अंग्रेज सेनालाई जितेको खुशीयालीमा मनाइयो भगवती जात्रा

अंग्रेज सेनालाई जितेको खुशीयालीमा पाल्पामा भगवती जात्रा मनाइएको छ। प्रत्येक वर्ष भाद्र कृष्ण जन्माष्टमीको भोलीपल्ट नवमीको दिन भगवती जात्रा मनाइने गरिन्छ। 

पाल्पामा आज (बिहीबार) भगवती जात्रा निकालिएको छ।  रथलाई सिंगारेर नगर परिक्रमा गरेर जात्रा मनाउने चलन छ। 

रथलाई तानसेन बजारको पाल्पा दरवार, शितलपाटी, भगवतीटोल, वसन्तपुर, कैलाशनगर, अशनटोल, नारायणस्थान, भिमसेनटोल, गोरखदल गण, बसपार्क आन्दोलनचोक, बडिज्ञानटोल, सिल्खानटोल, टक्सारटोल लगायतका स्थानमा घुमाइएको छ। 

जात्रामा विभिन्न विद्यालयका विद्यार्थी, विभिन्न संघसंस्था, आमा समुह, टोल विकास समितिका साथै तत्कालीन गुर्जुको पल्टन, नेपाली सेना, नेपाल प्रहरी बल र सशस्त्र प्रहरी जवानहरुको पनि सहभागी थिए। 

विजयउत्सवमा तत्कालीन समयमा अंग्रेजसंग युद्धमा लडेको सबुज गणको पनि सहभागिता थियो।  नेपालले विस १८७१ पौष देखि १८७२ जेठसम्म पाल्पा नुवाकोट, बुटवल जितगढी युद्धमा अंग्रेजलाई पराजित गरेको थियो।

तत्कालीन पाल्पाका प्रशासक कर्णेल उजिर सिंह थापाको नेतृत्वमा भएको युद्धमा नेपालले विजय प्राप्त गरेको थियो।

बुटवलको जितगढी युद्धमा विजय प्राप्तपछि तानसेनमा विशाल मन्दिर बनाइ भगवतीको महिमा चारैतिर फैलाउने छु भनी भाकल गरी युद्धमा गएका थिए। तीन पटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि कर्णेल उजिर थापाले विस १८७२ देखि १८७६ सम्म गजुर सहितको तीन तले मन्दिर निर्माण पुरा गरेका थिए। त्यसपछि विस १८७६बाट तानसेनमा विजयउत्सव मनाउन थालिएको हो।
 

 

प्रकाशित मिति: : 2023-09-07 20:46:00

प्रतिकृया दिनुहोस्