बुटवलमा सार्वजनिकस्थलका घरटहरा हटाउन थालियो

बुटवल उपमहानगरपालिकाले सार्वजनिकस्थलमा निर्माण भएका घरटहरा हटाउन सुरुआत गरेको छ।

सार्वजनिकस्थल अतिक्रमण गरी संरचना बनाएका ठाउँ खाली गरेर विश्रामस्थल, उद्यान र चौतारी निर्माण गर्ने उद्देश्यले सार्वजनिकस्थलमा निर्माण भएका घरटहरा हटाउन थालिएको उपमहानगरपालिकाले जनाएको छ। अतिक्रमित क्षेत्र हटाउने कार्यक्रमअन्तर्गत आइतबार वडा नं ५ हाटबजार लाइनका तीन  र नेपालगञ्ज रोडको एक टहरा भत्काइएको छ।

सार्वजनिकस्थलमा निर्माण भएका टहरा हटाउन पटक–पटक पत्राचार गरे पनि स्वःस्फुर्त टहरा नहटाएपछि इलाका प्रहरी कार्यालय बुटवल, नगरप्रहरी, भूमि शाखा र स्थानीयको सहयोगमा ती टहरा हटाएको बुटवल उपमहानगरपालिका– ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठले जानकारी दिए। उनकाअनुसार हाटबजार लाइनमा टहरा हटाएका सडक क्षेत्रबाहेकको क्षेत्रको स्थलमा उजिरसिंह फल्चा, रामापिथेकस उद्यान निर्माण गरिनेछ।

यस्तै नेपालगञ्ज रोडमा सार्वजनिकस्थल र सडक क्षेत्रमा पर्ने वडा नं. ५ का बाँकी टहरा हटाउन बुटवल उपमहानगरपालिकाले पत्राचार गरिसकेको र केही दिनभित्रै ती टहरा हटाउने तयारी रहेको उनले बताए। यस्तै वडा नं. ६ र अरु वडामा पनि सार्वजनिकस्थलको संरक्षण गर्दै उद्यान र चौतारी निर्माण गर्ने अभियान बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको छ।

बुटवललाई उपयुक्त विश्रामस्थलका रुपमा विकास गर्नका लागि पर्यटकीयस्थल, उद्यान, चौतारी, सार्वजनिक शौचालय र पिउने पानीको व्यवस्था गर्ने गरी चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको नगर प्रमुख खेलराज पाण्डेयले बताए। उनका अनुसार चालु आवमा केही स्थानमा मोडेलका रुपमा केही चौतारी निर्माण गरिनेछ र आगामी आवमा बुटवलका सबैजसो वडामा उद्यान र चौतारी निर्माण गरिनेछ।

प्रकाशित मिति: : 2024-01-08 10:13:00

प्रतिकृया दिनुहोस्