‘बा’ नभए के भाे, ‘आमा’ भए नागरिकता पाइन्न र?

कक्षा १२ पास गरेका ओसिम अन्सारी झोलाभरि शैक्षिक योग्यताका प्रमाणपत्र बोकेर हिँडेको तीन वर्ष भयो। उनमा विदेश जाने सोच छ। सँगैका साथीभाइ विदेश गइसके। नगएका नेपालमै राम्रै काम गरिरहेका छन्।

विदेश जाने सोच बनाएका ओसिम भने तीन वर्षदेखि न विदेश जान पाए, न यहाँ पढ्न नै सके। विदेशिने बाध्यता थियाे। त्यही चक्करमा पढाइ पनि टुट्याे।

नेपाली नागरिकता नपाएपछि उनकाे पासपाेर्ट पनि बन्ने कुरै भएन।

ओसिम १४ वर्ष हुँदा उनका बुवा बेपत्ता भएका थिए। नेपालको कानुनअनुसार १६ वर्षमा नागरिकता लिन पाइन्छ। ओसिम २० वर्ष बढी भइसके। तर नागरिकता पाएका छैनन्।

किनकी आमाको नामबाट नागरिकता लिन उनलाई सकस भइरहेकाे छ। नागरिकता बनाउनका लागि प्रशासनमा धाउँदा-धाउँदै ओसिम थाकेका छन्। ओमिसकी आमा सोममाया पनि थोकेकी छन्।

नागरिकता नहुँदा ओसिमले के-के दुःख पाएनन्? पढ्न पाएनन्। विदेश जान पाएनन्। नेपालमै काम गर्न खोजे, काम पाएनन्। कतै निजी कम्पनीमा काम भएको भएपनि प्यान नम्बर नभएकै कारण आधा तलब पाएनन्।

अहिले ओसिम बिरक्तिएका छन्। उनले घर छाडेको धेरै दिन भएको छ। ओसिम घरमा छैनन्। ओसिमको चिन्ताले उनकी आमा सोममाया पनि घरमा छैनिन्।

छोराको नागरिकताको लडाइँका लागि सरकार गुहार्दै सोममाया सडकमा छिन्। अर्थात सबैको न्याय माग्ने ठाउँ काठमाडौँको माइतीघरमा आन्दोलनमा छिन्।

‘नागरिकता नभएर मेरो छोराले घर छाडेर हिँडेको कति दिन भइसक्यो। कहाँ छ केही थाहा छैन,’ उनले भनिन्, ‘भोलिको दिनमा उसलाई केही भए, यसको जिम्मेवारी कसले लिन्छ? के हाम्रा सन्तानहरुले नागरिकताबिनै मर्नुपर्ने हो?’

सोममायासँग वंशजकै आधारमा नागरिकता छ। २०६३ को अन्तरिम संविधान र २०७२ को नेपालको संविधानले आमाको नामबाट नागरिकता पाउने व्यवस्था गरेको थियो। त्यही व्यवस्थामा रहेर सोममाया भने आफ्ना सन्तानलाई नागरिकता दिलाउन सकेकी छैनन्।

०००

नागरिकता नहुँदा दुःखको पहाड कस्तो हुन्छ? सरोज साह त्यही पहाड छिचोल्न संघर्ष गरिरहेका छन्। बाराका साह उमेरले दुई बीस कटिसके। अब छोराछोरीको नागरिकता बनाइदिने समय भइसक्यो।

बिडम्वना, साहसँग नै नागरिकता छैन। नागरिकता नहुँदा उनीसँग राम्रो जागिर पनि, कमाइ पनि छैन। विवाह दर्ता छैन। सबैको मोबाइलकाे सिम छ, उनीसँग सिम छैन। जसले सञ्चारबाट बञ्चित हुनु परेको छ।

अहिले अझ समस्या थपिएको छ। आफ्नो नागरिकता नहुँदा अहिले छोराछोरीलाई जन्म दर्ता मिलेको छैन। जसले छोराछोरीलाई विद्यालय भर्ना गर्न साहलाई समस्या भइरहेको छ।

‘मेरो बाबुआमा नेपाली नागरिक हो। अहिले आएर बाबु भएन भनेर हामीले नागरिकता पाएका छैनौँ,’ उनले भने,‘ कि हामीलाई नागरिकता दिनुपर्‍याे, कि नागरिक होइन भनेर भन्नुपर्‍याे।’

संविधानमा आमा वा बाबु नेपाली नागरिक भए वंशजको नागरिकता पाउने व्यवस्था भए पनि आफूले आमाको नामबाट नागरिकता नपाएको उनको गुनासो छ।

विगत ११ वर्षदेखि काठमाडाैँको कलंकीमा सिलाइ पसल सञ्चालन गर्दै आएका उनले लकडाउनको समयमा पसल चलाउन बैंकबाट ऋण लिन खोजे। तर नागरिकता नभएपछि बैंकले ऋण नदिएको उनले बताए।

‘न मेरो नागरिकता छ, न तीन छोराछोरीको जन्मदर्ता नै भएको छ,’ सरोज गुनासो गर्छन्, ‘जन्मदर्ता नभएकाले छोराछोरीलाई राम्रो विद्यालय पठाउन पनि पाइएको छैन। बुवा सानैमा बेपत्ता हुनुभयो। अहिले हामीलाई समस्या भयो।’

२०५३ मा युद्ध चल्दै थियो। गाउँगाउँमा सशस्त्र युद्धको प्रभाव पर्दै थियो। त्यही युद्धमा होमिएका उनका बुबा कहिल्यै फर्किएनन्।

‘नागरिकताका लागि धाउँदा–धाउँदा हैरान भइसकेँ, मेरा बाबु हराउनुमा मेरो के दोष?,’ उनी भन्छन्, ‘दाइको चाहिँ आमाको नामबाट नागरिकता छ तर, मेरो छैन।’

०००

माथिका यी दुईजना त प्रतिनिधि पात्र मात्रै हुन्। जसले आमाको नामबाट नागरिकता पाउन संघर्षरत गरिरहेका छन्। अर्थात नागरिकता नहुँदा जीवनमा पहाडको भारी बोकेर बाँचिरहेका छन्।

उनीहरु जस्ता हजारौँ नागरिक आमाको नामबाट नागरिकता नपाउँदा उस्तै पहाडको भारी बोकेर हिँड्न बाध्य छन्। जो अहिले आमाको नामबाट नागरिकता पाउनुपर्ने माग राख्दै माइतीघरमा आन्दोलनमा होमिएका छन्।

उनीहरुले संविधानमा आमाको नामबाट नागरिकता पाइने प्रावधान भए पनि कानुन अभावमा अझै पनि नागरिकता नपाएका हुन्। संविधानको धारा १२ मा आमाको नामबाट नागरिकता लिन पाउने स्पष्ट व्यवस्था छ। संविधान जारी भएको ८ वर्ष हुँदा पनि सो प्रावधान पूर्णरुपमा कार्यान्वयनमा नआउँदा अहिले बुवा नहुनेहरु समस्यामा परेका छन्।

नेपालको संविधानमा कुनै पनि नेपाली नागरिकलाई नागरिकताको हकबाट बञ्चित नगरिने व्यवस्था छ। तर धेरै युवायुवती ‘अनागरिक’ अवस्थामै छन्। अनागरिक हुनु भनेको ‘राज्यविहीनता’को अवस्था हो। राज्य र व्यक्तिबीचको कानुनी सम्बन्ध स्थापित गर्ने महत्वपूर्ण आधारभूत दस्तावेज नागरिकता हो। आमाको नामबाट पनि नागरिकता पाउनुपर्ने माग राख्दै माइतीघरमा आन्दोलनरत गर्न थालेको महिनादिन पुग्न लाग्यो। 

प्रकाशित मिति: : 2023-09-17 19:00:00

प्रतिकृया दिनुहोस्