लण्डनमा नेपाली कलाकारले देखाए फरक-फरक प्रस्तुति

बेलायतको राजधानी लण्डन यतिबेला नेपाली कलाकारहरुको कार्यक्रम गर्ने आकर्षक गन्तव्य बनेको छ।

त्यसै सिलसिलामा हालै सम्पन्न सुम्निमा सांगीतिक साँझ २०२३ नामक अर्को कार्यक्रममा दर्शकलाई हसाउन लण्डन पुगेका थिए, चर्चित हास्य कलाकार ‘फुलन्देको आमा’ अर्थात उमेश राई। उनलाई साथ दिन नेपालदेखि नै गएका गायक द्धोय प्राज्ञ भिषण मुकारुङ राई र निश्चल राईले पनि प्रस्तुति दिएका थिए।

उता बेलायतमै स्थायी बसोबास गर्दै आएका अन्य कलाकारहरु श्याम सामसोहाङ राई, जानुका राई, तारा लक्सम लिम्बु र किसन राईले पनि साथमा साथ दिए।

नेपालीहरुले नै सञ्चालन गरेका डि लाउन्ज रेष्टुरेण्टमा आयोजित उक्त कार्यक्रममा जानुका राईले आफ्नो गीत गाएर कार्यक्रमको सुरुवात गरेकी थिइन्।

त्यसपछि गायक श्याम सामसोहाङ राईले आफ्नो नयाँ गीत ‘लहै बरी लैलै’, पुराना गीतहरु ‘मुर्चुगामा राएँ, मैच्याङ हौ मैच्याङ हौ’ लगायत गीतहरु गाएर दर्शकलाई नचाए। उनीपछि नेपाली ताराका रनरअप तारा लक्सम लिम्बुले आफ्ना गीतहरु सुनाए। त्यसपछि फुलन्देको आमाले प्रस्तुति दिए।

उनीपछि गायक किसन राई, प्राज्ञ भिषण मुकारुङ र निश्चल राईले आ-आफनो गीतमार्फत दर्शकलाई मनाेरञ्जन दिए।

सुम्निमा इन्टरटेण्मेण्ट युकेले पहिलो पटक त्यस्तो कार्यक्रम आयोजनामा गरेको थियो र भविष्यमा यसलाई निरन्तरता दिने आयोजकले बताए।

प्रकाशित मिति: : 2023-08-25 14:31:00

प्रतिकृया दिनुहोस्