पुस्तक अंश:

पितृ – सत्तात्मक चिन्तनको प्रतिबिम्ब बहुविवाह 

बहुविवाह नामको कुप्रथाले हरेक परिवारमा विखण्डन ल्याउनुका साथै, विवाहित जोडीको भविष्य अन्धकारमय बनाउने र समाजमा विकृति, विसङ्गति बढाउने भएकोले हरेक समुन्नत र सभ्य समाजमा बहुविवाहलाई अपराधको रूपमा घोषणा गरिएको हुन्छ। तथापि नेपाली समाजमा प्राचीनकालदेखि नै बहुविवाह प्रद्धति प्रचलित हुँदै आएको थियो र आज पनि पितृसत्तात्मक पुरातनवादी सोच र चिन्तनको प्रतिबिम्बका रूपमा नेपाली समाजमा यथावत् रहेको छ। 

लिच्छवीकालमा पनि त्यस समाज कृषिप्रधान भएको हुनाले एक पुरुषका अनेक श्रीमती हुन्थे। लिच्छविकालका प्रथम प्रामाणिक राजा मानिएका मानदेव प्रथमका भोगिनी, क्षेमसुन्दरी र गुणवती नाम गरेकी तीन रानी थिए। त्यतिबेला एक महिलाले पनि अनेक पुरुषसँग विवाह गर्न सक्थिन् तर त्यो कार्यलाई निन्दनीय मानिन्थ्यो। मध्यकालमा बहुविवाहले समाजमा उग्ररूप लियो। यो समयमा शोषक र सर्वसाधारण जोसुकैले जति बढी श्रीमती ल्याउन सक्छन्, त्यसलाई बहादुरीका साथ हेर्ने र उसको प्रतिष्ठाको विषय बनाउन थाले।

यसैगरी, नेपाल एकीकरणपछि पनि बहुविवाहलाई झन प्रोत्साहित गर्न थालियो र यसले सामाजिक मान्यता पाइरह्यो। पृथ्वीनारायण शाहकी पनि इन्द्रकुमारी र नरेन्द्रलक्ष्मी नामकी दुईजना रानीहरू थिए| तिनका छोरा प्रतापसिंह शाहकी राजेन्द्रलक्ष्मी र नरेन्द्रलक्ष्मी नामकी दुई रानी थिए। 
प्रतापसिंह शाहका छोरा रणबहादुरले त हजुरबुबा र बबालाई उछिनेर पाँचवटी श्रीमती ल्याएका थिए। तिनै रानीहरूको नाम क्रमशः राजराजेश्वरी, सुवर्ण प्रभा, कान्तिमती, चन्द्रावती र ललितात्रिपुरी सुन्दरी थियो ।

त्यसैगरी, राणा प्रधानमन्त्रीहरूले पनि बहुविवाहलाई बढवा दिइरहे| राणाकालपछिका पञ्चायत, बहुदललगायतका हरेक व्यवस्थाले र आजको आधुनिक नेपाली समाजमा पनि यो वा त्यो बहानामा बहुविवाहले प्रोत्साहन पाइरहेको देखिन्छ।

हामी सबैलाई थाहा छ, बहुविवाह कानुनतः दण्डनीय र सभ्य समाजको लागि निन्दनीय कार्य हो। तथापि कानुनका रक्षक र समाजका प्रतिष्ठित व्यक्ति नै बहुविवाहका मतियार देखिन्छन्। जबसम्म कानुन बनाउने र कार्यान्वयन गर्ने निकायमा बसेकाहरूले बहुविवाह भनेको पारिवारिक खुसी खोस्ने र सामाजिक विकृतिलाई मलजल दिने कथित पितृसत्तात्मक सामन्ती पुरातनवादी सोच र चिन्तनको प्रतिबिम्ब हो, यसको अन्त्यले नै समुन्नत सभ्य समाज निर्माण गर्न सकिन्छ भन्ने कुरा बुझ्दैनन्, तबसम्म नेपाली समाजमा बहुविवाह नामको कथित कुप्रथाको अन्त्य हुनै सक्दैन।

बहुविवाह विरुद्धको सामाजिक अभियानमा युवापुस्तालाई समावेश गर्दै र बहुविवाह विरुद्धका हरेक कार्यक्रमहरूमा युवाहरू सहभागी हुने सहज वातावरणको सिर्जना सरकार मातहतका हरक अधिकारी र निकायले गर्नुपर्दछ। यसले नै बहुविवाहविरुद्धको सरकारी अभियानले सार्थकता पाउनेछ, न्याय र समानतासहितको सुन्दर र सभ्य समाजको निर्माण हुन सक्दछ।

विवाह महिला र पुरुषबिचको कानुनी र सामाजिक सम्बन्ध स्थापित गर्ने माध्यम हो। यसबाट एकले अर्कोलाई जीवनभर साथ दिने कबुल गरेर जीवनसाथीको रूपमा कहिल्यै नछुट्ने गरी सम्बन्ध जोडेका हुन्छन्। तथापि विविध कारणले आफूभित्रको अन्तरसङ्घर्षलाई फराकिलो भएर हल गर्न नसक्दा वा पारिवारिक र सामाजिक प्रभावमा परी बहुविवाह गर्दा दुवैको जीवन यो वा त्यो ढङ्गले अँध्यारो दिशातिर मोडिन सुरु हुन्छ।

विशेष त महिलाको जीवनमा कठिन परिस्थितिको वर्षा नै हुन्छ| कथित पितृसत्तात्मक सामन्ती सामाजिक परिपाटीका कारण महिलाहरूलाई नियमित जीवन जिउन गाह्रो भएको देखिन्छ| कथित बहुविवाहको कारण थुप्रै महिलाको आत्मसम्मानमाथि ठूलो धक्का लागेको हुन्छ।

मुलुकी अपराध (संहिता) २०७४ को दफा १७५ मा कुनै पनि विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न हुँदैन र कुनै पनि महिलाले कुनै पुरुष विवाहित हो भन्ने कुरा जानीजानी अर्को विवाह गर्नुहुँदैन भन्ने कुरा उल्लेख गरिएको छ । यदि कानुनविपरीत विवाह गरेमा महिला होस् या पुरुष दुवै सजायका भागीदार हुन्छन्, भनिएको छ।

बहुविवाह गरेमा कसुर गर्ने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दश हजारदेखि पचासहजार रूपैयाँसम्म जरिवाना गरिने र बहुविवाह स्वतः बदर हुने व्यवस्था गरिएको छ भने अर्कातिर पुनः कानुन नै अन्यौलतामा राख्नेगरी र बहुविवाह नामको कथित कुप्रथालाई बढवा दिनेगरी देवानी (संहिता) २०७४ मा कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मेमा स्वतः विवाह भएको मानिनेछ, भनिएको छ। 
यस्तो विवादित कानुनले कसरी हाम्रो समाजमा युगौँदेखि बलियो जरा गाडेर बसेको बहुविवाह नामको कथित कुप्रथाको अन्त्यका लागि सहयोग गर्न सक्ला र? यो सबै सचेत योद्धाका लागि सोचनीय विषय हो। यस्तो विवादित कानुनको अन्त्य आजका आवश्यकता हो। वर्तमान परिवेशमा सरकार आफैंले बहुविवाह अन्त्यको लागि अभियान सञ्चालन गरेको छ। 

यो सकारात्मक पक्ष हो तथापि कानुनमा नै कुरा बाझिंदा बहुविवाहविरुद्धको सरकारी अभियानमा थप चुनौती सिर्जना भएको देखिन्छ। यति मात्र होइन, सजायको सन्दर्भमा पनि हरेक सजाय भोगिरहेको व्यक्तिलाई अधिकतम सजाय हुनुको सट्टा न्युनतम सजाय हुने गरेको र त्यसमा पनि महिलालाई झन् कम हुने गरेको कारणले पनि बहुविवाह अन्त्यको चुनौती हाम्रा सामु भीमकाय पहाड बनेर खडा भएको छ। 

न्याय र समानतासहितको समुन्नत, सुन्दर र सभ्य समाज निर्माणको लागि पारिवारिक सुख र खुसी अनिवार्य सर्त हो। जबसम्म हाम्रो समाजबाट बहुविवाह नामको पारिवारिक र सामाजिक सद्भाव खल्बलाउने कथित कुप्रथाको अन्त्य गर्न सकिँदैन, तबसम्म गणतान्त्रिक नेपाल सरकारको समृद्ध नेपाल र खुसी नेपाली बनाउने लक्ष्य पनि पूरा हुन सक्दैन। 

कानुन निर्माताहरूले कानुन कार्यान्वयनमा आफै अन्यौलता सिर्जना गर्नेखालका दफा, उपदफा राख्ने होइन कि स्पष्ट कानुन बनाएर कठोर कार्यान्वयनको व्यवस्था गर्नु वर्तमान परिस्थितिको आवश्यकता हो। कुनै पनि सभ्य समाजको लागि बहुविवाह नामको कथित कुप्रथाको स्थान हुनैसक्दैन।

यसले कतिपय महिलाको जीवनमा बाँच्ने आशा समाप्त पारेर आत्महत्या गर्न बाध्य पारेको हुन्छ भने बाँचेकाहरू पनि पटक-पटक मर्दै बाँचेका हुन्छन्। आजीवन उनीहरूको सपना सिसाझै फुटेको हुन्छ।

महिलाको आत्मसम्मान, गरिमा र प्रतिष्ठा बचाउनको लागि मात्र होइन, न्याय र समानतासहितको समुन्नत, सुन्दर र सभ्य समाज निर्माणको लागि पनि यो कथित कुप्रथाको अन्त्य हाम्रो समाजबाट हुनैपर्दछ। बहुविवाह गर्ने विभिन्न कारणमध्ये प्रमुख कारण उत्तराधिकारीको रूपमा छोरा नै हुनुपर्ने सामन्ती पितृसत्तात्मक सोच र चिन्तन हो।

कतिपयले छोरा जन्माउनै पर्ने सामाजिक कारणले गर्दा पनि बहुविवाह गरेका छन् भने अधिकांशले महिलालाई मनोरञ्जनको साधन र खेलौनाको रूपमा हेरर बहुविवाह गर्ने गरेका छन्। जुनसुकै कारण देखाएर भए पनि गरिएको बहुविवाह अपराध नै हो। त्यसैले बहुविवाह विरुद्धको अभियानमा आ-आफ्नो ठाउँबाट लागौँ, सचेत र सभ्य नागरिकको परिचय दिऔं।

हाम्रो समाजमा कुप्रथाको रूपमा रहेको बहुविवाह अन्त्यको लागि सचेत युवा पुस्ताको महत्वपूर्ण भूमिका हुन्छ| सचेत र सभ्य युवापुस्ता न्याय र समानतामूलक समुन्नत, सुन्दर र सभ्य समाज निर्माणको लागि सञ्चालन भएका हरेक अभियानमा सक्रियतापूर्वक सहभागी हुनुपर्दछ। युवापुस्ताबाट नै हरेक परिवर्तन सम्भव भएको कुरा इतिहासले पनि प्रमाणित गरिसकेको छ। त्यसैले, बहुविवाह अन्त्यको सामाजिक अभियानमा पनि युवापुस्ताको महत्वपूर्ण भूमिका हुन्छ। सचेत युवापुस्ताले सञ्चालन गर्ने सचेतनामूलक समाज रुपान्तरणको अभियानबाट मात्र यो कथित कुप्रथाको अन्त्य गर्न सकिन्छ। सम्पूर्ण सचेत र सक्षम युवापुस्ता एकताबद्ध भएर बहुविवाह नामको कथित कुप्रथा अन्त्यको अभियानमा लागौँ। न्याय, समानतामूलक, समुन्नत, सुन्दर र सभ्य समाज निर्माण गरौं।

(प्रस्तुत लेख लक्ष्मीकन्या बुढा 'प्रतीक्षा' को भर्खरै प्रशासित पुस्तक 'मुक्ति अभियान'बाट लिइएको हो। उनी 'कर्णालीमा महिला भाग १ र २ की लेखिका हुन्।)

प्रकाशित मिति: : 2021-02-06 13:12:00

प्रतिकृया दिनुहोस्

ट्रेन्डिङ