‘एउटा हाछेथु’को आइडियाले कति फरक पार्दछ सहरमा (भिडियाेसहित)

कमल विक

ललितपुर
BreaknLinks
BreaknLinks

बागमती नदिपारिका जनता अर्थात् काठमाडौँ महानगर भोग्दै आएका मान्छेलाई लाग्दो हो, नगर प्रहरी आक्रामक र चर्को स्वभावका हुन्छन्।

हुन पनि हो, मेयर बालेन साहले चलाएको फुटपाथ व्यवस्थापन र जग्गा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउने अभियानमा महानगरले नगर प्रहरीलाई कठोर रुपमा मैदानमा उतारेको थियो।

त्यसक्रममा कयौँ नगर प्रहरी र नगरबासीबीच कयौँ पटक मुठभेड र विवादहरू भए। नगरबासीलाई लखेट्नु, लछारपछार गर्नु काठमाडौँका नगर प्रहरीको परिचयजस्तै बन्यो।

तर, यही बागमती नदिवारिको ललितपुर महानगरपालिकामा त्यस्तै छैन। यहाँका नगर प्रहरीहरू काठमाडौँले गर्ने तिनै काम सभ्य र शान्त रुपमा गरिरहेका छन्।

‘हामी नगर प्रहरी नगरबासीको सेवामा समर्पित छौँ। नगरबासी र हामीबीचको सम्बन्ध एउटै परिवारका सदस्यहरुको जस्तो हुनुपर्छ। त्यसैले हामी हाम्रा नगरबासीसँग कहिल्यै पनि विवाद गर्नुपरेको छैन,’ ललितपुर नगर प्रहरी प्रमुख सिताराम हाछेथुले भने।

नगर प्रहरी र नगरबासीको सम्बन्ध एउटै परिवारका सदस्यको जस्तो हुनुपर्छ भन्ने मान्यता राख्ने सितारामरले ललितपुर महानगरलाई सभ्य र शान्त बनाउने काममा महत्वपूर्ण योगदान गरेका छन्।

ललितपुर महानगरपालिकाले नगर प्रहरीको लागि करिब एक दर्जन जिम्मेवारी तोकिदिएको छ।

फोहोर व्यवस्थापनमा समन्वय गर्ने, नगरबासीलाई सुरक्षा प्रदान गर्ने तथा मेला महोत्सवमा भीड व्यवस्थापन गर्ने, ट्राफिक व्यवस्थापन तथा पार्किङको व्यवस्थापन गर्ने, विपद् व्यवस्थापन तथा उद्दार र राहत वितरण गर्ने, सरकारी जग्गा जमिनमा बनेका संरचना हटाउने, छाडा चौपायको व्यवस्थापन गर्ने, नियमविपरीत टाँसिएका होर्डिङ बोर्ड हटाउने, नगरबासीबीच बेलाबखतमा हुने विवाद मिलाउने तथा जनचेतना फैलाउने काम गर्ने जिम्मेवारी ललितपुर नगरी प्रहरीको हो।

यी जिम्मेवारी पूरा गर्नको लागि ललितपुर महानगरले नगर प्रहरीलाई उचित स्रोत, साधनको व्यवस्थापन तथा समन्वय गरिदिएको छ।

कुशल नेतृत्व

उक्त जिम्मेवारी पूरा गर्नको लागि महानगरले ५७ वर्षीय सितारामको नेतृत्वमा ६८ जना नगर प्रहरी खटाएको छ।

करिब तीन वर्षदेखि ललितपुर नगर प्रहरीको नेतृत्व गरिरहेका सिताराम कुनै बेलाका ट्राफिक व्यवस्थापनका एक कुशल अधिकृत हुन्। उनले नेपाल प्रहरीमा रहेर २७ वर्ष ट्राफिक व्यवस्थापनमा जीवन बिताएका थिए।

उनी ठिक तीन वर्ष अगाडि प्रहरीबाट अवकाश पाएका थिए। नेपाल प्रहरीको इन्स्पेक्टर पदबाट अवकाश प्राप्त गरेपछि ललितपुर नगर प्रहरीको नेतृत्वमा आएका हुन्, सिताराम।

लामो समय ट्राफिक प्रहरीमा रहेर गतिलो अनुभव बोटुलेका उनले त्यसक्रममा गरेका काम र अनुभवकै कारण कुशलतापूर्वक जिम्मेवारी पूरा गर्न सफल भएको बताए।

र, त त्यही अनुभवको सदुपयोग ललितपुरमा गरेका छन्।

‘म ट्राफिक प्रहरीबाट अवकाश पाएर यता आएको हो। ट्राफिक प्रहरीमा मैले धेरै कुरा सिकेर आएको थिएँ। मानिसलाई कसरी व्यवहार गर्ने? कसरी सफलता प्राप्त गर्ने भन्ने कुरा मलाई थाहा छ,’ सितारामले भने।

तीन वर्ष अगाडि प्रहरीबाट अवकाश पाएर बसेका थिए, सिताराम।

उनी ट्राफिक प्रहरीमा हुँदा तीन वर्ष ललितपुरमा काम गरेका थिए। त्यतिबेला उनी हालका ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनको नजरमा परेका थिए।

तिनै चिरिबाबुले सितारामलाई आफ्नो महानगरपालिकाको नगर प्रहरीको नेतृत्व सुम्पिने इच्छा व्यक्त गरेका थिए।

आफूले आदर्श मान्ने व्यक्तिले सहकार्यको हात अगाडि बढाएपछि हौसिए सिताराम।

अवकाशपछिको आफ्नो जीवन ललितपुर नगरबासीहरुको सेवामा समर्पित गर्ने संकल्प गरे।

अनि, स्वइच्छाले न्यून सेवा सुविधामा नगर प्रहरीको नेतृत्व सम्हाले।

‘तपाईंलाई सुन्दा अचम्म लाग्ला म यहाँ सबैभन्दा कम तलबमा काम गर्छु। मेरो तलब यहाँका जवानको भन्दा पनि कम छ,’ सितारामले भने, ‘यहाँ आउनुअघि मेयरसापले कति तलब लिनुहुन्छ? भनेर सोध्नुभएको थियो। मैले तपाईंसँग काम गर्नु पाउनु मेरो लागि ठुलो कुरा हो। मलाई तलब चाहिँदैन भनेँ।’

तैपनि महानगरले करिब–करिब जवानसरह तलब दिएको उनको भनाइ छ।

सितारामले आफू ललितपुर महानगरमा जागिर खान नभएर काम गर्न आएको दाबी गर्छन्। अनि त्यहीअनुसार खट्छन्। जो, कुनै पनि दिन बिदा लिँदैनन्।

‘म बिदा नबसेको तीन वर्ष भयो। म यहाँ आएदेखि एक दिन पनि बिदा बसेको छैन। मलाई कसैले दिएको जिम्मेवारी पूरा गर्दा आनन्द आउँछ। त्यही भएर म यहाँ धेरै खटेर काम गर्छु। छोराले अस्ति घुम्नको लागि जापान बोलाएको थियो म गइनँ। मेरा लागि जापान पनि यही भक्तपुर र ललितपुर हो,’ सितारामले भने।

उचित व्यवस्थापन

सितारामले नेतृत्व लिनुअघि यहाँका नगर प्रहरी बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मात्र काम गर्थे। तर, सितारामले त्यो समयावधि फेरे।

सितारामले आफू नेतृत्वमा आएको दोस्रो दिनपछि नगर प्रहरीले २४सै घण्टा काम गर्ने योजना बनाए। उनले उपलब्ध नगर प्रहरीलाई सिफ्ट छुट्याएर दैनिक १० घण्टा काममा खटाए।

कामलाई व्यवस्थित बनाउन कार्यगत टोली विभाजन गरे। ती टोलीहरू बिहान ७ बजेदेखि काममा खटिन्छन्।

सितारामले बताएअनुसार बिहान ७ बजे एउटा टोली खट्छ। त्यो टोलीले कतै जथभावी फोहोर फ्याँकिएको छ कि, कतै सडक खण्डहरु अवरुद्ध भएका छन् कि, कतै रुख ढलेका छन् कि, तारहरु छरिएका छन् कि, ढल फुटेको छ कि! यी सबको निरीक्षण गर्छ। त्यसक्रममा समस्या देखिए समाधानको लागि अर्को टोली परिचालन गरिन्छ। उक्त टोलीका सिताराम आफैँ खटिन्छन्।

त्यसपछि बिहान ८ बजे अर्का दुई वटा टोली परिचालन हुन्छ। ती मध्ये एउटा टोली फुटपाथ व्यवस्थापनमा खटिन्छ। भने, अर्को टोली पार्किङ तथा सडकमा हुने जाम व्यवस्थापनमा खटिन्छ।

त्यसपछि आ-आफ्नो जिम्मेवारी पाएका टोलीहरु आश्यकताअनुसार परिचालित हुन्छन्।

महानगरले बजार अनुगमनको लागि पाँच वटा इलेक्ट्रिक मोटरसाइकलसहितको टोली बनाएको छ। उक्त टोलीले बजार अनुगमन गर्छ।

त्यस्तै अर्को टोली ‘र्‍यापिड एक्सन’ गाडीको छ। त्यो टोली आकस्मिक रुपमा जहाँसुकै पनि खटिन्छ।

त्यस्तै सिआइबी (सिटी प्रहरी)को टोली छ। यो टोलीले महानगरमा कहीँकतै नियमविपरीतका कार्यहरु भएका छ वा छैनन् भनेर सूक्ष्म रुपमा खोजी अनुसन्धान गरेर कारबाही गर्छ।

त्यस्तै महानगरले रुख काट्न, तार बाँध्न तथा गमलाहरु मिलाउनको लागि अर्को टोली परिचालन गर्छ। भने, मेला पर्व तथा जात्राहरुमा भीड नियन्त्रण तथा नागरिकलाई सुरक्षा प्रदान गर्ने काम अर्को टोलीले गर्छ।

त्यसैगरी महानगरले ट्राफिक व्यवस्थापन र अव्यवस्थित रुपमा पार्किङ गरेका मोटरसाइकलमा उठाउनको लागि छुट्टाछुट्टै दुई टोली परिचालन गरेको छ।

त्यस्तै अर्को एउटा टोली मन्दिर तथा धार्मिकस्थलमा पर्यटक व्यवस्थापनको लागि खटिन्छ।

प्रशंसनीय फुटपाथ व्यवस्थापन

काठमाडौँलगायत महानगरहरुले फुटपाथ व्यापारीहरुलाई धपाउने नीति ल्याए पनि ललितपुरले भने फुटपाथ ब्यापारलाई प्रशंसनीय रुपमा व्यवस्थापन गरेको छ।

महानगरले लगनखेल, मंगलबजारसहितका ठाउँमा फुटपाथ व्यापारीको लागि खुला गरिदिएको छ। 

ललितपुरको लगनखेलदेखि मंगलबजार (करिब ७ सय ८८ मिटर) क्षेत्रमा फुटपाथमा व्यापार गर्न पाइन्छ। त्यससँगै ललितपुर महानगरपालिकाले उपयुक्त चोकहरूमा पनि व्यापार गर्ने व्यवस्था मिलाएको छ।

त्यसको लागि निश्चित समय छुट्याइएको छ। ‘बिहान ८ बजेसम्म र बेलुका ५ बजेपछि फुटपाथ व्यापार गर्न पाइन्छ,’ सितारामले भने।

मंगलबजार ललितपुर र भक्तपुरका किसानका उत्पादन मानिसका चुलोसम्म पुर्‍याउने थलो हो।

जुन, त्यहाँका रैथाने नेवार समुदायको संस्कृतिसँग प्रत्यक्ष जोडिएको छ। विगतदेखि नै ललितपुर र भक्तपुरका नेवार समुदायहरुले यहाँ समान बेच्ने गर्थे। यहीँबाट नेवार समुदायको व्यापारिक परम्पराको सुरुवात हुन्छ।

ललितपुर महानगरले यो क्षेत्रलाई अहिले फुटपाथ बजारको रुपमा व्यवस्थित गरेको छ।

ललितपुर महानगरले यहाँको फुटपाथ व्यापारलाई व्यवस्थित गर्नाले विशेषगरी किसान र नगरबासीलाई प्रत्यक्ष रुपमा लाभ पुगेको छ।

‘यहाँ लेले, गोदावरी, भक्तपुरलगायतबाट किसानहरु तरकारी बेच्न आउनुहुन्छ। आमा–बुबाहरु सिधा यहाँ आएर सामान बेच्नुहुन्छ। त्यसले गर्दा बिचमा दलाली हुँदैन,’ हाछेथुले भने, ‘यसरी उहाँहरूले डाइरेक्ट पैसा पाउनुहुने भयो। सस्तोमा राम्रो र ताजा तरकारी किन्दा यहाँ बासिन्दालाई पनि फाइदा हुने भयो।’

‘हाम्रा नगरबासीलाई एकमुठा साग किन्न कालीमाटी पुग्नुपर्ने अवस्था छैन, आफ्नै दैलोमा पाइन्छ,’ उनले थपे।

त्यहाँको फुटपाथले नेवार समुदायको व्यापारिक परम्परालाई मात्रै झल्काउँदैन  बरू साना किसानलाई बिचौलियाबाट बच्ने विकल्पमात्र दिँदैन, त्यहाँका मध्यम परिवारलाई बाच्ने साहार पनि दिएको छ।

ठुला–ठुला पसल तथा मलहरुमा त्यहाँको भाडाको कारण नै सामानको मूल्य उच्च हुन्छ। 

काठमाडौँ उपत्यकामा ठुला व्यापारीहरुले मासिक एकदेखि तीन लाखसम्म भाडा तिरेर व्यापार गरेका छन्। 

उनीहरुको सामानको मूल्य त्यहीअनुसार निर्धाण हुन्छ। र, त्यसको प्रत्यक्ष मारमा आम जनता परेका छन्।

ती महङ्गा पसल र महलमा पहुँच राख्न नसक्ने मध्यम वर्गीय मानिसहरुको लागि मंगलबजारको फुटपाथ अत्यन्त प्रभावकारी बनेको छ। 

‘अन्य ठाउँमा वा मलमा गयो भने एउटै सर्टको २–३ हजार भन्छन्। मलमा जानुभयो भने एउटा पाइन्टको ५ हजार भन्छ। तर, हाम्रो लगनखेलमा आउनुहोस्, तपाईं एउटा सय रुपैयाँको २ वटा टि–सर्ट पाउँछ। एउटा पाइन्ट २ सय रुपैयाँमा पाउँछ। एउटा जुत्ता ३–४ सयमा पाउँछ। भनेको ५–६ सय भयो भने भने एउटा जिउभरि लगाउन पुग्ने कपडा आउँछ,’ हाछेथुले भने।

मध्यम बर्गीय परिवारको लागि लक्षित गरेर नै यहाँको फुटपाथ व्यापार खुला र व्यवस्थित गरिएको उनको भनाइ छ।

‘यो ठाउँलाई हामीले मध्यमस्तरको मानिसले किन्नलाई व्यवस्थित गरेको हो,’ हाछेथुले भने, ‘हामीले हटायो भने त त्यो मानिसले कहाँ किन्ने त? लविम मलमा किन्न सक्दैन, कुमारी पार्टीमा किन्न सक्दैन। भनेपछि किन्न आउनेलाई पनि सहयोग होस्। बेच्नेलाई पनि थोरै भएपनि फाइदा हुन्छ, उसले पेट पाल्न सकोस्।’

यो सँगै मंगलबजारको फुटपाथ व्यापारले पर्यटनलाई पनि सघाएको उनको भनाइ छ।

सितारामले पाएको चिरिबाबुको साथ र हौसला

सितारामलाई नगर प्रहरीको नेतृत्व सुम्पने बेला मेयर चिरिबाबु महर्जनले भनेका थिए, ‘तपाईंले यति राम्रो काम गर्नुस् कि नगर प्रहरीमाथि कसैले पनि औँला उठाउन नपरोस्। म तपाईंको साथमा छु।’

सिताराम मेयरको यही भनाइलाई आत्मसाथ गरेर काम गरिरहेका छन्। मेयर चिरिबाबुको हौसलाले नै आफू कामप्रति आकर्षित भएको सिताराम बताउँछन्।

‘उहाँ नेपालमै यस्तो मेयर हुनुहुन्छ, जो उमेर धेरै भए पनि यति सोच्नसक्छ। ३० र ४० वर्षको मान्छेले जस्तो काम गर्नसक्ने र राम्रो व्यवहार गर्ने मान्छे कहीँ पनि देखेको छैन,’ सितारामले भने, ‘उहाँले नियममा जे छ त्यही गर्नुहोला तपाईंहरुले नियमबाहिर गएर सानो काम गर्दा पनि मेरो नाम जान्छ भन्नुहुन्छ। चिरिबाबु नमुनाको मेयर हुनुहुन्छ।’ 

मेयर चिरिबाबुले नगर प्रहरीको काममा कहिले पनि हस्तक्षेप नगरेको बताए।

र, हाछेथुको अठोट छ, ‘हामीलाई यस्तो काम गर्नुछ कि यहाँ आउने जोकोहीले पनि भनून्, आहा! ललितपुर…

भिडियाे : शनि शाक्य

प्रकाशित मिति: : 2023-10-02 20:27:00

प्रतिकृया दिनुहोस्