प्रवासी नेपाली र नेपालकाे हितकाे लागि एनआरएनकाे अध्यक्ष पदका तीन उम्मेदवारबीच छलफल (भिडियाेसहित)

पर्सि (मंगलबार)देखि सुरु हुने गैरआवसीय नेपाली संघ (एनआरएनए)काे महाधिवेसनकाे लागि विश्वभरका एनआरएनए प्रतिनिधिहरु काठमाडाैँमा भेला भएका छन्।

संसारभरि छरिएर रहेका प्रवासी नेपालीलाई एकताबद्ध गरेर नेपालकाे विकास र समृद्धिकाे लागि टेवा पुर्‍याउने याेजनासहित एनआरएनएकाे नेतृत्व सम्हाल्ने हाेडमा रहेका उनीहरुले नेपालमा रहँदा एनआरएनए र नेपालकाे हितमा विभिन्न बहस तथा छलफल गर्दै आएका छन्।

त्यसक्रममा आइतबार काठमाडाैँकाे कान्तिपथमा अवस्थित यल्लाे प्यागाेडामा एनआरएनएकाे अध्यक्ष पदका तीन उम्मेदवारले नेपालकाे विकास, एनआरएनए र महाधिवेसनबारे बहस गरेका छन्।

प्रवास खबर डटकम र टिभी सनडेकाे संयुक्त आयाेजनामा गरिएकाे बहसमा अध्यक्ष पदका उम्मेदवारहरु महेश श्रेष्ठ, बद्री केसी र आरके शर्मा सहभागी थिए।

बहसका क्रममा शर्माले ‘गैरआवासीय नेपालीको अभियान: स्वदेशमा लगानी, प्रवासमा सम्मान’ भन्ने नारासहित २४ महिनाको लागि २४ वाचा र योजनासहित नेतृत्वमा दाबी गरेका बताए। प्रवासी नेपाली कामदारहरुकाे हक/हितकाे लागि अथक प्रयास गर्ने उनकाे भनाइ थियाे।

‘मेरो कार्यकालमा फुटेको होइन, जुटेको एनआरएन बन्नेछ,’ शर्माले भने, ‘आइसिसी गठन हुने बित्तिकै सबै गैरआवासीय नेपालीलाई एकताको मालामा उन्ने अभियानमा लाग्नेछु। विश्वभरि छरिएर रहेका प्रवासी नेपालीलाई एकताको सूत्रमा बाँधी भरोसायोग्य, विश्वसनीय र संगठित एनआरएनए बनाउने मेरो प्रमुख लक्ष्य रहनेछ।’

यसैगरी अर्का उम्मेदवार एवम् हालका कार्यकारी अध्यक्ष डा.बद्री केसीले आफूले गरेका कामहरु नै आफ्नाे चुनाव जित्ने आधार रहेकाे बताए। उनले अघिल्लाे कार्यकालमा गर्न नपाएका र नसकेका काम आउँदाे कार्यकालमा पूरा गर्ने वाचा दिए।

‘विगतका वर्षमा मैले कार्यभार सम्हाल्दै गर्दा धेरै कार्यहरु गरेँ। त्यसमा केही अधुरा पनि छन्,’ उनले भने, ‘ती कार्यहरु सम्पादनका लागि भएपनि मेरो उम्मेदवारी रहेको छ।’

यसैगरी अध्यक्ष पदका उम्मेदवार महेशकुमार श्रेष्ठले ‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ भन्ने नारासहित १० अर्बको सामूहिक लगानी कोषलाई पहिलो प्राथमिकतामा राख्ने बताए।

‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ नारासहित दुई वर्षे कार्यकालमा नेपालमा वैदेशिक लगानी भित्र्याउन ठोस नीतिगत पहल गर्ने मात्र होइन, गैरआवासीय नेपालीहरुको पुँजीलाई जन्मभूमिको विकासका लागि योगदान गर्ने उद्देश्यले सुरू गरिएको रु. १० अर्बको सामूहिक लगानी कोषलाई तत्कालै कार्यान्वयन गर्ने पहिलो प्राथमिकतामा राख्नेछु,’ श्रेष्ठले भने।

पद र प्रतिष्ठाका लागि भन्दा पनि संघलाई ठोस योगदान गर्नकाे लागि उम्मेदवारी दिएकाे उनकाे भनाइ छ।

‘सबल, साझा र एकताबद्ध एनआरएनए, परिणाममुखी, पारदर्शी र समावेशी एनआरएनए’ बनाउने मेरो प्रमुख उद्देश्य र सर्वोच्च प्राथमिकता हुनेछ,’ उनले भने, ‘एनआरएनएमा विगतको मेरो भूमिकालाई नजिकबाट अवलोकन गर्नुहुने सम्पूर्ण गैरआवासीय नेपाली समुदायलाई म पद र प्रतिष्ठाका लागि भन्दा पनि संघलाई ठोस योगदान दिने उद्देश्यले सक्रिय हुँदै आएको छु।’ विजयी भएर शपथ लिएका दिनदेखि वार्षिक क्यालेन्डर र कार्ययोजना बनाएर सबैको विश्वास जित्नेगरी काम गर्ने उनकाे भनाइ छ।

महाधिवेसन यही अक्टाेबर १८ देखि २० तारिखसम्म काठमाडाैँमा हुँदैछ।

भिडियाे :

प्रकाशित मिति: : 2023-10-15 20:11:00

प्रतिकृया दिनुहोस्