प्रधानमन्त्री प्रचण्ड न्युयोर्क आइपुगे, परराष्ट्रमन्त्री साउद गएनन् विमानस्थल

प्रदीप भट्टराई

न्युयोर्क, अमेरिका

प्रधानमन्त्री पुष्प कमल  दाहाल 'प्रचण्ड' स्थानिय समयअनुसार आइतबार विहान अमेरिकाको न्युयोर्क आइपुगेका छन् । उनलाई संयुक्त राष्ट्र संघका लागि न्युयोर्कस्थित नेपाली नियोगका स्थायी प्रतिनिधि लोकबहादुर थापाले जेएफके विमानस्थलमा स्वागत गरे।

प्रधानमन्त्री प्रचण्डकै भ्रमण दलका एक सदस्य परराष्ट्रमन्त्री एन पी साउद र उनको टोली भने केही दिनअघि नै न्युयोर्क आइपुगिसकेको छ । तर, परराष्ट्रमन्त्री साउद  प्रधानमन्त्रीलाई लिन विमानस्थल गएनन् । सामान्यत: यस्तो भ्रमणमा परराष्ट्रमन्त्री भ्रमण मुकाममा रहेको अवस्थामा उनी पनि सरकार प्रमुखलाई रिसिभ गर्न जाने चलन छ ।

प्रधानमन्त्री प्रचण्ड शुक्रबारसम्म न्युयोर्कमा रहेर संयुक्त राष्ट्र संघको ७८औं महासभाका विभिन्न कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलको नेताका रूपमा सहभागी हुनेछन् । विहीबार महासभालाई सम्बोधन गरेर उनी शुक्रबार चीन भ्रमणका लागि निस्कने छन् ।

६३औं महासभालाई सम्बोधन गर्दै प्रचण्ड

प्रधानमन्त्री प्रचण्ड ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क आइपुगेका हुन् । उनको प्रतिनिधिमण्डलमा न्युयोर्कस्थित नेपाली नियोग र वासिङ्टन डीसीस्थित नेपाली दूतावासका अरू १४ सदस्य थपिएर नेपाली प्रतिनिधिमण्डलको संख्या २५ सदस्यीय हुने छ ।

प्रधामन्त्री प्रचण्डको संयुक्त राष्ट्र संघ महासभालाई यो दोस्रो सम्बोधन हुने छ। यसअघि उनले सन् २००८ मा  संयुक्त राष्ट्र संघको ६३औं.महासभालाई पहिलोपटक सम्बोधन गरेका थिए । त्यतिबेला ताप र रापसहितको माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले सुटमा सजिएर सम्बोधन गरेका थिए भने यसपटक सनातनी नेपाली दौरासुरूवालमा सम्बोधन गर्नेछन् ।

नेपालका प्रधानमन्त्री न्युयोर्क आएर महासभालाई सम्बोधन गरेको २०१८ पछि यो पहिलोपटक हो । सन् २०१८ को ७३ औं महासभामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भौतिक रूपमै सहभागी भएर  सम्बोधन गरेका थिए भने उनै ओलीले सन् २०२० मा भएको ७५ औं महासभालाई भिडियोमार्फत भर्चुअल सम्बोधन गरेका थिए।

प्रधानमन्त्री प्रचण्डले उनकै भाषामा साम्राज्यवादी अमेरिकामा पाइला टेकेको यो चौथो पटक हो । योसँगै तीनपटक संयुक्त राष्ट्र संघसँग सम्बन्धित काममा सहभागी भएका प्रचण्ड सन् २०१९ को मार्चमा श्रीमतीको उपचारका लागि आएका थिए।

प्रकाशित मिति: : 2023-09-17 20:45:00

प्रतिकृया दिनुहोस्