अर्घाखाँचीमा बाँदर धपाउन जाँदा मृत्यु, मेयर थापा भन्छन्, दुखद घटना भयाे, क्षतिपूर्ति दिन्छाैँ

अर्घाखाँचीमा बाँदर धपाउन जाँदै गरेका एक किसानको ज्यान गएको छ।

भूमिकास्थान नगरपालिका वडा नं. ७ पानडाँडाका ४५ वर्षीय पदम केसीको बाँदर धपाउन जाँदै गर्दा आफैंले बोकेको भरुवा बन्द पड्किँदा ज्यान गएको हो।

शुक्रबार बिहान आफ्नै बारीमा बाँदर धपाउन जाँदै गरेका केसीले बोकेको भरुवा बन्दुक एक्कसी पड्किएर उनको दाहिने कोखमा चोट लागेको थियो।

चोट लागेर घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकहरुले उनको मृत घोषणा गरेको छन्।

यस वर्ष अर्घाखाँचीमा बाँदर आतङ्कका कारण ठुलो परिणाममा अन्नबालीको क्षति भए पनि मानवीय क्षति भएको यो पहिलो घटना हो।

बाँदर आतङ्कको कारण मानवीय क्षति हुने अवस्था सिर्जना हुनु निकै दुखद भएको भूमिकास्थान नगरपालिकाका मेयर झविलाल थापाले बताए।

थापाले केसीको निधनप्रति दुःख व्यक्त गर्दै घटनाको छानबिन गरेर क्षतिपूर्ति उपलब्ध गराउने वचन दिए। ‘हेर्नुहोस् त बाँदरकै कारण आज दुखद घटना भयो, उहाँको निधनप्रति म दुःख व्यक्त गर्छु’, मेयर थापाले भने, ‘घटनाको छानबिन गरेर क्षतिपूर्ति दिने सोच छ, बाँकी कुरा पालिकाको बैठकपछि भन्छु।’

प्रकाशित मिति: : 2023-08-11 17:14:00

प्रतिकृया दिनुहोस्