श्रीमानको मृत्यु भयो, आफ्नै अंश माग्दा ‘चरित्रहीन’ भनेर घरबाट निकालिदिए, अस्पतालले ‘पागल’ लेखिदियो

एउटा शिक्षित परिवार। श्रीमान-श्रीमती दुवै अन्तर्राष्ट्रिय स्तरको गैरसरकारी संस्थाका जागिरे। संयुक्त परिवार थियो तर सजिल्यै चलिरहेको थियो। सुखी पनि थियो परिवार, खुसी पनि।

पत्तै हुन्न, जीवनका यी खुसीमाथि कतिबेला बादल लाग्छ!

सुगिता धिताल (शाह)को जीवनाकाशमा पनि एक दिन त्यस्तै एउटा बादल छायो। दु:ख-सुख त छायाजस्तै त हुन्, तर त्यो बादल उनको जीवनबाट फाटेनन्। बरु अझ घनघोर बनेर आयो।

सामान्य बिमार लागेर अस्पताल भर्ना गरिएका श्रीमान दशरथ धितालको मृत्यु भयो- २०७२ साल असोज २३ गते।

काठमाडौँ–१५ चमतीमा एउटा तीन तले पक्की घर छ। लामो समय जागिर गरेर परिवार चलाउँदै बचाएको पैसा जोरजाम गरी उनीहरूले सपनाको त्यो घर ठड्याएका थिए। जसको पूर्जामा सुगिताकै श्रीमान दशरथको नाम छ।

दशरथको मृत्युसँगै उनका भाई-बुहारी (सुगिताका देवर-देवरानी) त्यो घरमाथि आफ्नो पनि हकदाबी गर्न आइपुगे।

बियोगको यो बादल पनि फाटिसकेको थिएन, सुगिताको जीवनमा अर्को उल्झन आइलाग्यो- अंशबण्डा।

सुरु-सुरुमा त सुगितालाई लाग्थ्यो– घरको कुरा घरमै राखौँ। बाहिर नल्याऔँ। बढी भए कानुनले जे न्यायनिसाफ गर्छ, त्यहीँ गरौँ। एउटा अंशबण्डाको कुरा न हो। जसरी पनि मिलाऔँ।

घरकी जेठी बुहारी। श्रीमानले आमा–छोरीलाई एक्लो बनाएर छाडेको आठ वर्ष पुगिसकेको छ। आजसम्म मिलीबसेको परिवार आखिर विवाद गरेर के नै हुन्छ र?

तर परिस्थिति आफैले सोचेजस्तो कहाँ हुन्छ र!

कसैको वशमा नहुने समय सुगिताको वशमा पनि रहेन।

खेल उनको कल्पनाभन्दा पनि धेरै टाढा पुगिसकेको थियो।

अंशबण्डाको कुरा हो। अंशमाथि कानुनी अधिकार घरकी जेठी बुहारीकै हुन्छ, त्यो पनि आफ्नै श्रीमानको पूर्जा भएको सम्पत्ति।

त्यही अधिकार माग्दै उनले जिल्ला अदालत काठमाडौँमा ५ बैशाख २०८० मा मुद्धा दायर गरिन्।

श्रीमान दशरथ धितालको नाममा रहेको काठमाडौँ–१५ चमतीको घरमाथिको अधिकार उनले मागेकी थिइन्। त्यो पनि श्रीमान बितेको आठ वर्षपछि।

उनले सोचेकी थिइन्– अब अदालतले कानुन बमोजिम न्यायनिसाफ गर्नेछ। जे हो त्यही हुनेछ। सबै अदालतले भने बमोजिक सहौँला।

तर कानुनी लडाईं यति बिघ्न भएर आयो कि, सुगिताले कल्पना पनि गरेकी थिइनन्। सम्पत्तिमाथिको एउटा लडाईं आज आएर निकै पर पुगिसकेको छ। अदालतमा बिचाराधीन मुद्धाको अन्तिम फैसलाको पर्खाइमा सुगिता छिन्।

तर उनको यो पर्खाइ निकै अप्ठ्यारो मोडमा पुगिसकेको छ।

सम्पत्ति माथिको हक दाबी गरेपछि उनी घरबाटै निकालिएकी छिन्। एकल महिला घर भित्रैबाट ‘चरित्रहीन’, पागल, ‘लाज-पचेकी आइमाईं’को बिल्ला भिरेर।

घरको कुरा न हो भन्दै लुकाएर राखेका वेदना आज संसारले देख्ने गरी सामाजिक सञ्जालमा पोख्नु परेको छ।

‘ब्यतिगत जीवनका कुरा सधैं ब्यतिगत हुँदा रहेनछन्। परिवारका कुरा परिवार भित्रै अटाउन नसकिने दिन पनि आउँदो रहेछ। तपाईंलाई कसैले पागल, चरित्रहीन भन्दा कस्तो महसुस हुन्छ? म आफ्नै परिवारबाट पागल र चरित्रहीन प्रमाणित भएककी छु। लाज पचेकी आइमाईको दर्जा पाएकी छु,’ आइतबार उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको लामो वेदन हो यो।

आधारबिनै अस्पतालले दियो ‘पागल’ भएको प्रमाण!

सुगिता संसारले देख्ने गरी किन आफ्ना वेदना पोख्ने अवस्थामा पुगिन्?

यो थाहा पाउन मानसिक अस्पताल लगनखेल, ललितपुरको एउटा प्रमाण–पत्रसम्म पुग्नैपर्छ।

गएको जेठ १९ गते एउटा निवेदन अस्पतालमा एकाएक पुग्यो। त्यो पनि १३ वर्षअघिको एउटा प्रमाण माग्न। सुगिताको नामबाट पुगेको निवेदनमा लेखिएको छ– ‘जँचाएको र औषधि लेखेको विवरण पाउँ…।’

अस्पताललाई खेलेको पत्रको आशयमा २०६७ साल असार २४ गते मानसिक समस्या सम्बन्धी जाँच गरेको र जाँच गरेको सिफारिस माग गरिएको छ। साथै के–के औषधि अस्पतालले दिएको थियो, त्यो पनि पत्रमा माग गरिएको छ।

तर त्यो पत्र लगेर सुगिता अस्पताल पुगेकी होइनन्। पत्र लगेर अस्पताल पुग्ने हुन् बबिता धिताल बस्नेत। उनले पत्र लगेर अस्पतालबाट उपचार गराएको प्रमाण मागेकी हुन्।

अस्पतालले पत्र प्राप्त भएको तीन दिनपछि २२ गते प्रमाणित पत्र दिएको छ। उक्त पत्रमा सुगिताले २०६७ साल असार २४ गते ओपिडीको दर्ता नम्बर १२१००मा दर्ता गरेर मानसिक रोगसम्बन्धी चेकजाँच तथा परीक्षण गरेको देखिएको भनिएको छ।

अस्पतालका निर्देशक डा. अनन्त प्रसाद अधिकारीले दिएको उक्त प्रमाणपत्र बबिताले बुझी लिएको लेखिएको छ। यहाँ बबिता जोडिइन्। बबिता सुगिताकी देवरानी हुन्। २४ गते अस्पताललमा निवेदन लगेर दिने र बुझ्नै उनै हुन्।

१३ वर्षअघि चेकजाँच गरेको प्रमाणपत्र किन अहिले खोजियो? त्यो पनि सुगिताले अंश माग्दै अदालतमा मुद्धा दायर गरेको तीन महिनापछि। सुगिता भन्छिन्, ‘मेरो मुद्धा कमजोर पार्नका लागि हो।’

उक्त पत्रले कसरी मुद्धा कमजोर हुन्छ? अर्को प्रश्न उठ्न सक्छ। अस्पतालले सुगिताले २०६७ सालमा मानसिक समस्याको उपचार गरेको प्रमाणित गरिदियो। अहिले बबिता र उनका श्रीमान नमराज धिताल सुगिता मानसिक रोगी भएको प्रमाणित गर्न खोज्दैछन्।

के सुगिताले अस्पतालमा १३ वर्षअघि मानसिक रोगसम्बन्धी जाँच गरेकी थिइन्? उनी भन्छिन्, ‘गराएको थिएनँ। सधैं स्वस्थ व्यक्ति हुँ। अस्पतालले मलाई कसरी पागल प्रमाणित गरिदियो आश्चर्यमा छु।’

उनले काठमाडौँको चमतीमा रहेको घर अंशबण्डा नगर्नका लागि देवर र देवरानी (नमराज –बबिता)ले यो सबै खेल खेलेको बताउँछिन्। ‘चमतीको घरमा हाम्रो कुनै लगानी नभएको प्रमाणित गर्न उनीहरू (देवार–देवरानी)ले मेरो श्रीमान (दशरथ) सधैं बेरोजगार भएर बसेको र म पहिलेदेखि पागल भएको प्रमाणित गर्न खोज्दैछन्,’ सुगिताले बिएल नेपाली सेवासँग भनिन्।

तर चमतीमा बनेको घर आफूहरूको कमाइले बनाएको उनी दाबी गर्छिन्। ‘हामी कहिल्यै बेरोजगार भएर बसेनौँ। श्रीमानले विभिन्न संघसंस्थामा काम गर्नुभयो। मैले पनि संघसंस्थादेखि स्कुलमा पढाएँ। अहिले पनि पढाउँदैछु,’ उनले भनिन्, ‘घर हामीले बनाएको हो। आखिर सबै घर मागेको पनि होइन। जति पर्छ त्यतिनै चाहियो भनेको मात्र हो।’

तर घरमा सासु–ससुराले केही नभने पनि देवर–देवरानीले सम्पत्तिको अंशबण्डा नगर्ने सोचाइका साथ यो खेल खेलको सुगिताको बुझाइ छ। अदालतमा दायर गरेको एउटा रिटमा सुगिताका देवर–देवरानीले लेखेका छन्– ‘हामीहरूको दाजु, जेठाजु दशरथ धिताल अघिदेखि नै रोगी बिरामी भइरहने अशक्त भएकाले घर व्यवहार, आयआम्दानी केही नगर्ने बाहिर बाहिरै घुमफिर गर्ने गरी आएको र निजको हेरचाह आमा–बुबाले गर्दै आउनु भएको थियो।’

यो दाबी सबै गलत रहेको सुगिता बताउँछिन्। उनले श्रीमान दशरथले यूनाइटेड मिसन टु नेपालमा २०५५ सालदेखि ०५८ सालसम्म र मानव विकास तथा सामुदायिक सेवामा २०६१ देखि करिब ११ वर्षसम्म काम गरेका थिए।

‘श्रीमानले यति लामो समयसम्म काम गर्नुभयो। मैले पनि पोषण प्रवर्द्धन कार्यक्रमदेखि विभिन्न विद्यालयमा पढाएँ। अहिले पनि बिहान–बेलुका पढाउँदै छु,’ सुगिताले भनिन्, ‘म कसरी हिँजो मानसिक समस्यामा थिएँ? यहाँ मलाई गलत प्रमाणित गर्न खेल खेलिदैछ। त्यसमा अस्पतालले पनि साथ दिएको छ।’

स्नातकोत्तर अध्ययन सकेकी सुगिता अहिले पनि शिक्षण पेशामै छिन्। उनले आफुलाई एक पटक पनि अस्पतालले नसोधेर कागज बनाएको भन्दै अस्पतालका निर्देशकमाथि कारबाही हुनुपर्ने माग गरिन्।

‘यस्तो गम्भीर प्रकृतिको विषयमा किन अस्पतालले केही सोधन? अस्पतालमा कसरी म बिरामी भएको किर्ते हुन पुग्यो? बुझ्दै नबुझि प्रमाणित गरिदिने? उनले प्रश्न गरिन्,’ अस्पतालमा किर्ते गर्नेलाई पनि कारबाही हुनुपर्छ।’

मानसिक अस्पतालका निर्देशक अधिकारीले २०६७ सालको ओपिडीमा नाम भएकाले उनीले उपचार गरेको हो भनि प्रमाणित गरिदिएको मात्र बताए।

‘ओपिडीमा नाम रहेछ। चेकजाँच त राम्रो मान्छेले पनि गर्न पाउँछ। हामीले पनि सुगिताले चेकजाँच गरेको हो भनेर प्रमाणित मात्र गरेका हौँ,’ उनले बिएल नेपाली सेवासँग भने, ‘हामीले उनी मानसिक समस्यामा थिइन् भनेका छैनौँ। निवेदन आयो दियौँ। रेडर्क हेर्दा नाम पनि भेटियो। राम्रै कामका लागि होला भनेर प्रमाण मात्र दिएका हौँ। गलत प्रयोग होला भनेर के थाहा थियो र?’

स्वस्थ भएको प्रमाणित गर्दै सुगिता, पक्राउ परे देवर–देवरानी

अस्पतालले मानसिक समस्या रहेको प्रमाणि गरिदिएको भन्दै सुगिता त्यसकाविरुद्धमा न्याय मागिरहेकी छिन्। अस्पतालमा किर्ते गरेर आफ्नो नाम समावेश गराएको, निर्देशकले आफूलाई नसोधेरै प्रमाणित गरिदिएको भन्दै उनी त्यसकाविरुद्धमा अड्डा अदालत धाएकी छिन्।

उनले आफ्नो हस्ताक्षर किर्ते गरेको, आफ्नो गोपनीयता भंग गरेको भन्दै देवर–देवरानीविरुद्ध उजुरी दिएकी छिन्। प्रहरीमा उजुरी परेपछि प्रहरीले उनका देवर ४७ वर्षीय नमराजलाई र देउवारनी ३९ वर्षीया बबितालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

प्रहरी परिसर ललितपुरकाअनुसार उनीहरू पुस ११ गते  पक्राउ परेका हुन्। ‘लिखित किर्ते, जालसाजी र व्यक्तिगत गोपनीयताका विषयमा जिल्ला अदालत ललितपुरबाट पक्राउ पूर्जी जारी भएपछि हामीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ,’ प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी)प्रेम रेग्मीले भने।  

प्रकाशित मिति: : 2024-01-02 18:58:00

प्रतिकृया दिनुहोस्