खोकना चिनाइरहेको ‘ताइचिन’

५०औँ वर्षदेखि एउटै जातको धान खेती गर्दै आएका खोकनाका कृषकहरुले ‘ताइचिन’ धानलाई आफ्नो ब्राण्ड जस्तै बनाइरहेका छन्। जसले खोकना चिनाइरहेको छ।


कृषि विज्ञहरु सामान्यतया धानको जात तीन/चार वर्षमा परिवर्तन गर्नुपर्ने सुझाउँछन्। नयाँ हाइब्रिड धानको जात त वर्षदिनमा फेर्नुपर्ने हुन्छ।

तर ललितपुरको खोकना क्षेत्रमा वर्षौँदेखि एउटै जातको धान खेती हुँदै आएको छ। हाइब्रिड, मन्सुलीलगायत जातको धान खेती गर्ने कृषक बढ्दै गर्दा ललितपुर महानगरपालिका–२१ खोकनाका कृषहरु भने वर्षौँदेखि पुरानै जातको धान खेती गर्दै आइरहेका छन्।

त्यो हो, ‘ताइचिन’ धान। ताइचिन अहिले खोकनाको ब्राण्ड जस्तै बनेको छ।

०००

खोकना काजिराम महर्जन ५६ वर्ष भए। उनलाई थाहा भएदेखि उनको खेतमा ताइचिन धानबाहेक अर्को धान खेती गरिएको छैन।

उनका बाजेले ताइचिन धान खेती गरे। बुवाले पनि ताइचिन धान नै खेती गरे। आज काजिरामले पनि खेतमा ताइचिन धान नै खेती गर्दै आइरहेका छन्। ‘हजुरबुवाको पालादेखि यही धान लगाइरहेका छौँ’, काजिराम भन्छन्।

०००

अमितप्रताप महर्जन ५२ का वर्ष भए। उनी पनि ताइचिन धानबाहेक अर्को खेती गर्दैनन्। आजपर्यन्त पनि उनी खेतमा चाइचिन धान लगाउँदै आएका छन्।

यो धान कहिलेसम्म लगाइरहेन? 
अमितप्रतापको भन्छन्, ‘हिजो थाहा पाउनेदेखि यही धान लगाउँदै आयौँ। यो कहिलेसम्म लगाइन्छ थाहा छैन।’

उनले खोकना क्षेत्रमा अधिकांशले ताइचिन धान खेती गर्दै आइरहेको बताए। ‘केहीले मात्र अन्य धान लगाउन थालेका छन्। नत्र गाउँमा धेरैले चाइचिन धान नै लगाउँछौँ।’

खोकना क्षेत्र ललितपुरको धेरै धान खेती हुने ठाउँमध्ये एक हो। ललितपुर-२१ का वडाध्यक्ष रविन्द्र महर्जनले खोकना, बुमतिका धेरैजसो कृषकहरुले ताइचिन धान खेती गर्दै आइरहेको बताए।

किन ताइचिन धान?

कृषि विज्ञहरु नेपालको धान वृद्धि गर्न नयाँ–नयाँ धानका जात सिफारिस गर्दै आइरहेका छन्। स्वदेशकै होस् कि विदेशबाट ल्याइएको होस्, नयाँ जातको धान खेती गर्न कृषकहरुलाई सुझाउँछन्।

सोहीअनुसार कृषकहरु पनि नयाँ जातको धानखेती गर्दै आइरहेका छन्। कृषि मन्त्रालयका सह–सचिव रामकृष्ण श्रेष्ठ धान वृद्धि गर्न नयाँ जातका धानहरु सिफारिस गरिरहेको बताउँछन्।

अहिले धेरै ठाउँका कृषकहरुले पुराना धानबालीहरु लगाउन छाडेको उनले बताए। जसले उत्पादन वृद्धि हुँदै आइरहेको छ।

तर खोकनाका कृषकहरु करिब ५०–६० वर्षदेखि ताइचिन धानकाे खेती गर्दै आइरहेका छन्। खोकना श्यामभक्त महर्जन भन्छन्, ‘पहिले अन्य जातको धान लगाइन्थ्यो। ताइचिन धान लगाउन थालेको ५०–६० वर्ष भयो होला।’

किन वर्षौँदेखि यही धान खेती गरिँदै आइएको छ? त्यसको मुख्य कारण ताइचिन चिउराको माग बढ्नु हो।

चिउरा बिक्रीका लागि पनि ताइचिन धानको खेती गरिने गरिएको श्यामभक्त बताउँछन्। उनले भने, ‘बजारमा ताइचिनको चिउराको माग बढ्दो छ। यसका लागि पनि हामीले यही धान खेती गर्दै आइरहेका छौँ।’

चिउरा बिक्रीका लागि मात्र नभएर ताइचिन धान महँगोमा बिक्री हुने गरेकाले पनि यो निरन्तर रुपमा लगाइरहेको काजिराम बताउँछन्। ‘अन्य धानभन्दा यो धान महँगोमा बिक्री हुन्छ,’ उनले भने।

उनकाअनुसार अहिले ताइचिन धान १९० रुपैयाँ केजीसम्म बिक्री हुने गरेको छ। यो सामान्यता महँगो हो।

साथै यस धानको जाँड पनि राम्रो हुने उनको भनाइ छ। ‘हाम्रो नेवार परम्पराअनुसार सबै चाडपर्वमा जाँड, रक्सी चाहिन्छ। जाँड, रक्सी यस धानको राम्रो हुन्छ। त्यसैले पनि यस धान लगाउने गरिन्छ,’ काजिरामले भने।

उनी पहिलेभन्दा धान उत्पादन घट्दै गएको भएपनि ताइचिन लगाउन नछाडेको बताउँछन्। ‘पहिले गाई, भैँसीको मल हुन्थ्यो। एक रोपनीमा आठ मुरीसम्म फल्थ्यो,’ उनले भने, ‘अहिले रासायनिक मल हालेर धेरै उत्पादन हुँदैन। घटेर एक रोपनीमा छ मुरीसम्म फल्छ।’

कृषि मन्त्रालयका सह–सचिव श्रेष्ठ रासायनिक मलको प्रयोगसँगै पुरानै जातको धान लामो समयसम्म लगाउँदा उत्पादन घटेको बताउँछन्।

‘उत्पादन घट्नुमा दुई कारण हुन्छ,’ उनले भने, ‘एउटा रासायनिक मल प्रयोग गर्दा माटो बिग्रिएपछि र अर्को लामो समयसम्म एउटै जातको धान खेती गरिरहेपछि धान उत्पादन घट्छ।’

श्रेष्ठले एक जातको धान बढीमा चार वर्षसम्म लगाउन उपयुक्त हुने बताए। ‘धेरैमा एक जातको एकै ठाउँमा चार वर्षसम्म लगाउँदा राम्रो मानिन्छ। त्यसपछि क्रमश: उत्पादन घट्दै जान्छ,’ उनी भन्छन्, ‘नयाँ हाइब्रिड धान त प्रत्येक वर्ष परिवर्तन गर्नुपर्छ।’

ताइचिन धान जापान, चाइनाबाट नेपाल भित्रिएको थियो। 

तस्बिर/भिडियाे: रविन पुन मगर (आइडु)

प्रकाशित मिति: : 2023-11-09 05:29:00

प्रतिकृया दिनुहोस्