स्थानीय तह निर्वाचन

चुनावमा गाेलाप्रथाबाट बाहिरिएका हुकुमसिंह पुन: अध्यक्षको उम्मेदवार !

स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै चुनावी चहलपहल हुन थालेका छन्। मुख्य राजनीतिक दलहरुले चुनाव लक्षित गाउँघर केन्द्रीत चुनावी कार्यक्रम सुरु गर्न थालेका हुन्।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जसपा, राप्रपालगायतका मुख्य राजनीतिक दलहरुले झापामा चुनाव लक्षित गतिविधिलाई तीव्रता दिँदै लगेका छन्।

कांग्रेसले चुनाव केन्द्रीत पार्टी संगठन निर्माण गरी घरदैलो अभियान गर्दै आएका छन् भने एमालेले पनि वडामा घरदैलो गर्ने कार्यक्रम सञ्चालन गर्दै आएका छन्। यता माओवादी केन्द्र, जसपा र राप्रपाले पनि भेला गर्नुका साथै उम्मेदवार चयनदेखि दलहरुसंग गठबन्धन गर्न आन्तरिक तयारी थालेका छन्।

यसै क्रममा वैशाख ३० गते हुन गइरहेको निर्वाचनमा जिल्लाका १५ वटै स्थानीय तहमा उम्मेदवारका आकांक्षी पनि बढ्दै गएका छन्। संघीय, प्रदेश सरकारमा गठबन्धन गरेकाे कांग्रेस, माओवादी, जसपा, नेकपा एकीकृत समाजवादी र राप्रपाले स्थानीय निर्वाचनमा पनि चुनावी गठबन्धन गर्ने तयारी गर्दै आएका छन्।

पार्टी केन्द्रीय नेतृत्वको निर्देशन आएलगत्तै स्थानीय स्तरमा पनि गठबन्धनको चाजोपाजो मिलाउने तयारीमा रहेको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले बताए। संविधान र जनताको उपलब्धिको रक्षा गर्न पनि गठबन्धन देशका लागि आवश्यक भएकाले तीनै तहको निर्वाचनसम्म दलीय सहकार्य गर्नुपर्ने उनको जोड छ।

गठबन्धन प्रभावकारी भए जिल्लाका १५ वटै स्थानीय तहमा जित्न सकिने भएकाले पनि गठबन्धन अगावै उम्मेदवार हुने आकांक्षी पनि ह्वात्तै बढेको पाइएको छ। उम्मेदवारको तीव्र आंकाक्षाका कारण पनि गठबन्धन दलहरुलाई साझा उम्मेदवार चयन गर्न निकै सकस पर्ने अनुमान छ।

चैतभित्रै उम्मेदवारको नाम सिफारिस गर्न केन्द्रीय निर्देशन आएपछि यतिखेर सुक्ष्म रुपले उम्मेदवार छान्न एमालेको नेतृत्व आन्तरिक कसरतमा व्यस्त रहेको छ। यता कांग्रेससहितका गठबन्धनका दलहरु भने गठबन्धन गरी जति छिटो उम्मेदवारको अन्तिम टुंगो लगाउने कसरतमा छन्।

यसैबीच, जिल्लाको कमल गाउँपालिकाको अध्यक्षमा यसपटक पनि कांग्रेसले युवा नेता हुकुमसिंह राईलाई उम्मेदवार बनाउने लगभग टुंगो लगाइसकेको छ। सामाजिक व्यक्तित्व राई गएको निर्वाचनमा हालकी अध्यक्ष मेनुका काफ्लेसंग बराबरी मत प्राप्त गरी गाेलाप्रथाबाट प्राविधिक रुपमा पराजित भएका थिए।

राई उम्मेदवार बन्ने भएपछि एमालेलाई भने निकै चुनौती पर्ने निश्चित छ। एमालेको पकड मानिएको कमलमा एमालेले विवादित हालका उपाध्यक्ष वेणु शिवाकोटीलाई उम्मेदवार बनाउने पक्का छ। यद्यपि उनलाई जित प्राप्त गर्न त्यति सहज नभएको विश्लेषण छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र शिवाकोटी जसरी भएपनि अध्यक्षको उम्मेदवार हत्याउने दाउमा छन्। पार्टी पहुँचका कारण पनि उनको उम्मेदवार लगभग टुंगो भएको एमाले स्रोतको दावी छ।

हिजो गोलाबाट बाहिरिएका राईलाई गठबन्धनका दलका कार्यकर्ताहरुसंगै हिजो एमालेका असन्तुष्ट कार्यकर्ताहरुबाट पाएको मतसंगै सहानुभूति मत यसपटक पनि आउने आंकलन गर्न थालिएको छ। राई चुनाव अघि-पछि पनि कमलका सामाजिक कार्यमा क्रियाशील भएका कारण उनले जनताका साथ पाउने आंकलन गर्न सकिन्छ।

युवा माझ लोकप्रिय राई कांग्रेसबाट कमलको पालिका अध्यक्ष बन्ने निश्चित भएपछि एमाले अत्तालिएको छ। एमालेका कतिपय महिलाले फेरि मेनुका काफ्लेलाई अध्यक्ष दोहोर्याउन दबाब दिन थालेका छन्।

यता, कमलका ७ वडामध्ये १ नम्बरबाहेक सबैमा एमालेले जिते पनि गठबन्धन बनेका कारण एमालेले आफ्नो विरासत जोगाउन राप्रपालाई ल्याएर भएपनि चुनावमा जाने तयारी गरेको स्रोतको दावी छ। राप्रपालाई पालिका उपाध्यक्षसहित अन्य दुई वटा वडासमेत दिनेगरी आन्तरिक पार्टी तालमेल गर्ने पहल भइरहेको बुझिएको छ।

यसैगरी, साविक लखनपुर गाविसका तीन वटा वडामध्ये तालमेल भए कांग्रेस, जसपा र माओवादीले गरी एक/एक वटा वडा पाउने निश्चित भएको छ।

कमल-५ बाट कांग्रेसले पत्रकार विष्णु सुब्बा, कांग्रेस जिल्ला सदस्य शेरबहादुर श्रेष्ठ, कमल-६ बाट जसपाका कमल, पार्टी अध्यक्ष प्रेम कुलुङ अथवा सामाजिक व्यक्तित्व पारषमणि राई र कमल-७ बाट माओवादी केन्द्रका अध्यक्ष रबिन गुरुङले वडाध्यक्षको उम्मेदवार बनाउने अनुमान गरिएको छ।

मंगलबारे बजार निवासी युवा व्यक्तित्व सुब्बा पत्रकारितासंगै व्यवसाय तथा विभिन्न कार्यमा सक्रिय रहँदै आएका छन्। दुई दशक बढी समयदेखि पत्रकारिता गर्दै आएका उनी हाल पत्रकार महासंघ प्रदेशका कार्यसमिति सदस्य हुन्।

यता एमालेबाट हालका वडा सदस्य खगेन्द्र तिवारी, वर्तमान अध्यक्ष डम्बरबहादुर निरौला, बीरबहादुर चेम्जोङबीच उम्मेदवार बन्ने होडवाजी छ। तीनै जनाको नाम वडा कमिटीले गाउँ कमिटीमा लैजाने बताइएको छ।

यस्तै, कमल-६ मा हालकै अध्यक्ष नरेन्द्र भट्टराई, पार्टी गाउँ कमिटी सचिव हरि ढकाल, पत्रकार गोपाल झापाली, पार्टी वडा सचिव युवराज बिष्ट वडाध्यक्षको उम्मेदवार बन्न आन्तरिक लबिङ गर्दै आएका छन्।

त्यस्तै, कमल-७ मा हालकै अध्यक्ष पृथीपति राई, वडा कमिटी अध्यक्ष अक्कलबहादुर गुरुङ वडाध्यक्षको उम्मेदवार बन्न आफ्नो आकांक्षा राख्दै आएका छन्। राप्रपाले समेत साविक लखनपुरका तीनवटै वडामा आफ्नो उम्मेदवार घोषणा गरिसकेका छन्।

प्रकाशित मिति: : 2022-04-06 21:11:00

प्रतिकृया दिनुहोस्