भूकम्प पीडितकाे गुनासाेः प्रधानमन्त्रीलाई भेट्न पाएनौँ, हाम्राे कुरा सुन्नुभएन

तस्बिर: रासस
तस्बिर: रासस

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार चैनपुर आउने खबर बझाङबासीले शनिबार नै थाहा पाएका थिए।

गत मंगलबार दिउँसाे सदरमुकाम चैनपुर केन्द्रविन्दु भएर गएकाे ६.३ रेक्टरकाे भूकम्प र त्यसपछि गएका दर्जनाैँ पराकम्पनबाट अशान्त बनेका बझाङबासीलाई लागेकाे थियाे, प्रधानमन्त्री नै आउने भएपछि मनका कुरा सुनाउन पाइने भयाे।

त्यही आशा बाेकेर बझाङबासी बिहानै गाउँ–गाउँबाट सदरमुकाम चैनपुर आएका थिए। उनीहरु कतिबेला प्रधानमन्त्रीकाे हेलिकप्टर चैनपुर अवरण हुन्छ र उनलाई भेट्न पाइएला भनेर प्रतीक्षामा बसेका थिए।

याेजना सुनाइएअनुसार प्रधानमन्त्री शुक्रबार दिउँसाे चैनपुर अवरण भए। तर, गाउँ–गाउँबाट आएका भूकम्प पीडितहरुले प्रधानमन्त्रीकाे अनुहारै देख्न पाएनन्। अनि, उनीहरुकाे आशा चर्किँदाे घामसँगै उडेर गयाे।

गत मंगलबार दिउँसाे २:४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर ५.३ रेक्टर, दास्राे पटक ३:०६ बजे सदरमुकाम चैनपुर केन्द्र भएर ६.३ रेक्टर स्केलकाे भूकम्प गएकाे थियाे। उक्त भूकम्पमा परेर एक जनाकाे ज्यान गएकाे थियाे। दर्जनाैँ घाइते भएका छन्। भने, सयाैँ घरमा क्षति पुगेकाे थियाे।

भूकम्प गएकाे चार दिनपछि प्रधानमन्त्री प्रचण्ड बझाङ आएका थिए।

प्रधानमन्त्री प्रचण्ड हेलिप्कटरबाट ओर्लिएर सरासर प्रशासन भवनमा छिरे। गाउँ–गाउँबाट आएका भूकम्प पीडितहरुलाई प्रहरीले गेटमै राेक्याे।

‘प्रधानाध्यापकज्यूलाई केही समस्या सुनाउँला भनेर बिहानै आएको हुँ। भेटेर कुरा राख्न त के देख्नै पाइनँ। पहिले बाढी पहिरोका बेला आएका प्रधानमन्त्री हेलिप्टरबाट हेरेर जानुभयो। अहिलेका प्रधानमन्त्री भुइँमा त आउनुभएकै हो तर गाडीभित्र हुँइकेर प्रशासनभित्र छिर्नुभयो। हामीलाई गेटमै रोकियौँ,’ बिहान एक घण्टाकाे बस यात्रा गरेर चैनपुर आएका थलारा गाउँपालिका- ९ सिरेटाका ज्ञानबहादुर दामाइले भने।

ज्ञानबहादुरजस्तै जयपृथ्वी नगरपालिका- १० का शम्भु ओखेडा पनि प्रधानमन्त्रीलाई भूकम्पकाे त्रासबाट कटाएका अनिँदा रातहरुकाे पीडा सुनाउने याेजनासहित चैनपुर आएका थिए। उनले पनि प्रधानमन्त्रीलाई आफ्ना कुरा सुनाउन पाएनन्।

उनले पनि प्रधानमन्त्रीलाई आफ्नाे कुरा सुनाउन नपाएकाेमा गुनासाे पाेखे। भने, ‘हाम्राे टोलका एक जना पीडितसँग मात्रै बोल्नुभयो। हाम्रो पनि थुप्रै समस्या राख्ने मन थियो तर एक हुल आयो छिटो-छिटो कुरा गरेर प्रधानमन्त्री ज्यू हेर्दै नहेरी जानुभयो।’

त्यस्तै जयपृथ्वी नगरपालिका- ३ का वीरबहादुर ओलीले पनि प्रहरीले गेटमै थुन्दा प्रधानमन्त्रीसँग गुनासाे पाेख्न नपाएकाे दुखेसो पोखे।

प्रधानमन्त्रीलाई धेरै कुरा राख्न आएका केही युवाले त झन जिल्ला प्रशासन कार्यालय बझाङको गेटमै सरकारविरुद्ध नाराबाजी गरे। उनीहरुले प्रधानमन्त्री भेट्न नदिइएको भन्दै आक्रोश पोखे। प्रधानमन्त्रीविरुद्ध बोलेको भन्दै प्रहरीले उनीहरुलाई केहीबेर नियन्त्रणमा लिएको थियाे।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउदसहित चैनपुर पुगेका प्रधानमन्त्री प्रचण्डले केही पीडितहरुलाई भेट्नुका साथै चैनपुरमा एक कार्यक्रम राखेर भूकम्प पीडितकाे लागि १४ बुँदै आश्वासन बाँडे।

जसमा, भूकम्पकाे क्षतिकाे अवस्थाकाे मूल्यांकन गरेर मर्मत तथा पुन: निर्माण गर्ने, पूर्ण क्षति भएका घरपरिवारलाई तत्कालकाे लागि अस्थायी आवस निर्माणकाे लागि ५० हजार उपलब्ध गराउने, भूकम्पबाट प्रभावित घर परिवारलाई मापदण्ड बमाेजिम १५ देखि २० हजारसम्म राहत उपलब्ध गराउनेलगायत छन्।

बझाङ पुगेर के-के घाेषणा गरे प्रधानमन्त्रीले?

१. गत मंगलबारका दिन बझाङ केन्द्रबिन्दु भएर गएको भुकम्पबाट कहाँ, के, कति क्षति भएको छ यकीन गरिने छ। मूल्याङ्कन यस आधारमा सामान्य मर्मत सम्भार गर्नुपर्ने, गरी प्रबलिकरण गर्नुपर्ने वा पुनर्निमाण गर्नुपर्ने भन्ने निर्धारण गरी कार्य अघि बढाइनेछ।

२.भूकम्पबाट पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न रु.५०,००० (पचास हजार)उपलब्ध गराइने छ।

३.भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिनेछ।

५.राहत सामग्रीहरू जस्तै पाल, कम्बल, औषधी, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीहरुको व्यवस्थापन भएको छ। थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिनेछ। 

६. भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाईएको छ। 

७. भुकम्पले निम्त्याएको पहिरोमा परी मृतक हुनु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतक परिवारलाई तत्काल २ लाख सहयाेग प्रदान गरिनेछ।

८. भत्किएका, चिरा परेका, आंशिक क्षति भएका घर तथा संरचनाहरुको दीर्घकालिन पुतनिर्माण र पुनर्स्थापनाका लागि स्थानीय तह, जिल्ला प्रदेशबाट प्राप्त क्षति मूल्यांकन (Assessment) का आधारमा कार्यविधि बनाई यस अघि गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा गरिएको पुनर्निर्माण जस्तै स्थानीय सामाग्रीहरूको प्रयोग गरी सुरक्षित पुनर्निमाणको काम अगाडि बढाइने छ।

९.सरकारी कार्यालय, सामुदायिक भवन, स्कूल आदी क्षति पुगेका संरचनाहरूको (Damage Assessment) गरी यथाशीघ्र पुनः निर्माण गरिनेछ।

१०.हालसालै गएका थुप्रै भुकम्पहरूलाई जाेखिमकाे पूर्व संकेतको रूपमा लिंदै ठूलो विपदको सामना गर्न सक्ने क्षमता विकास गर्न जोखिम आंकलन (Risk Assessment) न्यूनिकरण, पूर्व तयारी र पूर्वसूचना प्रणालीको काम अघि बढाइएको छ। यी कामहरूलाई बझाङलगायत जोस्सिममा उच्च जोखिममा रहेका क्षेत्रमा समेत अघि बढाइनेछ।

११. बझाङ र सुदूर पश्चिमको समग्र विकासमा निर्णायक महत्व राख्ने कैयन परियोजना अघि बढाइएका छन्। हालै मित्र राष्ट्र चीनको भ्रमणका अवसरमा उरै भञ्ज्याङ हुँदै ताक्लाकोट सीमा नाका र दार्चुलाको टिंकर नाका समेत खोल्ने सहमति भएको छ। नेपालतर्फ दिपायल-खुटिया-उरै-ताक्लाकोट फास्ट ट्र्‌याक सडकका लागि र टिंकर जोडने महाकाली करिडोरका लागि बजेट सुनिश्चत गरिएको छ।

१२. प्राकृतिक सम्पदाले भरिपूर्ण बझाङमा खानीजन्य उद्योग तथा हिमाली पर्यटन का क्षेत्रमा तीनै तहबीच समन्वय गरी आयोजना निर्माण गरिनेछन्।

१३.नेपालको आर्थिक विकास तथा विद्युतीकरणको लागि महत्वपूर्ण पश्चिम सेती जलविद्युत परियोजनाबारे सरकार गम्भीर छ। यो परियोजा कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढेको छ।

१४. भुकम्पबाट प्रभावितहरूलाई उद्धार, राहत तथा अन्य सहयाेग प्रदान गर्न खटिनुभएका सम्पूर्ण राष्ट्रसेवक, सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज, दातृसंस्था, नीजि क्षेत्रलगायत सबैलाई सरकारका तर्फबाट धन्यवाद दिँदै आगामी दिनमा समन्वय, सहकार्य र सहयाेगका लागि समेत आव्हान गर्दछु।

प्रकाशित मिति: : 2023-10-06 19:30:00

प्रतिकृया दिनुहोस्