लुम्बिनीका मुख्यमन्त्रीलाई राउटेले भने– हाम्रा जनतालाई दसैँ मनाउन पैसा दिनु पर्‍याे (भिडियाेसहित)

फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका प्रतिनिधिहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग भेटघाट गरेका छन्। बिहीबार मुख्यमन्त्री कार्यालयमा आएका राउटे मुखियाका प्रतिनिधि विर्खेबहादुर शाहीको टोली र मुख्यमन्त्रीबीच भेटघाट भएको हो।

राउटे शाहीले सरकारसँग दसैँ खर्च माग्न आएको भन्दै मुख्यमन्त्रीलाई दसैँ खर्च दिन आग्रह गरेका छन। ‘अब दसैँ आइसक्यो, हाम्रो जनताले दसैँमा बली पनि दिनुपर्छ, खसी पनि खानुपर्छ, सरकारले पैसा दिनु पर्‍यो। ८६ घर जनता छ, खसी खाना सरकारले २ लाख दिनुपर्छ। सबै मत्रीहरुले हामीलाई दसैँ खर्च दिनुपर्‍यो, हामीले लगेर सबै जनतालाई बाड्ने काम हुन्छ। खसी किन्न पैसा चाहियो,’ शाहीले भने।

उनले आफूहरु अहिले दैलेखमा बसिरहेको र दसैँ खर्चका लागि दाङ आएको बताए। तीजकाे खर्च जुटाउन दाङ झरेकाे भएपनि अब दसैँ आउन लागेकाेले दसैँ खर्चकाे जाेहाे गर्न लागेकाे उनीहरुकाे भनाइ छ।

मुख्यमन्त्री चौधरीले राज्यले राउटे समुदायको लागि सहयोग गर्न र दसैँ खर्चको व्यवस्थापन गर्न सकारात्मक भएको बताए। उनले दसैँ खर्चका लागि आवश्यक रकम राउटे समुदायलाई दिने व्यवस्था गरिने बताए।

‘राउटेहरुलाई पहिलेदेखि नै सरकारले दसैँ खर्च दिँदै आएको इतिहास पनि रहेछ। राउटेलाई खर्चकै कारण दसैँ मनाउन समस्या हो भने लुम्बिनीले पनि केही सहयोग गर्छ,’ मुख्यमन्त्री चौधरीले भने, ‘२/३ दिनमा सरकारको केही सहयोग हुन्छ।’

भेटघाटमा अर्थमन्त्री धनबहादुर मास्की तथा प्रमुख सचिव राधिका अर्यालको समेत सहभागिता रहेको थियो।

भिडियाे :

प्रकाशित मिति: : 2023-09-21 14:28:00

प्रतिकृया दिनुहोस्