मेलेसियामा बेपत्ता गोपाललाई उद्धारपछि नेपाल ल्याइयो

वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका झापाको मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरेलाई नेपाल ल्याइएको छ। 

अठार वर्षअघि मलेसिया गएका घिमिरेलाई मलेसियाको नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो। उनकी आमा सानी घिमिरेले खोजीका लागि सार्वजनिक अपिल गरेपछि गोपालको खोजी भएको थियो। 

शुक्रबार क्लालाम्पुरबाट काठमाडौँ आएका गोपाल शनिबार घर आइगेको सांसद एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए। 

गैरकानुनीरूपमा मलेसियामा रहेका गोपाललाई स्वदेश फर्काउन हवाई टिकट र जरिवाना गरेर नेपाली रु एक लाख चार हजार एक सय ६० तिर्नुपरेको नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोलाराज पङ्गेनीले जानकारी दिए।

विसं २०६१ चैत ८ गते प्रोडक्सन अपरेटर कामका लागि श्रम अनुमतिपत्र पाएर १९ वर्षका उमेरमा गोपाल मलेसिया गएका थिए। घर फर्किँदा उनी ३७ वर्षको भइसकेका छन्। 

मलेसिया पुगेको एक सातापछि उनीमाथि गैरकानुनी कामदार भएको आरोप लागेको थियो। यसपछि उनको वास्तविक अवस्थाबारे नेपालमा रहेको परिवार बेखबर थियो।

विदेशमा हराएको छोरा फर्केर घर आएकामा घिमिरेकी आमा सानीले खुसी व्यक्त गरिन्। 

गोपालले मलेसियामा रहँदा ज्यादै दुःख र सास्ती व्यहोर्नुपरेको बताए। ‘गैरकानुनी कामदार भएपछि बस्न र खानै मुस्किल परेको थियो’, उनले आमासँग आफ्नै घरमा भेट भएपछि भने, ‘यतिका वर्ष विदेश बस्दा सुको कमाएर घर पठाउन सकिनँ। आमाको आशीर्वादले बाँचेर आउन पाएँ, यसैमा म खुसी छु।’
 

प्रकाशित मिति: : 2023-11-26 10:15:00

प्रतिकृया दिनुहोस्