारीमा रहेका छन्। उपाध्यक्षका भतिजा ललित राेकाया स्वास्थ्य शाखा प्रमुख छन्। उपाध्यक्षका श्रीमान गाेपाल राेकाया स्वास्थ चाैकी जाँचका सिनियर अहेब भएपनि उपाध्यक्षलाई ओसारपसार गर्ने काम गर्छन्। सावित्री राेकाया उपाध्यक्षकी जेठानी दिदी हुन्। उनी स्वास्थ्य शाखा सहायक छन् भने 'सुस्वा' परियाेजनाकी काे-अर्डिनेटर मन्जु राेकाया स्वास्थ्य संयाेजककी श्रीमती हुन्।

याे विषय बाहिर आइसकेपछि सामाजिक सञ्जालमा पालिकाले घरपरिवार र नातागोतालाई दिएकाे जिम्मेवारीकाे विषयमा विभिन्न खाले टिकाटिप्पणी भएका छन्। पालिका अध्यक्ष धितालले उक्त टिकाटिप्पणीकाे खण्डन गर्दै आफ्ना भाइ कार्यरत कर्मचारीमध्ये सिनियर भएकाे हुँदा कार्यकारी अधिकृत भएकाे तर्क पेश गरेका छन्।

स्थानीय तहमा निमित्त कार्यकारी अधिकृत ताेक्ने सवालमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०८० असार २४ गते सचिवस्तरीय निर्णय गरेर सबै स्थानीय तहलाई एउटा सर्कुलर गरेकाे छ।

सर्कुलरकाे 'क' बुँदामा, 'स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत तोक्ने विषयमा एकरुपता कायम गर्न आवश्यक र जरुरी देखिन्छ। तसर्थ यस विषयको व्यवस्थापनका लागि मार्गदर्शक कानुनको रूपमा रहेको निजामती सेवा ऐन, २०४९ तथा ऐ. नियमावली, २०५० को नियम ४६ मा रहेको व्यवस्था बमोजिम स्थानीय तहमा कार्यरत स्थायी कर्मचारीमध्येबाट वरिष्ठ कर्मचारीलाई निमित्तको जिम्मेवारी दिने व्यवस्था अनिवार्य रुपमा मिलाउनू' भनिएकाे छ।

सर्कुलरकाे अन्तिममा 'माथि उल्लिखित बुँदा नं. 'क' विपरीत कहीँकतै भएको भए आजको मितिबाट सो निर्णय स्वतः निष्कृय हुने व्यहोरा अनुरोध छ' समेत भनिएकाे छ।

सिंजा गाउँपालिकामा अध्यक्ष धितालले भनेजस्ताे उनका भाइ मित्रलाल सिनियर कर्मचारी नभई प्रशासनका छैटौँ अधिकृत पदम भण्डारी सिनियर भएकाे हाल सामाजिक विकास कार्यालय मुगुका प्रमुख तथा सिंजा गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत टाेपबहादुर बुढाले बताए।

'पालिका अध्यक्षका भाइ पशु शाखाकाे छैटौँ अधिकृत हुनुहुन्छ। तर उहाँभन्दा सिनियर प्रशासनकाे छैटौँ अधिकृत हुनुहुन्छ,' साेही पालिकाका बासिन्दासमेत रहेका बुढाले भने, 'नियम मिचेर अध्यक्षले आफ्नै भाइलाई पालिकाकाे जिम्मेवारी दिनु नियत नै हाे। मानाैँ, म लाेक सेवा आयाेगमा छु र मेराे श्रीमती अन्तर्वार्ता दिने छन् भने मैले अन्तर्वार्तामा नबस्ने स्वघाेषणा गर्नुपर्छ।'

सुरुमा आफ्ना भाइ सिनियर रहकाे बताउँदै आएका धिताल पदम भण्डारी सिनियर भएकाे प्रश्न उठेपछि दुबै जना एकै लटमा बुढुवा भएकाे तर्क गर्दै कार्यपालिकाकाे विश्वासका आधारमा भाइलाई प्रमुख प्रशासकीय अधिकृत बनाइएकाे बताउँछन्।

'खगेन्द्र न्याैपाने म आउनुभन्दा अगाडि सरुवा भएर गइसक्नुभएकाे थियाे। पदम भण्डारी र मित्रलाल दुबैकाे बढुवा एकै लटमा भएकाे हाे। हामीलाई जसकाे विश्वास लाग्याे, त्यसैलाई बनायाैँ,' उनले भने, 'याे विषय उठाउनु हामीमाथिकाे हमला हाे। याे हमलाले मलाई जनताकाे सेवा गर्न हताेत्साहित गर्ने छैन, बरु झन् बढी उत्प्रेरित गरेकाे छ।'

कुनै पनि पालिकामा अध्यक्ष दाइ र प्रमुख प्रशासकीय अधिकृत भाइ वा एक सगाेलकाे परिवारका हुन नपाउने कानुनी प्रावधान छैन। तथापि सिनियरलाई पाखा लगाएर आफ्नाे मान्छेलाई जिम्मेवारी दिँदा नियत देखिने सिंजा गाउँपालिका-५ गाेरा निवासी विश्लेषक रामसिंह रावलकाे तर्क छ।

'हरेक कुरा कानुन, संविधान र ऐनमा खाेजेर हुँदैन। यसभन्दा माथि विवेक र नैतिकता हुन्छ। त्यस अनुरुपकाे काम गर्नुपर्छ, जाे सुकै सार्वजनिक पद धारणा गरेकाे व्यक्तिले,' उनले भने, 'तसर्थ हामीजस्ता मानिसहरुले अध्यक्षले राम्रै गर्लान् भन्न सक्दैनाैँ। स्वार्थकाे द्वन्द्व पनि आउँछ नि! भाइले भाइलाई कसरी काट्न सक्छ?'

भनिन्छ, कानुनभन्दा माथि न्याय हुन्छ, न्यायभन्दा माथि नैतिकता। ग्रीक दार्शनिक प्लेटोले (४२४–३४७ बिसी) आफ्नो पुस्तक 'पोलिटिक्स' मा शासक शिक्षित र नैतिकवान हुनुपर्ने भन्दै नैतिक मूल्यलाई जोड दिएका छन्। दार्शनिक सुकरात (४७०–३९९ बिसी) ले पनि प्लेटोको जस्तै मानवीय नैतिकतामा जोड दिएका छन्। अरिस्टोलट (३८५–३२२ बिसी) को 'निकोमाकेन इथिक्स'ले प्राकृतिक दर्शन, नैतिकता, मूल्यजस्ता पक्षलाई बढी जोड दिँदै नैतिक र कानुनी भागको महत्व दर्शाएको देखिन्छ।

इटालीका सेन्ट (धर्मगुरु) थोमस अक्वेनस (१२२५–१२७४) ले मानिसको लागि धर्म तथा नैतिकता आवश्यक हुने भनेका छन्। अमेरिकी विधिशास्त्री लोन एल. फुलर (१९०२–१९७८) ले सन् १९६४ मा प्रकाशित गरेको 'द मोरालिटी अफ ल' मा कानुनमा नैतिकताको अपरिहार्यता दर्शाएका छन्। धिताल आफ्नाे पालिकामा रामराज्य नभएकाे बताउँछन्।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माका प्रेस सल्लाहकार समेत भइसकेका नेता मनऋषि धिताल सिंजा गाउँपालिकाकाे विषयमा आलोचना आइरहेको भएपनि के कारणले यसाे भइरहेको छ भन्ने पूरा जानकार नभएकाे बताउँछन्। 'म आफूले हेर्दा त्यहाँकाे अध्यक्षज्यू आराेप लागेजस्तो गर्ने मान्छे लाग्दैन। याे हाम्राे समाजकाे चिन्तनकाे कुरा हाे,' उनले भने, 'मैले उहाँबाट सुनेकाे उहाँकाे भाइ कार्यरत कर्मचारीभन्दा सिनियर हुनुहुन्छ भन्ने हाे। तर यदि अर्काे काेही पनि सिनियर हुनुहुन्छ भने त्यसमा नियत देखिन्छ। त्यस्ताे निर्णय सच्याउनुपर्छ।'

नेता मनऋषि धितालले पालिका अध्यक्षलाई गरेकाे विश्वासकाे ठिक विपरीत तर्क छ सिंजा गाउँपालिकाका पूर्व अध्यक्ष देवलसिंह रावलकाे। उनी पालिकाका प्रमुख प्रशासकीय अधिकृतदेखि विषयगत शाखा प्रमुखहरु आफ्ना मान्छे मात्रै राख्दा जति पनि गलत काम हुन सक्ने बताउँछन्।

'उहाँजस्ताे विद्वान मान्छेले सेटिङ गरेर शाखा प्रमुख आफ्ना भाई छाेरा राख्नुभन्दा मिलाएर जानुपर्ने हाे। सबै शाखामा आफ्ना मान्छे मात्रै राख्याे भने कागजी घाेडा जति दाैडाए पनि भयाे,' उनले भने, 'सुरुमा शिक्षक सुरुवा गर्ने अनि पछि हट्ने गरी अपरिपक्व निर्णय किन गर्ने? आज शिक्षक सुरुवाकाे विषयलाई लिएर लफडा भयाे भाेलि हरेक विषयमा लफडा नहाेला भन्न सकिँदैन।'

गाउँपालिका अध्यक्षकाे नियत जतिसुकै सफा भएपनि आफ्नै भाइलाई प्रमुख प्रशासकीय अधिकृत बनाउँदा सचेत नागरिकले आशंका गर्ने ठाउँ रहने साेही गाउँपालिकाका बासिन्दा तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले बताए। उनले भने, 'उहाँले आफ्नाे भाइलाई नियम संगत रुपमै ल्याउनु भएको हाेला। तरपनि यसमा नियत देखिन्छ। सिधा भाषामा भन्दा याे कुरा त ....गर्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्तो भएन र?'

प्रकाशित मिति: : 2023-08-08 18:55:00

प्रतिकृया दिनुहोस्