ट्रम्पले गरे आत्मसमर्पण, २० मिनेट राखियाे जेलमा

बिएल संवाददाता

वासिङ्टन डीसी

‘राष्ट्रपति निर्वाचनमा धाँधली गरेको’ आरोपमा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार बिहान जर्जिया प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

न्यूर्योक टाइम्सकाअनुसार आत्मसमर्पणपछि ट्रम्पलाई प्रहरीले पक्राउ गर्‍यो। र, जर्जिया राज्यको फुल्टोन काउन्टी जेलमा लग्यो। कानूनी कागजपत्र मिलाउँदैगर्दा उनी लगभग २० मिनेट जेलमै बसे।

२० लाख अमेरिकी डलर धरौटी तिरेर रिहा भएपछि उनी जेल बाहिर निस्के। फुल्टोन काउन्टी जेल बाहिर जताततै प्रहरीहरू थिए, सुरक्षा व्यवस्था कडा थियो। अनि, ट्रम्पका समर्थकहरू चारैतिर छरिएका थिए।

जेलबाट निस्किँदैगर्दा पूर्वराष्ट्रपति ट्रम्पले पत्रकारसँग भने, ‘मैले केही गलत गरेको छैन।’ र, उनी सरासर आफ्नो बाटो लागे।

अदालतले ट्रम्पलाई ‘निर्वाचनमा धाँधली गरेको’ मामिलामा आत्मसमर्पण गर्न अगस्ट २५ सम्मको समयसीमा दिएको थियो। उनी अदालतकाे आदेश मान्दै शुक्रबार बिहान जर्जिया प्रहरीकहाँ पुगे।

ट्रम्पमाथि जर्जियामा राष्ट्रपति निर्वाचनको नतिजा उल्ट्याउन धाँधली गरेको, प्रमाण मेटाउन जालसाजी गरेकोजस्ता गम्भीर आरोपहरू लागेका छन्। र, उनीबाहेक अन्य १८ जनालाई मुद्दामा अभियुक्त बनाइएको छ।

जर्जिया प्रहरीसमक्ष आत्मसमर्पण गरेका ट्रम्पसहित सबै अभियुक्तहरूको ‘काँधमाथिको तस्बिर’ खिचिएकाे थियाे। त्यस्तै, ट्रम्पका तत्कालिन चिफ अफ स्टाफ मार्क मेडोजले पनि आत्मसमर्पण गरेका छन्।

एटलान्टाको अदालतले अगस्ट १५ मा ‘ट्रम्प–समूह’माथि आरोपपत्र पेश गरेकाे थियो। आरोपपत्रमा उल्लेख गरिएका ४१ आरोपमध्ये १३ वटा ट्रम्पको नाममा छन्।

ट्रम्पको फिंगरप्रिन्ट लिइयो, तस्बिर खिचियो

आत्मसमर्पणपछि पूर्वराष्ट्रपति ट्रम्पलाई एउटा कोठमा लगिएकाे थियाे। 

उनलाई कैदी नम्बर पी–०११३५८०९ को रुपमा दर्ता गरियो। त्यसपछि ट्रम्पको तस्बिर खिचियो। र, औँठाछापसमेत लिइयो।

उनले अदालतमा गरेका सहीछाप र उपलब्ध गराएका कागजातहरू जर्जिया प्रहरीको अभिलेखमा भेटिनेछन्।

पाँच महिनामा चारवटा आपराधिक मुद्दा

अदालतले ट्रम्पलाई २५ अगस्टसम्म आत्मसमर्पण गर्न समय दिएको थियो। र, उनी शुक्रबार बिहान जर्जिया पुगिछाडे।

पूर्वराष्ट्रपति–विरुद्ध पाँच महिनामा चारवटा मुदुदा दर्ता भएका छन्। उनीसँग ह्वाइट हाउसका पूर्वचिफ अफ स्टाफ र नेता रुडोल्फ जिउलियानीविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ।

न्यूयोर्क टाइम्सका अनुसार आरोपपत्रमा ट्रम्प र उनका सहयोगीहरूले जानाजानी चुनावको नतिजा आफ्नो पक्षमा ल्याउने प्रयास गरेको उल्लेख छ।

के हो जर्जियाको ‘क्रिमिनल केस’

सन् २०२० मा भएको राष्ट्रपतीय निर्वाचनको नतिजा उल्ट्याउन खोजेको गम्भीर आरोप छ– ट्रम्पमाथि। 

बीबीसीका अनुसार सन् २०२१ जनवरी २ मा ट्रम्प र जर्जियाका निर्वाचन अधिकारी ब्रैड रैफेंसपर्गरबीच एक घण्टा टेलिफोन कुराकानी भएकाे थियाे।

ह्वाइट हाउस कार्यालयबाट जनवरी ३ को दिउँसो २ बजेर ४१ मिनेटमा फेरि निर्वाचन अधिकारी ब्रैडलाई फाेन गरियाे। 

र, भनियो चुनावी नतिजा आफ्नो पक्षमा पार्न निर्णायक मानिएको जर्जिया राज्यको १६ वटा ‘इलेक्ट्रोल भोट’ उल्ट्याउनुपर्छ। त्याे गर्न नमान्दा ट्रम्पले निर्वाचन अधिकारीलाई धम्कीसमेत दिएका थिए।

ट्रम्प र निर्वाचन अधिकारीबीचको टेलिफोन कुराकानी सबैभन्दा पहिले वासिङ्टन पोस्टले प्रकाशित गरेको थियो।

प्रकाशित मिति: : 2023-08-25 06:27:00

प्रतिकृया दिनुहोस्